बीस वर्षपछि अखेटोपहार जलाइयो

भरतपुर — भण्डारणको २० बर्षपछि यहाँको टिकौलीस्थित वनरक्षक तालिम केन्द्र र राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा संकलन गरिएका वन्यजन्तुका अंगप्रत्यंग (अखेटोपहार) सोमबार जलाइएको छ ।

बीस वर्षपछि अखेटोपहार जलाइयो

निकुञ्ज र विभिन्न सरकारी वन क्षेत्रबाट संकलन गरिएका ४८ प्रजातीको आखेटोपहार निकुञ्जको सैनिक मैदानमा भव्य समारोहबीच जलाइएको हो ।

चोरी शिकारी, तस्करीलगायतबाट बरामद भएको एकसिङ्गे गैंडाका खाग, चितुवा, हिउ चितुवा, हात्तीका दारा, पुच्छर, बाघको छाला र नंग्रा, हाब्रे र ओतको छाला, कस्तुरी मृगको विना, भालुको पित्त, सालकको खपटा, अजिंगरको छाला, चितुवाको खप्परलगायत ४८ प्रजातिका आखेटोपहार जलाइएको हो । 

कछुवा, हात्तीको रौ, समुद्री घोडालगायत बिदेशबाट ओसारपसारका क्रममा बरामद भएका आखेटोपहार समेत जलाइएको छ । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले आगोको मुक्का सल्काई अखेटोपहार जलाएर उद्धघाटन गरेका थिए । अखेटोपहार नष्ट गर्ने कार्यक्रममा नेपालका लागि अमेरीकन राजदुत अलेना बी टेप्लिट्सको पनि उपस्थिति थियो ।

संरक्षणकर्मी, अन्तराष्ट्रिय समुदाय, वन्यजन्तु संरक्षण र अवैध व्यापार नियन्त्रणमा काम गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय निकाय, वैज्ञानिक, नेपाली सेनाका रथी, उपरथी, मध्य क्षेत्रका सुरक्षा अधिकारी, जिल्लाका सुरक्षा पदाधिकारी, स्थानियबासी र सञ्चारकर्मीको उपस्थितिमा आखेटोपहार जलाइएको छ । 

६ महनाअघि विज्ञको टोलीले ‘बारकोडिङ’ को काम सकेपनि सरकार परिवर्तनले नष्ट गर्ने काम रोकिएको थियो । बन्यजन्तु चोरी शिकार एवं अबैध ब्यापार नियन्त्रण कार्यमा सहयोग पुग्ने भन्दै मन्त्रिपरिषद्को गत बिहीबारको वैठकले दुबै स्थानमा राखिएका अखोटोपहार नष्ट गर्ने निर्णय गरेको थियो ।

बाघको छाला हात्तीको दाह्रालगायत तत्काल नष्ट गरिएको छैन् । हात्तीको दाह्रा नष्ट गर्न ९ सय डिग्री तापक्रम चाहिने र त्यो अहिलेको समयमा नपुग्ने हुनाले सुरक्षित राख्न लागिएको वन मन्त्रालयका सह सचिव डा. महोश्वर ढकालले बताए । तत्कालीन वनमन्त्री ह्दयेश त्रिपाठीको पालामा २०५४ सालमा शसस्त्र वन रक्षकको तालिम केन्द्रमा भण्डारण गरिएको आखेटोपहार कुहिएका, गन्हाएका, मक्किएका र कामै नलाग्ने अवस्थामा पुगेको भन्दै जलाइएको थियो । त्यस पछि अहिले नष्ट गरिएको हो । 

निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र बरामद गरिएका, मरेका वन्यजन्तुका अंगलाई कसरा र निकुञ्ज, संरक्षण क्षेत्र बाहिरकालाई तालिम केन्द्रस्थित टिकौलीमा भण्डारण गरिएको  थियो । गतवर्ष संसद्को वातावरण संरक्षण समितिले स्थलगत अध्ययन गरी हैसियत नबिग्रिएका र विश्वमै दुर्लभ वन्यजन्तुका अंगलाई अनुसन्धान, संरक्षण शिक्षाका लागि सुरक्षित, वैज्ञानिक हिसाबले राख्न सुझाव दिएको थियो । भालुको पित्त औषधीमा प्रयोग हुने भन्दै सिंहदरवारस्थित बैध खानालाई दिंइँदै आएकोमा अहिले बन्द गरिएको सहसचिव ढकालले जनाए । टिकौली र कसरामा थुपारिएका धेरैजसो आखेटोपहार २०५४ साल पछिका हुन् । 
तस्विरहरु: शिव पुरी/कान्तिपुर

प्रकाशित : जेष्ठ ८, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?