प्रधानसेनापति बन्न थापालाई बाटो खुला

काठमाडौं — रथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापति बन्ने बाटो खुलेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले दुवै रथी थापा र बलदेवराज महतको एक/एक वर्ष म्याद थप्ने निर्णय गरेसँगै थापा प्रधानसेनापति बन्ने प्रस्ट भएको हो । प्रधानसेनापति राजेन्द्र क्षत्रीले रक्षा मन्त्रालयमा पठाएको म्याद थप्ने प्रस्ताव मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस भई स्वीकृत भएको हो ।

प्रधानसेनापति बन्न थापालाई बाटो खुला

प्रधानसेनापति क्षत्रीको २०७५ भदौ २४ मा अवकाशसँगै करिब ९६ हजार सैनिक रहेको संगठनको थापा प्रमुख हुनेछन् । सैनिक ऐन २०६३ मा रथीको म्याद दुई वर्ष र उमेरको हद ५८ वर्ष हुने व्यवस्था छ । तर ५८ वर्ष पूरा नहुँदै दुईवर्षे कार्यकाल सकिएमा सेनालाई आवश्यक भएको मनासिव आधार र कारण खोली प्रधानसेनापतिले सरकारसमक्ष सिफारिस पठाएमा एक वर्ष थपिने व्यवस्था छ ।

दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी महतको २०७४ साउन ७ मा सकिने दुईवर्षे कार्यकालमा एकवर्षे म्याद थप मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि कात्तिक १७ गते ५८ वर्ष पुगेसँगै उनले अवकाश पाउने छन् । एकवर्षे थप अवधि सुरु भएको तीन महिनामै उनले सेवा छाडनुपर्नेछ । यसपछि तेस्रो वरीयतामा रहेका थापा दोस्रो वरीयतामा पुग्नेछन् र भावी प्रधानसेनापतिका रूपमा रहनेछन् ।

बलाध्यक्ष रथी थापाको दुईवर्षे कार्यकाल २०७४ असोज १५ मा सकिँदै छ । थापा २०७५ भदौ २५ मा ५८ वर्ष पुग्नेछन् । प्रधानसेनापति क्षत्रीले २०७५ भदौ २४ मा आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी अवकाश पाउने छन् । एक दिनको संयोगले थापा प्रधानसेनापति बन्नेछन् र तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन् । सरकारले एक महिनाअघि नै नयाँ प्रधानसेनापतिको घोषणा गर्ने र १५ दिनअघि बहालवाला प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ ।

कात्तिकमा महतले अवकाश पाएपछि उपरथी हेमन्त कुँवर रथीमा बढुवा हुनेछन् । र, थापा सेनाका दोस्रो वरीयतामा पुग्नेछन् । सेनामा यसअघि रथीहरूमा बालानन्द शर्मा, कृष्णनारायणसिंह थापा, रघुचन्द्रबहादुर सिंहलगायतको पदावधि थपिएको थियो । प्रधानसेनापति क्षत्रीले नेपालभूषण चन्दको भने नौ महिनाको उमेर हद बाँकी रहे पनि एकवर्षे कार्यकाल थप गरेका थिएनन् । उमेरको हदले तीन महिनामात्र कार्यकाल बाँकी रहेका महतको पनि रथीमा म्याद थपिनुको मुख्य कारण थापालाई मात्रै प्रधानसेनापति बनाउनकै लागि म्याद थप्नुपरेको भन्ने आरोप नलागोस् भनेर हो ।

प्रधानसेनापति क्षत्रीले रथी थापालाई भावी प्रधानसेनापति बनाउन यस अघिदेखि नै पहल गर्दै आएका थिए । रथी हुँदा थापा राष्ट्रसंघअन्तर्गत इजरायल–प्यालेस्टाइन सीमा क्षेत्र (गोलनहाइट) स्थित डिसइन्गेजमेन्ट (अनडफ) को फोर्स कमान्डरका रूपमा कार्यरत थिए । मिसनमा थापाको पदावधि थप अर्को वर्ष लम्बिन सक्थ्यो । तर एक वर्ष कार्यकाल सकिनेबित्तिकै बलाध्यक्ष रथीको जिम्मेवारी सम्हाल्न नेपाल फर्किए । उनलाई जंगी अड्डामा छिटो ल्याएर जिम्मेवारी सम्हाल्न लगाउनुमा भावी प्रधानसेनापतिका रूपमा अघि बढाउन खोजेको प्रस्ट थियो ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?