काठमाडौं — राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले जेठ ३१ को दोस्रो चरणको चुनाव सार्ने प्रस्ताव गरेका छन् । कांग्रेससँग बुधबार भएको बार्तामा राजपाका नेताहरुले यस्तो प्रस्ताव ल्याएका हुन् । तर, कांग्रेस नेताहरुले त्यसलाई अस्वीकार गरेका छन् ।
काँग्रेस नेताहरुले जेठ ३१ को चुनाव नसार्ने भन्दै संविधान संशोधनका लागि अग्रसरता लिने जबाफ दिएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा राजपा नेताहरुले संविधान संशोधनका लागि समय लाग्ने भएकाले चुनाव सार्नुपर्ने तर्क गरेका थिए ।
कांग्रेस नेताहरुले जेठ ३१ को चुनाव सार्दा प्रदेश र संघीय संसदको चुनावलाई असर पुर्ने भन्दै त्यस्तो प्रस्ताव अस्वीकार गरेका हुन् । जेठ ३१ को चुनाव सार्नसाथ बर्षाका कारण असोजयता चुनाव संभव छैन । असोजमा स्थानीय तहको दोस्रो चरणको चुनाव गर्दा प्रदेश र संघीय संसदको चुनावलाई असर गर्छ ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनलाई पारित गर्ने सवालमा बैठकमा लामो छलफल भएको बताए । संसदीय प्रकृयामा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाई संख्या नपुग्दा सरकारले मतदानमा लैजान मानेको छैन । राजापा नेताहरुकै सुझावमा दुई तिहाई नपुग्दा सम्म त्यसलाई मतदानमा नलगिएको हो ।
‘संविधान संशोधन विधेयक पास हुने स्थिती भयो भने पास गरौं । पास गर्नका लागि आवश्यक संख्या अपुग भए के गर्ने ? त्यस्तो अवस्थामा दुई विकल्प हामीले अघि राखेका छौं’ पौडेलले भने, ‘पहिलो त दुई तिहाई नपुगेपनि मतदानमा लैजाने र मत नदिने पार्टीको बिरुद्ध चुनावमा एजेण्डा बनाएर लैजाने र अर्को तत्काल विधेयकलाई स्थगन गरेर चुनावमा जाने ।’
राजापका नेताहरु भने स्थगन गर्ने र पारित नहुनेगरी मतदानमा लैजाने दुवै बिषयप्रति लचक देखिएका छैनन् । उनीहरुको सर्त चुनाव अघि जसरी पनि संविधान संशोधन विधेयक पारित हुनुपर्ने थियो ।
बैठकमा कांग्रेस नेताहरुले मधेसमा स्थानीय तहको संख्या बढाउन समिति गठन भएको, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा भईसकेको र मुद्दा फिर्ता लिने प्रकृया अघि बढिसकेको अवस्थामा चुनाव आउन आग्रह गरेका थिए । उनीहरुले आफूहरुको चुनाव चिन्ह पाउनेबारेमा पनि प्राविधिक जटिलता उठाएका थिए । तर, कांग्रेस नेताहरुले चुनाव चिन्ह दिलाउने बिषय मिलाउन सकिने बताएका थिए ।
बैशाख १७ गतेको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक मतदानमा लैजाने तयारी गरेपनि राप्रपाकै एक दर्जन सांसद अनुपस्थित भएपछि रोकिएको थियो । कांग्रेस सभापति शेरवहादुर देउवाले राप्रपाका नेताहरुसंग संविधान संशोधनको बिषयमा छलफल गर्न विहीबार नै बैठक राखेका छन् । ‘संविधान संशोधनलाई दुई तिहाई पुर्याउन कांग्रेसले अन्तिम अवस्थासम्म पहल गर्ने तर कथंम पुगेन भने स्थगन गर्ने या पारित नभएपनि मतदानमा लगेर टुंगो लगाई चुनावमा जानुको विकल्प हामीसंग छैन’ पौडेलले भने ।
प्रकाशित : जेष्ठ ३, २०७४ १८:०८