वडाध्यक्षमा चार चेपाङले जिते

प्रताप विष्ट

हेटौडा — स्थानीय तहको निर्वाचनमा एउटै गाउँपालिकाको चारवटा वडाको अध्यक्षमा चेपाङले जितेका छन् । राक्सिराङ गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको वडाध्यक्षमा चेपाङले विजय प्राप्त गरेका हुन् ।

राक्सिराङ—५ को वडाध्यक्षमा माओवादी केन्द्रका चन्द्रसिहं चेपाङ विजयी भएका छन् । उनले एमालेका विसुमान चेपाङलाई पराजित गरेका थिए । राक्सिराङ-६ का वडाध्यक्षमा एमालेका उम्मेदवार सिंहलाल चेपाङले विजय प्राप्त गरेका छन् । माओवादीका सेतुलाल चेपाङलाई उनले ५ मतले पराजित गरेका थिए । यसैगरी उक्त गाउँपालिकाको ७ नम्बरको वडाको वडाध्यक्षमा कांग्रेसका कुलबहादर चेपाङले जितेका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर चेपाङलाई पराजित गरेका थिए । राक्सिराङ गाउँपालिकाको ८ नम्बरमा कांग्रेसका रामकृष्ण चेपाङ वडाध्यक्षमा विजयी भएका छन् । उनले एमाले भगतलाल चेपाङलाई हराएका थिए ।

वडाध्यक्षमा जितेका चेपाङले चेपाङलाई हराएका छन् । तर, चेपाङले अन्य समुदायका वडाध्यक्षसँग प्रतिस्पर्धा गर्दा पराजय भोगेका छन् । कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा विभन्न दलबाट वडाध्यक्षमा उम्मेदवारी दिएका पाँचजना चेपाङ पराजित भएका छन् । उनीहरुले अन्य समुदायका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए ।

आइतबार सम्पन्न निर्वाचनमा राक्सिराङ गाउँपालिकाको अध्यक्ष/प्रमुखमा माओवादी केन्द्रबाट युसाई चेपाङले उम्मेदवारी दिएका थिए भने एमालेबाट उपाध्यक्षमा सुन्तली चेपाङले उम्मेदवारी दिएकी छिन् । दुवै पराजित भए । स्थानीय तहको निर्वाचनमा मकवानपुरका शुक्रबारसम्म चारजना वडाध्यक्ष र ९ जना वडा सदस्यसहित १३ जना गाउँपालिका स्तरको जनप्रतिनिधि बन्न सफल भएका छन् । वडाध्यक्षमा निर्वाचित भएपछि खुसी हुँदै सिंहलाल चेपाङले भने, 'चेपाङलगायत सबै समुदायको विकास र उत्थान गर्न कोसिस गर्ने छु ।’

प्रकाशित : जेष्ठ ५, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?