१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘भ्यु टावर’ निर्माण सुरु

दीपेन्द्र विष्ट

काठमाडौं — लामो समयको कानुनी अडचनपछि काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित पुरानो बसपार्कमा २९ तले ‘काठमाडौं भ्यु टावर’ निर्माण प्रक्रिया अघि बढाएको छ । निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले भारत र बंगलादेशबाट दक्ष प्राविधिक तथा कामदार ल्याएर निर्माण सुरु गरेको जनाएको छ ।

‘भ्यु टावर’ निर्माण सुरु

पहिलो चरणमा टावरको १२ तला बनाइनेछ । महानगरका सूचना अधिकृत महेश काफ्लेले माटो र पाइल परीक्षणलगायत प्रक्रिया पूरा गरेपछि निर्माण गर्न निर्देशन दिएको बताए । 

भारतीय कम्पनी बालाजी पाइल फाउन्डेसन लिमिटेड र भेलेचा इन्जिनिरियङ लिमिटेड कम्पनीका प्राविधिकले सम्पूर्ण परीक्षण गरिसकेका छन् । ‘भवन निर्माणका लागि पहिलोपटक माटोको प्रेसर परीक्षण गर्न लगाइयो,’ उनले भने, ‘परीक्षण गर्दा उपयुक्त देखियो, निर्माण गर्न भन्यौं ।’ पाँच वर्षअघि निर्माणका लागि ११ वटा कम्पनीले आवेदन दर्ता गराएका थिए । अन्तिम चरणमा तीनवटा पुगेका थिए । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा टावर निर्माण गर्न महानगरले दुई वर्षअघि निर्माण कम्पनी छनोट गरेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि टावर निर्माण अवरुद्ध भएको थियो । अख्तियार र सार्वजनिक लेखा समितिले आवश्यक प्रक्रिया पुर्‍याएर निर्माण गर्न भनेपछि गत वर्ष महानगरले जलेश्वर स्वच्छन्द बिकोई विल्डर्सले अन्तिम सम्झौता गरेको थियो । 

सहरको मुख्य भागमा निर्माण हुने अग्लो व्यावसायिक भवन भएकाले सम्पूर्ण प्राविधिक परीक्षण गर्दा केही ढिलाइ भएको महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसभन्दा माथि बस, टेम्पो लगायतका सवारी साधन, मोटरसाइकल लगायतका स्टेसन बनाइनेछ । टावरबाट पूरै काठमाडांैको दृश्यावलोकन गर्न सकिनेछ । ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यु टावरले पनि छुट्टै पहिचान दिनेछ, न्युरोड लगायतको ट्राफिक जाम पनि कम हुन्छ,’ उनले भने । न्युरोडसम्म घुम्न र किनमेल गर्न जानेहरूले भ्यु टावरमै गाडी पार्किङको सुविधा पाउने उनले बताए । राजधानीमा पर्यटकीय आकर्षणसमेत बढ्ने विश्वास महानगरको छ ।

टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिनेछ । टावरमा प्राचीन कला झल्कने विभिन्न किसिमका डिजाइन निर्माण गर्न लगाइनेछ । टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ । अत्याधुनिक प्रविधिबाट टावर निर्माण हुने प्रवक्ता कार्कीले बताए । टावरका प्रत्येक तला चौबीसै घण्टा खुला रहनेछन् । पहिलो तीस वर्षसम्म निर्माण कम्पनीले नै टावर सञ्चालन गर्नेछ । त्यसपछि कम्पनीले महानगरलाई टावर हस्तान्तरण गर्नेछ । टावर निर्माण गर्न करिब साढे तीन अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । जमिनको प्रत्येक वर्ष सत्तरी लाख रुपैयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने पहिलो चरणको सम्झौता भएको छ । 

  • दुई वर्षभित्र सम्पन्न गरिने 
  • चौबीसै घण्टा खुला रहने 
  • प्रत्येक वर्ष २ करोड ३५ लाख महानगरलाई राजस्व बुझाउने

प्रकाशित : जेष्ठ ११, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?