मिति सरेपछि चुनावी गतिविधि सुस्त

रवीन्द्र उप्रेती

महोत्तरी — मिति सर्दै गएपछि निर्वाचनकेन्द्रित गतिविधि यहाँ सुस्त बेनेको छ । वैशाख ३१ , जेठ ३१ हुँदै अहिले असार १४ का लागि निर्वाचन मिति सारिएपछि दलहरु अलमल छन् । यसको असरले सुरुमा उर्लेको चुनावी तरंग मत्थर देखिएको छ । अहिलेसम्म कुनै पनि दलले उम्मेदवार टुङ्गो न लगाउनु सर्दै गएको तिथिमितिको असर मानिएको छ । ‘हतारो पो के छ र ?’ जिज्ञासा राख्दा दलका नेता कार्यकर्ता उल्टै प्रश्न सोध्छन् ।

कांग्रेस , एमाले , माओवादी केन्द्र , संघीय समाजवादी फोरमलगायतका दलले महोत्तरीमा उम्मेदवारको अंतिम टुङ्गो लगाइ नसकेको जनाए । ‘फेरि पनि निर्वाचन मिति न सर्ला भन्ने के ग्यारेण्टी ?’ जिज्ञासा राख्दा परिकौलीस्थित कांग्रेसका शंभु पाठकले प्रतिप्रश्न गरे ‘निर्वाचन नै महिनापछि सरेपछि उम्मेदवार टुङ्गो लगाउने अहिले के को हतार ?’ तथापि उम्मेदवार सिफारिस प्रकृया भने सबै पालिकामा जारी दलहरुको भनाइ छ । एमालेले पनि उम्मेदवारका नाम सिफारिस गरी अनुमोदनका लागि प्रदेश कमिटीमा पठाएको मात्र जनाएको छ । तर क-कसको नाम सिफारिस गरिएको छ सार्वजनिक गरेको छैन । अध्यक्ष जामुन मण्डलले निर्वाचनको मिति फेरि सारिएका कारण सिफारिस गरिएका नाम अहिले नै सार्वजनिक गर्नु हतारो हुने जनाए ।

कांग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायकाअनुसार निर्वाचन मिति पुन. सारिएकाले उनको दल पनि उम्मेदवारको अंतिम टुङ्गो लगाउने हतारोमा छैन । कांग्रेसमा प्रमुख पदका लागि ५ देखि १९ जनासम्म आकांक्षी देखिएका छन् । पुनर्संरचनापछि केही पालिका २ क्षेत्रमा परेका छन् । यी कारणले पनि कांग्रेसलाई उम्मेदवार सिफारिसमै कडा अभ्यास गर्नु परेको रायले जनाए ।
‘निर्वाचन मिति महिना दिन सारिएपछि हतारमा टुङ्गो न लगाउने मनोवैज्ञानिक प्रभाव परेको हो’ रायले भने ।

क्षेत्रीय प्रतिनिधि वैधनाथ चौधरीले कांग्रेसमा आकांक्षी बढी भएकाले छिट्टै उम्मेदवार टुङ्गो लगाउँदा अन्तर्घात र बागी उम्मेदवारको संभावन हुने र यसको फाईदा विपक्षी दलले लिने हुँदा पार्टी सजग भएर निर्वाचनको अभ्यासमा जुटेको भनाइ राखे ।

संघीय समाजवादी फोरमले उम्मेदवार टुङ्गो लगाउन गृहकार्यमा जुटेको जनाएको छ । फोरम जिल्ला अध्यक्ष रामनरेश यादवकाअनुसार वडा तहदेखि सिफारिस भई आएका नाममाथि छलफल गरी उम्मेदवार निधो गर्न कार्यसम्पादन समिति, जिल्ला वार्ता टोली क्रियाशील छ । राजपासमेत निर्वाचनमा सहभागी हुने उनको विश्लेषण छ । संघीयता पक्षधर जुनसुकै दलसँग सहकार्य गर्ने रणनीतिअनुरुप संघीय समाजवादी फोरम निर्वाचन अभियानमा जुटेको यादवले जनाए ।

निर्वाचन तिथि सरेसँगै माओवादी केन्द्रलेसमेत उम्मेदवारी टुङ्गो नलगाएको जनाएको छ । जिल्ला कमिटी सदस्य राजन ढुङ्गानाले बर्दिवास नगरपालिकाअन्तर्गत १ , ३ , ६ ,७ , ८ , १० र ११ नं वडाका अध्यक्षमा निर्विरोध नाम सिफारिसबाहेक अरु पदका लागि उम्मेदवार चयन छलफल प्रकृयामा रहेको उनले जनाए ।

कांग्रेस महोत्तरी कोषाध्यक्ष किशोरकुमार सिंहकाअनुसार निर्वाचनको धेरैअघि उम्मेदवार चयन गर्दा चुनावमा मनोवैज्ञानिक, रणनीतिक र आर्थिक असर पर्ने हुन्छ । असन्तुष्टलाई प्रयोग गरी विपक्षीले चुनावी फाइदा बटुल्ने अवसरको रुपमा उपोग गर्ने संभावना हुन्छ ।

प्रकाशित : जेष्ठ २०, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?