कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध दुरुपयोग प्रकरण : अस्ट्रेलिया कनेक्सन

जनकराज सापकोटा

काठमाडौं — विवादास्पद लागूऔषध ‘स्युडोइफ्रिडन’ दुरुपयोग प्रकरणमा काठमाडौं जिल्ला अदालतको पछिल्लो फैसलासँगै यस्तै प्रकृतिको पुरानो घटना सतहमा आएको छ । २७ चैतमा काठमाडौं जिल्ला अदालतले ६ अर्ब रुपैयाँ बराबरको ‘स्युडोइफ्रिडन’ तस्करीको मुद्दामा एसआर ड्रग ल्याब्रोटरिजका सञ्चालक सदस्य सञ्जयकुमार गुप्तालाई ४ लाख रुपैयाँ धरौटीमै रिहा गरेको थियो ।

दुई वर्षअघि यस्तै प्रकृतिको अन्तरदेशीय लागूऔषध तस्करीको घटनामा काठमाडौं जिल्ला अदालतमै मुद्दा चलाइएको थियो । घटना २०७२ अन्त्यतिरको हो । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अस्ट्रेलियन फेडेरल पुलिसबाट लागूऔषध कारोबारसम्बन्धी सूचना पायो । उक्त सूचनालाई आधार मान्दै ब्युरोले काठमाडौंमा ट्राभल कम्पनी चलाउने र पर्यटक गाइडको समेत काम गर्ने विक्रम लामिछाने र होम तामाङलाई धादिङबाट पक्राउ गर्‍यो । 

विक्रम र होम लागूऔषधका अन्तर्राष्ट्रिय कारोबारी त थिएनन्, तर त्यो सञ्जालमा उनीहरू प्रयोग भएको प्रहरीको अभियोग थियो । स्युडोइफ्रिडनको तुलनामा दुई गुणाभन्दा बढी महँगो ‘एम्फेटामाइन’ का कारोबारीलाई सघाएको सूचना अस्ट्रेलियन फेडेरल पुलिसले दिएको थियो ।

चिनेजानेका एक चिनियाँले विक्रमलाई आफूले केही सामग्री कार्गो गरेर अस्ट्रेलिया पठाउन लागेको, तर त्यहाँ बुझ्ने कोही नभएको भन्दै उनीसँग मद्दत मागेका थिए । विक्रमले चिनियाँ साथीको आग्रह स्विकार्दै २०७२ को भूकम्पका बेला नेपाल आएका अस्ट्रेलियन नागरिक रेमन्ड जोन मार्डसनलाई उक्त कार्गो बुझिदिन आग्रह गरेका थिए ।

अस्ट्रेलियन पुलिसले भने यो सूचना पहिल्यै पाएको रहेछ । अस्ट्रेलियन पुलिसले ५४ केजी एम्फेटामाइनसहित अस्ट्रेलियन कारोबारीलाई विमानस्थल भन्सारबाटै पक्राउ गरेको थियो । पक्राउ परेका अस्ट्रेलियनले नेपालबाट साथीले भनेकै आधारमा उक्त सामग्री लिन गएको बताएपछि अस्ट्रेलियन पुलिसले विक्रम र होमबारे जानकारी नेपाल प्रहरीलाई दिएको थियो । 

एम्फेटामाइनको अन्तर्राष्ट्रिय बजार मूल्य २ लाख ६० हजारदेखि ३ लाख २० हजार अस्ट्रेलियन डलर छ । अर्थात् एक किलो एम्फेटामाइनको नेपाली बजार मूल्य कम्तीमा पनि २ करोड २५ लाख रुपैयाँ पर्छ । औसत बजार मूल्यको हिसाब गर्दा १ अर्ब रुपैयाँभन्दा बढी पर्ने उक्त लागूऔषधसम्बन्धी मुद्दालाई ब्युरोले गम्भीरतासाथ अगाडि बढायो । एक किलो स्युडोइफ्रिडनबाट औसतमा ४ देखि ६ सय ग्राम एम्फेटामाइन निकालिन्छ ।

२०७२ चैत ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको यो मुद्दाको सुनुवाइ प्रक्रिया टुंगिइसकेको छैन । विक्रम र होम जैसिदेवलस्थित केन्द्रीय कारागारमा पुर्पक्ष थुनामा छन् । लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारमा थाहै नपाई सूचनादाताको आरोपमा मुद्दा चलिरहेका बेला उस्तै प्रकृतिको लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले गुप्तालाई ४ लाख धरौटीमा छाडिदिएको छ ।

यसअघि २०७३ वैशाख २ मा ब्युरोले थाइल्यान्डमा बसेर एम्फेटामाइनको अन्तर्राष्ट्रिय कारोबार गर्ने मुख्य अभियुक्त धर्म पाख्रिनका मुख्य सहयोगी नेत्र गुरुङ र चित्र गुरुङलाई पक्रेको थियो । 

प्रकाशित : जेष्ठ ९, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?