२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

देउवा प्रधानमन्त्री निर्वाचित

देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत
राजेन्द्र फुयाल

काठमाडौं — कांग्रेस सभापति शेरवहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।

चौथो पटक देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएका देउवाको २०६२/६३ को आन्दोलन यता भने सिंहदरबारको पहिलो सयर हो ।

देउवा प्रधानमन्त्री निर्वाचित

कांग्रेस सभापति शेरवहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।

चौथो पटक देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएका देउवाको २०६२/६३ को आन्दोलन यता भने सिंहदरबारको पहिलो सयर हो । कांग्रेस र माओवादी केन्द्रबीच दश महिना अघि भएको आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता अनुरुप देउवाले प्रधानमन्त्री चुनिएका हुन् । संसदमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना दिदानै देउवाले २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन, संविधान संसोधन, संवृद्धि र पूर्वाधार विकास आफ्नो सरकारको मुख्य प्राथमिकता हुने वताएका छन् ।

संसदमा भएको मतदानमा देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको हो । संविधानसभाबाट रुपान्तरित भएर बनेको व्यवस्थापिका संसदमा ५९३ सदस्य वहाल रहेपनि मंगलबारको मतदानमा ५५८ मात्रै उपस्थित थिए ।

देउवाको पक्षमा कांग्रेस, माओवादी–केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी पार्टी र केही साना दलहरुले मत दिएका थिए । संसदमा मतदान अघि कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले राजपा र संघीय समाजवादी फोरमका नेताहरुसंग एकै व्यहोराको छुट्टाछटै सहमतिमा हस्ताक्षर गरेका थिए । त्यसमा दश महिना अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुअघि तत्कालिन मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिप्रति पुन प्रतिवद्धता जनाइएको छ भने राजनीतिक सहमतिका आधारमा स्थानीय तहको संख्या वृद्धिगर्ने उल्लेख छ । संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा आइपुग्दादेखिनै आफ्नो माग सम्वोधन नभएको भन्दै आन्दोलनरत मधेशकेन्द्रीत दलहरुले संविधान जारी यता प्रधानमन्त्री पदका लागि भएका सबै निर्वाचनमा कांग्रेस गठनबन्धनका उम्मेद्वारका पक्षमा मतदान गरेका छन् ।


प्रमुख प्रतिपक्षी एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा मालेसहितका दलहरुले देउवाको विपक्षमा मत दिएका हुन् ।

संसदमा ती दलहरुको सिट संख्या १९३ भएपनि देउवाको विपक्षमा १७० मत मात्रै परेको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार विपक्षी गठबन्धनका केही सदस्यहरु राजधानी वाहिर रहेका कारण पूर्व सूचना दिएर मतदानमा अनुपस्थित भएका हुन् ।

संसदमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले गरेका थिए । प्रधानमन्त्री पदमै रहेको व्यक्तिले अर्को उम्मेद्वारलाई सरकार प्रमुख बनाउन गरिएको प्रस्तावलाई नेपालको मात्र होइन, विश्वकै इतिहासमा विरलै पाईने उल्लेखगर्दै दाहालले कांग्रेसले आफुलाई गलाएको गुन ‘राम्रैगरी तिरेको’बताए । यसअघि एमालेबाट झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस भन्ने प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस उम्मेद्वारलाई प्रधानमन्त्री वनाउन गरेको पहिलो प्रस्ताव हो । ‘मैले यस अघि एमालेका नेताहरुलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको थिएँ,’ दाहालले संसदमा भने– ‘तर मैले चै एमालेको प्रस्तावमा प्रधानमन्त्री वन्न पाएको छैन । फेरि पनि एमालेका नेताहरुलाई प्रस्ताव गर्न खुला छु ।’

उम्मेद्वारीको सूचना प्रस्तुत गर्दा देउवाले व्यक्त गरेका प्रतिवद्धा कार्यान्वयन हुनेमा विश्वास व्यक्तगर्दै दाहालले परिवर्तनलाई संस्थागत गर्ने काममा गम्भिर हुन नयाँ सरकारलाई सुझाव पनि दिएका छन् । ‘हुन त तपाई चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । तर यो विल्कुल नयाँ परिस्थितिमा हुँदैहुनुहुन्छ’ उनले भने– ‘यो हिजो ज्ञानेन्द्र (तत्कालिन राजा)ले कहिले ल्याउने कहिले फाल्ने गरेजस्तो होइन ।’

प्रकाशित : जेष्ठ २३, २०७४ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?