३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एमालेद्वारा निर्वाचन घटनाको संसदीय छानविन माग

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेले चुनावका क्रममा सत्ता गठबन्धनका तर्फबाट केही स्थानमा आपराधिक र अराजनीतिक गतिविधि भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरेको छ ।

एमालेद्वारा निर्वाचन घटनाको संसदीय छानविन माग

पहिलो चरणको निर्वाचन परिणाम आइरहेका बेलाले चुनावको समिक्षा गर्न बुधबार बसेको स्थायी समिति बैठकले बिषेश गरी दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछाप लगायतका जिल्लामा अराजनीतिक खालका गतिविधि भएको निष्कर्ष निकालेको छ ।

‘निर्वाचनपूर्वदेखि नै सत्तारुढ गठबन्धनका तर्फबाट परिणामलाई गलत ढंगले प्रभावित गर्न अनेकखालका अराजनीतिक क्रियाकलापहरू हुादै आएको सर्वविदितै छ’ एमाले स्थायी समिति बैठकको निर्णयमा छ,‘यसैक्रममा प्रहरी, प्रशासन र राज्यका कतिपय निकायहरूलाई सरकारले दुरुपयोग गरेका घटनाप्रति एमाले खेद व्यक्त गर्दछ ।’

राज्यसत्ताको दुरुपयोगसमेत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रियाकलापलाई गम्भीरताका साथ लिादै आवश्यक कारबाही गर्न एमालेले निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।

‘निर्वाचनको सिलसिलामा भएका यस्ता घटनाहरूको छानविन गरी दोषीहरू उपर कारबाही गर्न संसदीय छानविन समिति गठन गर्नसमेत माग गर्दछ ’ बैठकपछि एमाले प्रचार विभागप्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा छ । निर्वाचनका क्रममा भएका घटनामा दोलखाका कुलबहादुर तामाङ, काभ्रेका नवराज पाठक र कालिकोटका धनबहादुर बटालाले ज्यान गुमाएको उल्लेख गर्दै परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । घाइते मकवानपुरका श्याम दाहाल
र दोलखाका दिलबहादुर बुढाथोकी लगायतका घाइते हुनेहरूको उपचारको व्यवस्था गर्न एमालेले सरकारसंग माग गरेको छ ।

पहिलो चरणको चुनाव भइसकेको अवस्थामा दोस्रो चरणका लागि स्थानीय तहको संख्या सिमा फेरबदल गर्ने तयारीप्रति आपत्ति जनाउदै कुनै हालतमा त्यो दिशामा जान नहुने अडान राखेको छ ।

‘निर्वाचनका सम्पूर्ण तयारीका कामहरु अन्तिम चरणमा पुगिसकेको अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमांकन र संख्यालाई हेरफेर गर्ने कुरा एमालेका लागि स्वीकार्य नहुने कुरा पुन: स्पष्ट गर्दछौं’ एमालेले भनेको छ ।

विना औचित्य संविधान संंशोधन प्रस्ताव अघि बढाएको भन्दै एमालले त्यसलाई फिर्ता लिनुपर्ने धारणा राखेको छ । ‘संविधान संशोधन प्रस्तावसमेत फिर्ता गरी सहजढंगले दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न, संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष माग गर्दछ’ एमालेले भनेको छ ।

प्रमुख राजनीतिक दलहरुको सहमति र नेतृत्वमा संविधान जारी भएको र यसै संविधानको कार्यान्वयन गर्दै नेपालमा राजनीतिक स्थायित्वमार्फत् समृद्धि हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यक रहेकाले त्यसका लािग दलहरुबीच सहमति, एकता र सहकार्यको आवश्यकता रहेको एमालेले उल्लेख गरेको छ ।

एमाले बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा पेस गरिएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन पनि माग गरेको छ ।

बैठकले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ । स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिहरूद्वारा निर्मित संविधानलाई जनअनुमोदित गर्नुका साथै कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको एमालेको ठहर छ । बैठकले मित्र राष्ट्र चीनको नेतृत्वमा सुरु गरिएको ‘वान बेल्ट : वान रोड’ (ओबर) परियोजनामा नेपालको सहभागिताका लागि दुई राष्ट्रबीच औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको भन्दै प्रसंशा गरेको छ । पूर्ववर्ति केपी ओली सरकारकै पालामा सुरु भएको पहलले अहिले सार्थकता पाएको एमालेको भनाई छ । यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्नेछ र अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न सहयोग मिल्नेछ एमालेको ठहर छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?