कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तीनदिन पछि क्व्होलासोंथरको मतगणना सुरु

आश गुरुङ

लमजुङ — मतदान सकिएको तीन दिनपछि लमजुङको क्व्होलासोंथर गाउँपालिकाको मतगणना सुरु भएको छ । वैशाख ३१ गते आइतबार ५ बजे मतदान कार्य सकिएकोमा बुधबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । क्व्होलासोंथर गाउँपालिकाका निर्वाचन अधिकृत यादवप्रसाद भुसालले सामान्य अवस्थामा मतगणना सुरु भएको बताए ।

उनका अनुसार क्व्होलासोंथर गाउँपालिका १, बाट मतगणना सुरु गरिएको छ । क्व्होलासोंथर ३ को घलेउत्तरकन्या मावि मतदान केन्द्रमा फर्जी मत हालेको भन्दै गाउँपालिकाका कांग्रेस उम्मेदवार रघुनाथ गुरुङले उजुरी दिएपछि मतगणना हुन सकेको थिएन । उक्त विवाद जिल्लामा मिल्न नसकेपछि मतदान अनुगमनको टीमको मोवाइल अधिकृत र मतदान अधिकृतको प्रतिवेदनसहितको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको थियो ।

निर्वाचन आयोगले उक्त उजुरीमाथि बुधबार छलफल गरेको र मतगणना अघि बढाउन जानकारीसहितको निर्देशन दिएपछि निर्वाचन अधिकृतले मतगणना प्रक्रिया अघि बढाएको हो । मतदान पूरा गरी मुचुल्का उठाएर केन्द्रमा ल्याइएको र निर्वाचन अधिकृतको कार्यालयमा बुझाएर निर्वाचन अधिकृतको कार्यालयले बुझिसकेपछि मतदान वैध प्रक्रियाबाट भएको ठहर गरेपछि मतगणना गर्न निर्णयात्मक निर्देशन दिइएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए । निर्वाचन आयोगले निर्णयात्मक निर्देशन दिएपनि कांग्रेसका क्व्होलासोंथर गाउँपालिकाका प्रमुख उम्मेदवार रघुनाथ गुरुङले मंगलबार साँझ पत्रकार भेटघाट गरी पुन: मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । 

कूल ७ हजार ८७ मतदाता रहेका क्व्होलासोंथर गाउँपालिकामा वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा ५ हजार २ सय ५५ जनाले मतदान गरेका थिए । उक्त गाउँपालिकामा प्रमुखमा कांग्रेसबाट रघुनाथ गुरुङ र एमालेबाट प्रेमबहादुर घले चुनावी मैदानमा छन् । उपप्रमुखमा कांग्रेसबाट मनकुमारी गुरुङ र एमालेबाट कुमारी मुनी गुरुङ चुनावी मैदानमा छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?