कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रहरी नै खेल्छन् कार्यालयमै दिउँसै तास

प्रशान्त माली

ललितपुर — नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले प्रहरीहरूलाई संगठनको अनुशासनको कडा पालना गर्न निर्देशन दिइरहेका बेला महानगरीय प्रहरी वृत्त सातदोबाटोस्थित कार्यालय भवनमा भने प्रहरीहरू दिउँसै तास खेल्ने गरेको भेटिएको छ ।

प्रहरी नै खेल्छन् कार्यालयमै दिउँसै तास

वृत्तको मुख्य भवनको दक्षिणपट्टिको कोठामा शुक्रबार ठगीको विषयमा लिएर पीडित र पीडकबीच चर्काचर्की परिरहेको थियो । न्यायका लागि मानिसहरू भौंतारिइरहेका देखिन्थे । पीडितहरू वृत्तको कुन कोठामा जाने कसलाई भेट्ने भन्ने विषयमा अन्योलमा थिए । वृत्तकै अर्कोपट्टि भने फरक दृश्य देखियो । पीडितलाई न्याय दिने प्रहरीहरू दिउँसै खाल थापी तास खेलिरहेका थिए । तासको खाल लगाइएको खाटको एक छेउमा प्रहरीको वाकीटकी पनि थियो । सुरुमा हजारको नोट राखी चार जना प्रहरी तासमा बाजी राखिरहेका थिए । एकैछिनपछि अर्का प्रहरी पनि थपिए । तास खेल्नेमध्ये दुई जना त युनिफर्ममै थिए ।

एकछिनपछि त्यही कोठामा एक जना प्रहरी चुरोट तान्दै आए । पर्सबाट पैसा निकाले अनि खालमा बसे र भने, ‘अस्ति मेरा सबै पैसा जित्यौं, आज जित्ने पालो मेरो ।’ उनीहरू बेला बेलामा अश्लिल शब्द पनि प्रयोग गर्थे । हिसाब नमिल्दा ठूल्ठूलो स्वरमा कराउँथे, झगडा नै परेजस्तो गरी । त्यतिकैमा एक जना महिला प्रहरी तास खेलिरहेको कोठामा आइन् । तास खेलेको बारे उनले केही बोलिनन् । ‘खेलाडी’ मध्येका एक प्रहरीलाई फोन आएको छ भनेर मोबाइल दिइन् र निस्किइन् । मोबाइलमा बोल्नुपर्ने भएपछि फोन लिने प्रहरीले अरू खेलाडीलाई इसारामा चुप लाग्न अनुरोध गरे । अनि नम्बर डायल गरे र भने, ‘सर म सातदोबाटो प्रहरी वृत्तमा छु । तपाईंलाई कहाँ लिन पठाऊँ ।’ अन्त्यमा म गाडी पठाउँछु भनी फोन राखे । अनि खालमै व्यस्त भए । बेलाबेला वाकीटकी बजिरहन्थ्यो । तर, सबैको ध्यान खेलमै थियो ।
केहीबेरमा एक जना प्रहरी कोठाभित्र छिरे । ‘मेरो ड्युटी २ बजेदेखि छ’ भन्दै युनिफर्म लगाउन थाले । संवाददाताले तास खेलको बारे बुझदा उनले वृत्तको कार्यालय भवनमा तीन ठाउँमा तास खेल्ने गरेको बताए । ‘यो कोठामा हवल्दार र सिपाही,’ उनले भने, ‘अर्कोमा सइ र असइ खेल्छन् ।’ उनले जुवाको खालमा छापा मार्दा बरामद हुने तास नै वृत्तमा खेल्ने गरिएको बताए । ‘दिनहुँजसो खेल्छन्,’ उनले भने, ‘हामीले त खेल्नै सक्दैनौं, सब स्यालजस्ता चलाख छन् ।’

जुवा ऐनअनुसार कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न पाइँदैन । आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा लगाउन र जुवा खेलेको ठाउँमा बस्न नहुने कानुनी मान्यता छ । तर, यस्तो काम गर्नेलाई पक्राउ गर्ने प्रहरी वृत्तमा नै दिनहुँ खाल चल्ने गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक रामेश्वरप्रसाद यादवले तास खेल्ने प्रहरीलाई कारबाही गरिने बताए । ‘अहिले नै खोज्न लगाएर कारबाही गर्छु,’ उनले भने ।

प्रकाशित : जेष्ठ २६, २०७४ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?