२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पत्रकार महासंघ रोल्पाको अध्यक्षमा दुईजना

प्रदेश सभासद घर्तीमगर प्रहरीको नियन्त्रणमा
काशीराम डाँगी

रोल्पा — दुई महिनाअघि स्थगित भएको नेपाल पत्रकार महासंघ रोल्पा शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । गत फागुन १२ मा रोकिएको तथा वैशाख २४ र २५ मा सम्पन्न भएको अधिवेशनबाट महेश न्यौपाने र मानसिं विक गरी दुईजना अध्यक्षमा निर्वाचित भएका हुन् ।

दुई दिन लगाएर छलफलपछि भएको मतदानबाट अध्यक्षका दुवै उमेदवारले बराबर मत प्राप्त गरेका थिए । स्थगित निर्वाचन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारीसहित रोल्पा आएका महासंघका केन्द्रीय सदस्य झलक गैरेका अनुसार दुवैको मत बराबर आएकाले आलोपालो गरी डेढ/डेढ वर्षको अवधिका अध्यक्षको जिम्मेवारी बाँड्फाँड गरी जिम्मेवारी लिने गरी सहमति भएको हो । पहिलो डेढ महिनाको पालो मानसिंलाई परेको छ भने पछिल्लो पालो महेशलाई परेको निर्वाचन समिति संयोजक कर्ण बाँठामगरले बताए । मत बराबर भएपछि गोला प्रथाद्वारा पालो छानिएको थियो । न्यौपाने यसअघि समेत अध्यक्षमा निर्वाचित भएका थिए ।
 
जिल्ला शाखाले नवीकरण गरी सिफारिस नपठाएका सदस्यलाई केन्द्रीय समितिले नवीकरण गरिदिएको र थप नयाँ सदस्यलाई केन्द्रीय समितिले सदस्यता प्रदान गरेको लगायतका विषयमा विवाद बढेको थियो । विवाद बढेकाले अघिल्लो पटक महासंघको अधिवेशन बन्द सत्रकै क्रमदेखि रोकिएको थियो । विवाद भएका कारण अन्य सबै जिल्ला शाखाको अधिवेशन सकिएपछि केन्द्रीय समितिले सबैभन्दा पछिल्लो पटक उक्त अधिवेशन गर्न सुझाएको थियो । 

पाँचौ अधिवेशनले खुला उपाध्यक्षमा दारासिं डाँगी, महिला उपाध्यक्षमा देवी गुरुङ, सचिवमा जीवन डाँगी, सह सचिवमा द्वय हर्क घर्तीमगर र कमानसिंह पुन, कोषाध्यक्षमा तेजकुमारी विष्ट निर्वाचित भएका हुन् । यस्तै सदस्यमा अञ्जुली बाँठामगर, चित्रबहादुर झाँक्री, जमानसिंह विक, ऋषिकेश डाँगी, पान्डव दशौंदी, प्रतिभा श्रेष्ठ, बमकुमारी पुनमगर, मीना थापा र लोकेन्द्र सेन छन् । केन्द्रीय सभासदमा मौसम रोका र महेन्द्र रोकाको मत बराबर आएपछि गोला प्रथाद्वारा एकजना छान्दा मौसम रोका विजयी भएका थिए । अधिवेशनबाट १५ जना ५ नम्बर प्रदेश सभासद र ११ जना केन्द्रीय सभासद निर्वाचित भएका छन् ।
 
अध्यक्षमा दुवै जनाको मत बराबर भए पनि कार्यसमिति, प्रदेश सभासद र केन्द्रीय सभासदमा न्यौपानेको टोली बहुमतले विजयी भएको छ ।
 
यसैबीच पत्रकार महासंघ रोल्पाका ५ नं प्रदेश सभासद पुस्तमन घर्तीमगरलाई प्रहरीले लिबाङबाट पक्राउ गरेको छ । स्थानीय तह निर्वाचनको विरोधका गतिविधिमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको महासंघले जनाएको छ ।
 
महासंघको प्रदेश सभासदमा निर्वाचित भए पनि उनलाई सपथ ग्रहण नगर्दै प्रहरीले पक्राउ गरेको हो । महासंघका अध्यक्ष द्वयले उनको पक्राउबारे स्थानीय प्रशासन र प्रहरीसँग छलफल भएको बताएका छन् । ‘हामीले प्रजिअ डिजन भट्टराई प्रनाउ रामप्रसाद घर्तीमगरलाई भेटेर रिहाई गर्न माग गरेका छौं ।’प्रजिअसँगको भेटपछि महासंघ अध्यक्ष न्यौपाले भने, ‘पत्रकारलाई गैर कानुनी रुपमा पक्राउ नगर्न हामीले माग गरेका छौं ।’घर्तीलाई पक्राउ गरिएको खबर पाएपछि महासंघको अधिवेशन निर्वाचन समिति अध्यक्ष कर्ण बाठा, सदस्यहरु अधिवक्ता माधवप्रसाद आचार्य र पत्रकार कुमार शाह प्रजिअलाई भेट्न पुगेका थिए । उनीहरुले पत्रकार घर्तीमगरलाई तत्काल रिहा गर्न माग गरेका थिए । 

प्रहरीका अनुसार पत्रकार पुस्तमान घर्तीमगरले सामाजिक सञ्जाल फेसबुकमा निर्वाचन विरोधी गतिविधि जनाउने विषय वस्तु पोस्ट गरेको र त्यस खालका विषय वस्तुको शेयर गरेकाले प्रहरीले पक्राउ गर्नु परेको हो । ‘निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका आशंका गरिएका जोकोहीलाई पक्राउ गर्न माथिल्लो निकायको कडा निर्देशन छ’रोल्पास्थित एक जना प्रहरी अधिकारीले भने । 

उक्त घटनाबारे पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष मानसिं विकले महासंघले खेद प्रस्ताव पारित गरिएको बताए । यसैगरी क्रान्तिकारी पत्रकार संगठनले समेत तत्काल रिहाई गर्न माग गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ । स्रोतका अनुसार पत्रकार घर्तीमगरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा लागेको आशंकामा पक्राउ गरिएको हो । स्थानीय प्रशासन र प्रहरीले चन्द नेतृत्वको नेकपाको चिर्वाचन विरोधी गतिविधिमा लागेकालाई पक्राउ गर्न खोजी अभियान चलाएको हो । 

प्रकाशित : वैशाख २७, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?