फोहोरबाट आम्दानी

- ‘वेस्ट अटोक्लेभ’ प्रविधि प्रयोग
- थप ७ जनालाई रोजगारी
फातिमा बानु

काठमाडौं — परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर व्यवस्थापन गर्ने उपकरण भित्रिएको छ । योसँगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानीसमेत गर्न थालेको छ ।

उपकरणबाट अस्पतालले दैनिक २ सय किलो फोहोर व्यवस्थापन गर्दै आएको छ । यसबाट दिनमै ५० हजार रुपैयाँ बढी आम्दानी भइरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।

Citizen

‘उपकरण भित्रिएपछि अस्पतालजन्य फोहोर व्यवस्थापनको झन्झट हटेको छ,’ उनले भने, ‘यो उपकरण भारतबाट २५ लाख रुपैयाँमा खरिद गरेका हौं ।’ अस्पतालले सेनेटरी प्याड, सिरिन्ज, कपासलगायत संक्रमित फोहोर संकलन गर्छ । उपकरणबाट संक्रमित फोहोरका किटाणु बफयाएर फाल्ने र बाँकी कबाडीमा बेच्ने गरेको अस्पतालको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन केन्द्रकी इन्चार्ज भवानी खड्काले बताइन् । यो सुविधा विस्तार हुनुअघि अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि महानगरपालिकाको कन्टेनर बोलाउनुपर्ने र त्यसका लागि प्रतिपटक २७ सय रुपैयाँ तिर्नुपर्थ्यो । खड्काका अनुसार महिनामा ९ पटकसम्म बोलाउनुपर्थ्यो ।

उपकरण भित्रिएपछि थप ७ कर्मचारीले रोजगारी पाएको अस्पताल प्रशासक अमर अमात्यले बताए । अस्पतालमा फोहोरबाट हुन सक्ने इन्फेक्सनबाट बच्न ‘वेस्ट अटोक्लेभ’ प्रविधि प्रयोग गरिएको छ । यो इन्फेक्सनबाट बच्न फोहोरलाई सुरक्षित बनाउने मेसिन हो । यो प्रविधिअनुसार फोहोरलाई तातो मेसिनमा राखिन्छ र इन्फेक्सन हुने कुरा नष्ट गरिन्छ । कुन फोहोर कति तापक्रममा राख्ने मेसिनले सबै नियन्त्रण गर्ने कर्मचारी सुनीता विष्टले बताइन् । उपकरणले एकपटकमा ३५ किलो फोहोर प्रशोधन गर्ने क्षमता राख्छ । बेलाबखत उपकरण बिग्रिरहँदा भने केही समस्या हुने खड्काले बताइन् । यो समस्या समाधान गर्न अर्को उपकरण भित्र्याउने तयारी भएको निर्देशक डा. श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७४ ०८:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दोस्रो चरणलाई धमाधम उम्मेदवारी

एमालेले छान्यो वडाध्यक्ष
कान्तिपुर संवाददाता

इलाम — एमालेले वडाध्यक्षको उम्मेदवार चयन गरेको छ । जिल्लाका ८१ वडामा एमालेले उम्मेदवारको टुंगो लगाएको हो । यी वडामा चुनिने चार सय पाँच प्रतिनिधिका लागि एमालेले चार सय एक जना उम्मेदवार चयन गरेको हो । बाँकी चार स्थानमा माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादीलाई एमालेले समर्थन गर्नेछ ।


अन्य दलसँग समन्वयको प्रयास गरे पनि सफल नभएकाले एकल रूपमा चुनावमा प्रतिस्पर्धा गर्ने पार्टी अध्यक्ष राम रानाले जनाए । २१ वडा र २४ सदस्यमा आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन नसकेपछि जिल्ला कमिटीले अन्तिम टुंगो लगाएको हो । अरू सदस्यको टुंगो स्थानीय कमिटीले लगाएको थियो ।
जिल्लाका दस स्थानीय निकायमध्ये देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ र चुलाचुली गाउँपालिकामा पार्टीको अध्यक्षका उम्मेदवार यसअघि नै सर्वसम्मत भइसकेका छन् । इलाम नगरपालिकामा प्रमुखका उम्मेदवार चयन भए पनि उपप्रमुखका हुन सकेका छैनन् । प्रान्तीय कमिटीले जेठ ९ गते नगर र गाउँपालिकामा उम्मेदवारको टुंगो लगाउने एमाले जिल्ला सदस्य गणेश बरालले बताए ।

पथरीमा कांग्रेसको उम्मेदवारी घोषणा
दमक– कांग्रेस मोरङ २ नं. क्षेत्रीय समितिले पथरी शनिश्चरे नगरपालिकाको प्रमुख/उपप्रमुखसहित १० वटै वडामा उम्मेदवारी घोषणा गरेको छ । क्षेत्रीय समितिले बिहीबार पथरीमा एक कार्यक्रमबीच ५२ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
जसअन्तर्गत नगरको प्रमुखमा क्षेत्रीय सभापति गणेशकुमार खडका र उपप्रमुखमा प्रेमला राईको उम्मेदवारी घोषणा गरिएको छ ।
यस्तै वडा नं. १ को वडाध्यक्षमा प्रतीत सुब्बा, २ मा मनबहादुर पाठक, ३ मा विजय लिम्बू, ४ मा मानबहादुर गुरुङ, ५ मा जोगबहादुर धिमाल, ६ मा ज्ञानबहादुर बस्नेत, ७ मा मणिकुमार चाम्लिङ, ८ मा बाबुराम दाहाल, ९ मा वीरबहादुर राई र १० नम्बरमा सागर राईको उम्मेदवारी घोषणा गरिएको छ ।
नगरको सबै वडामा एक जना खुला महिला सदस्य, एक जना दलित महिला सदस्य र दुईजना खुला सदस्यमा पनि उम्मेदवारी घोषणा गरियो । पार्टीको केन्द्रीय परिपत्रअनुसारै नगरभित्रका सबै पदमा उम्मेदवारी घोषणा गरिएको क्षेत्रीय सचिव राजु लामाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ८, २०७४ ०८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT