कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साउदीबाट ‘मृतक’ फर्किएपछि...

देवेन्द्र भट्टराई

काठमाडौं — साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर, काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रितअनुसार अन्तिम संस्कार गर्‍यो । मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे ।

साउदीबाट ‘मृतक’ फर्किएपछि...

तर, तिनै सुवास शुक्रबार अपराहन काठमाडौं आइपुगेका छन् । अझ रोचक त जातीय रितअनुसार उनलाई फेरि न्वारन र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ । सुवास जसोतसो जन्मभूमि आइपुगेका छन्, तर जातीय रितमा उनी ‘मरिसकेका’ छन् । उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारन गरिनेछ । अनि मोरङ, लक्ष्मीमार्ग ल्याएर बिहे । यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट गर्न दिइनेछ ।

करिब तीन वर्षअघि सुवास साउदी अरेबियाको जेदा सहरनजिकै सडक दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका अर्कैको शव सुवासको भनेर नेपाल पठाइएको थियो । उनले भने त्यसपछि आफ्नो आगत–विगत भुलेका थिए । ‘नसोचेकै कुरा भयो । दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरेबिया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव पठाएका थिए,’ विमानस्थलमा दाजुलाई लिन आएका भाइ अम्बर तामाङले भने, ‘शव क्षतविक्षत भएकाले पहिचानका लागि बढी खोजतलास गरिएन । विश्वासका भरमा दाजुको अन्तिम संस्कार गरेका थियौं ।’

त्यतिबेलै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो ।

९ जुलाई २०१५ मा भएको ट्याक्सी दुर्घटनामा घटनास्थलमै ३ र भोलिपल्ट अस्पतालमा एक नेपाली कामदारको मृत्यु भएको थियो । एक कामदारको भने ‘अनुहार चिनिनै नसक्ने अवस्थामा’ अस्पतालमा उपचार भइरहेको थियो । ती उपचार भइरहेका व्यक्ति ट्याक्सीका चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने ‘प्रारम्भिक रिपोर्ट’ भए पनि वास्तवमा तिनै सुवास रहेछन् ।

मृतक चारै जना हुन्डाई कम्पनीका कामदार थिए । दुर्घटनामा बुद्धलाल वाइबा (सिन्धुली), विष्णुबहादुर राना मगर (रूपन्देही) र रिदीबहादुर मगर (चितवन) को घटनास्थलमै मृत्यु भएको थियो ।

‘होस खुलेपछि आफ्नो नाम, बाबु हर्कबहादुरको नाम र भोजपुर जिल्ला भनेर भनेको रहेछु,’ धेरै कुरा सम्झन नसक्ने अवस्थामा पुगेका सुवासले सुनाए, ‘त्यहींबाट म सुवास तामाङ बाँचेको कुरा यहाँ बाबु, श्रीमतीले थाहा पाएका रहेछन् ।’ तामाङलाई काठमाडौंमा आफन्तको जिम्मा लगाउन भनेर जेदास्थित हुन्डाई कन्स्ट्रक्सन कम्पनीले अर्का कामदार शेरबहादुर चौलागाईंलाई पनि साथैमा पठाएको छ । चौलागाईंका अनुसार अहिले साउदी अरेबियामा कामदार घरफिर्तीमा आममाफी (एम्नेस्टी) दिइरहेका बेला पनि सुवासलाई नेपाल फर्काउन त्यति कठिनाइ भएन । सुवासको उपचारमा मात्रै हुन्डाई कम्पनीले झन्डै १ लाख रियाल खर्च गरेको र अहिलेसम्मको तलबसमेत दिएर पठाएको उनले जानकारी दिए ।

तामाङको क्षतविक्षत अनुहार टाल्न तिघ्रा र अन्य भागको मासु भरिएको थियो । झन्डै ३ महिना सघन उपचारमा राखिएका सुवास अहिले पनि बेलाबेला हाँस्ने र रुने गर्छन् ।

तेजेन्द्रको मृत्यु भएको पुष्टि भएपछि मृतकका परिवार क्षतिपूर्ति र न्यायिक प्रक्रियामा परराष्ट्रको कन्सुलर विभागमार्फत सक्रिय छ । सुवासलाई घरफिर्ती गराउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन लागिपरेको सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (सीएमआईआर) का अनुसार हुन्डाई कम्पनीले मृतक तेजेन्द्रको परिवारलाई पनि १५ हजार रियाल राहत रकम दिने भएको छ ।

‘तर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बिमा कम्पनीबाट सुवासको परिवारले मृतक नाममा लिएको क्षतिपूर्ति रकमको प्रक्रियाबारे के हुने हो, यसै भन्न सकिन्न,’ सीएमआईआर प्रतिनिधि वसन्त घिमिरेले भने ।

प्रकाशित : जेष्ठ १३, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?