२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पत्रकार भण्डारी र भट्ट पक्राउ

कञ्चनपुर — महेन्द्रनगरबाट प्रकाशित हुने ‘मानसखण्ड दैनिक’ का सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

पत्रकार भण्डारी र भट्ट पक्राउ

स्थानीय महेन्द्रनगर बजारमा होटल व्यवसाय सञ्चालन गर्ने २ युवतीलाई प्रहरीले पक्राउ गरेको विषयमा उक्त दैनिकमा गत साता  समाचार प्रकाशित भएको थियो । उक्त समाचारले छोरीको चरित्र हत्या र बेइज्जत भएको भन्दै शुक्लाफाँटा नगरपालिका–५ गर्जमनिका खेमराज नाथले प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दिएपछि पत्रकारद्वय भण्डारी र भट्ट पक्राउ परेका हुन् । प्रहरीले सार्वजनिक मुद्दा दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनायो । 

समाचार लेखेकै आधारमा प्रहरीले पत्रकार पक्राउ गरेको भन्दै सञ्चार सम्बद्ध संघ–संगठनहरूले विरोध गरेका छन् । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारको विषयमा आपत्ति भए प्रेस काउन्सिलमा गएर कानुनी उपचार खोज्ने बाटो सुरक्षित हुँदाहँुदै प्रहरीले क्षेत्राधिकार नाघेर षडयन्त्रपूर्ण ढंगले पत्रकारहरूलाई फसाउन खोजेको आरोप लगाए ।

पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगरले पनि विज्ञप्ति जारी गर्दै प्रहरीले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्न खोजेको भन्दै पक्राउ परेका पत्रकारको तत्काल रिहाइको माग गरेका छन् । पत्रकारहरूका विभिन्न पेसागत संघसंगठनहरूले समेत पक्राउप्रति विरोध जनाउँदै रिहाइको माग गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारी महेन्द्रनगरबाट प्रसारण हुने महाकाली एफएमका प्रबन्ध निर्देशकसमेत हुन् । 

प्रकाशित : असार ३, २०७४ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?