राजपालाई मनाउने प्रयास जारी

काठमाडौं — आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ को निर्धारित स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मनाउने प्रमुख तीन दलको प्रयास बुधबार पनि सफल भएन । संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति नहुँदासम्म कुनै चुनावमा सहभागी नहुने अडान राजपा नेताले नछाडेपछि बिहीबार पुन: बैठक बस्ने सहमति भएको छ ।

राजपालाई मनाउने प्रयास जारी

राजपा नेता शरदसिंह भण्डारीले माग पूरा नभएको तर वातावरण बने चुनावमा जान सकिने बताए । बिहीबारको बैठकमा तीन दल कसरी प्रस्तुत हुन्छन्, त्यसपछि चुनावमा सहभागी हुने/नहुने तय हुने उनले बताए । ‘राज्यले सबैलाई चुनावमा जाने वातावरण बनाउनुपर्छ, धेरै विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ, तर हाम्रा माग पूरा हुने खालको कुरा आएको छैन,’ बैठकपछि उनले भने, ‘बिहीबारको बैठकले वातावरण बनाउन सक्छ कि सक्दैन हेर्नुपर्छ ।’

चुनावै बिथोल्ने गरी राजपा आन्दोलनमा उत्रिएपछि सत्तारूढ दलहरू अब के गर्ने भन्ने अन्योलमा छन् । चुनावमा राजपालाई सहभागी गराउने अधिकतम प्रयास गर्न बुधबार बैठक बोलाइएपछि तराई जाने कार्यक्रम रोकेर राजपा नेताहरू सहभागी भएका थिए ।

सत्तारूढ दलहरूले राजपा चुनावमा आउने सम्भावना भए उम्मेदवारी मनोनयनको मिति केही दिन सार्न सकिने प्रस्ताव बैठकमा राखेका थिए । मनोनयन मिति सार्नेलगायत विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै छन् । आयोगको कार्यतालिकाअनुसार २ गते मनोनयनको दिन हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असार १४ को मिति सार्न नहुने, सकेसम्म मिलेर जानुपर्ने बताए । एमालेले बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने कुरा तत्काल सम्भव नभएकाले अन्य प्राविधिक कुरा मिलाएर जान आग्रह गरेको थियो ।

तर दुवै माग पूरा हुनैपर्ने धारणा राजपाबाट आएपछि एमालेले सत्तारूढ दलहरूलाई चुनावको मिति सार्नतिर नलाग्न सुझाव दिएको छ । ‘संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने कुरा अहिले पूरा गर्न सकिँदैन, अरू प्राविधिक विषय मिलाएर चुनावमा जाऔं भन्दा राजपा नेताहरू मान्नु भएन,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘निर्वाचनलाई कुनै पनि निहुँ र बहानामा यताउता गर्न मिल्दैन, तोकिएकै समयमा सबै प्रदेशका चुनाव हुनुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सकेसम्म राजपालाई निर्वाचनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै आउने अवस्थामा मनोनयन एक/दुई दिन सार्न सकिने बताए ।
सत्तारूढ दलका नेताले राजपालाई ल्याउने उपाय र नआए के गर्ने भन्ने दुवै विकल्पमा आन्तरिक विमर्श गरिरहेका छन् । राजपाको बहिष्कार र आमहडतालकै बीच चुनाव गर्न भने मुस्किल पर्ने उनीहरूको मूल्यांकन छ । कांग्रेसका मधेसी नेताहरूले यथास्थितिमा प्रदेश नम्बर २ मा चुनाव गर्न नसकिने ब्रिफिङ पार्टीलाई गरिरहेका छन् । उनीहरूले बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेटेरै २ नं. प्रदेशको निर्वाचन सार्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री देउवाले चुनावमा आउने लिखित प्रतिबद्धता गर्न राजपा तयार भए सबै वा २ र ५ नम्बर प्रदेशको चुनाव केही दिन सार्न सकिने संकेत दिएका छन् । तर राजपा त्यस्तो प्रतिबद्धता जनाउन तयार देखिएको छैन । चुनावपछि संविधान संशोधन गर्न प्रमुख तीन दलले अहिले नै लिखित प्रतिबद्धता गरे राजपा चुनावमा सहभागी हुन सक्छ भन्ने विश्लेषण सत्तारूढ दलका नेताहरूको छ । तर पछि संशोधन गर्ने भन्ने सहमतिमा अहिले नै लिखित हस्ताक्षर गर्न एमाले तयार छैन ।

राजपासँग कुरा नमिले प्रदेश नम्बर १ र ७ को मात्र अहिले चुनाव गर्ने र बाँकी २ वटा प्रदेशको चुनाव तेस्रो चरणमा गर्नेबारे पनि राजनीतिक तहमा छलफल भइरहेको छ । केहीले भने दुई र पाँच नम्बर प्रदेशलाई मात्र छाडेर चुनाव गर्दा राम्रो सन्देश नजाने बताइरहेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बुधबार विराटनगरमा तराईका ११ जिल्लाको मात्र भए पनि चुनाव पछि सार्न सकिने बताएका छन् ।

यसैबीच कांग्रेसका प्रदेश नम्बर २ का नेताहरूले मधेसका एघार जिल्लामा तेस्रो चरणमा चुनाव गर्न सुझाव दिएका छन् । उम्मेदवार चयनका लागि बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरूले राजपालाई उपेक्षा गरेर चुनावमा जानुभन्दा २ र ५ नम्बर प्रदेश पूरैलाई या प्रभावित क्षेत्रलाई मात्रै तेस्रो चरणमा गर्न सुझाएका थिए ।

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले भने कुनै जवाफ दिएनन् । उनले चुनाव सार्ने या नसार्ने भन्नेमा राजपासमेतको उपस्थितिमा बस्ने बैठकले तय गर्ने बताए । बैठकमा पूर्वगृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवं श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरलगायतले राजपालाई बाहिर राखेर चुनावमा जाँदा झनै संकट निम्तिने बताएका थिए ।

‘अहिले मधेस बन्द छ । कांग्रेसले मधेसको मुद्दा सम्बोधन गर्न सक्रियता देखाउँदै आएको हो । मधेसको माग सम्बोधन नहुने र राजपासमेत चुनावमा नआउने हो भने स्थिति बिग्रिन्छ र पार्टीको पोजिसन पनि कमजोर हुन्छ,’ बैठकमा अधिकांश मधेस केन्द्रित कांग्रेस नेताहरूको भनाइ थियो, ‘कांग्रेसले मुठभेठतिर धकेल्ने होइन, सबैलाई मिलाएर लैजानुपर्छ । त्यसका लागि प्रभावित क्षेत्र या दुइटा प्रदेशको चुनाव तेस्रो चरणमा गर्नु उपयुक्त हुन्छ ।’

प्रकाशित : असार १, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?