नक्कली सीआईबीका नाममा अपहरणकाे धन्दा चलाउने ४ पक्राउ

पक्राउ परेका चारैजना पेसेवर अपराधी

काठमाडौं — एक व्यवसायीले गत पुस ७ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिए । जसको व्यहोरामा लेखिएको सार थियो, आफूलाई काठमाडौंबाटै एउटा गिरोहले अपहरण गर्‍यो । २ लाख रुपैयाँ, ६ तोला सुन र खाली चेकमा हस्ताक्षर गराई फिरौती बुझाएर मुक्त भएँ । सोही समय ती कन्टेनर व्यवसायीजस्तै काठमाडौंकै एक निर्माण व्यवसायी पनि अपहरणमा परेका थिए । तिनी पनि उसै गरी नगद बुझाएर मुक्त भएपछि महाराजगन्ज प्रहरी वृत्तमा अपहरणको घटनाबारे निवेदन दिएका थिए ।

नक्कली सीआईबीका नाममा अपहरणकाे धन्दा चलाउने ४ पक्राउ



अनौठो त के छ भने अपहरणका यी दुवै घटनामा युवती प्रयोग गरिएको थियो । अपहरणकारीले आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी भएको भन्दै बन्दुक र हतकडीको प्रयोग गरेका थिए । यसरी लामो समयदेखि नक्कली सीआईबीका नाममा अपहरण धन्दा चलाउने गिरोहका ४ जनालाई ब्युरोले पक्राउ गरेको छ । ब्युरोका अनुसार पक्राउ परेका चारैजना यसअघि पनि अपहरण तथा अन्य जघन्य अपराधका घटनामा संग्लन रहिसकेका व्यक्ति हुन् ।

यो गिरोहले सुन्दर युवतीको प्रयोग गरी पैसावाल व्यक्तिलाई फसाउँथे र अपहरण गरी यातना दिई फिरौती असुल गर्थे । ब्युरोले यही धन्दामा लामो समयदेखि सक्रिय रहेका कुविन भन्ने कोलबहादुर थापा र सरु केसी भन्ने आशिका परियारलाई पक्राउ गरेको थियो । ब्युरोका अनुसार सोही मुद्दामा मुख्य प्रतिवादी रहेका कामरेड कुमार, रोशन, कुमानन्द भन्ने कोमानन्द खडका र नवीनकुमार खडकालाई यसअघि नै पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि नख्खु कारगारमा पठाइसकिएको छ ।

प्रहरीले सुन्दर युवतीको प्रयोग गरी व्यक्ति फसाउने अर्थात् ‘हनी ट्रयाप’ मा पारेर फिरौतीको धन्दा चलाउने यो गिरोहले थुप्रैबाट रकम असुलिसकेको निष्कर्ष निकालेको छ । ब्युरोका अनुसार गिरोहले पैसावालहरू फसाउन आसिकालाई प्रयोग गरेको देखिन्छ । फोनमार्फत आसिका विभिन्न व्यापारी र पैसावालको सम्पर्कमा पुग्थिन् । केही चरणको भेटघाटपछि उनले सबै सूचना र जानकारी कोमानन्दलाई उपलब्ध गराउँथिन् । अपहरण र फिरौती असुलीको सबै योजना भने कोमानन्द आफैंले तयार पार्थे ।

कोमानन्द, नवीन र कोलबहादुरले अपहरित व्यक्तिलाई आफू सीआईबीको डीएसपी, इन्सपेक्टर र असई भएको भन्दै नक्कली परिचय दिन्थे । उनीहरूले फिरौती असुलीमा प्रहरीले जस्तै पेस्तोल बोक्ने र नक्कली हतकडीको प्रयोग गरेको देखिन्छ । व्यक्तिलाई अपहरण गरिसकेपछि बन्धकमा पारेर एक स्थानबाट अन्यत्र लैजाँदा ठाउँ पहिचान नहोस् भनेर अपहरणकारीले पीडितलाई कालो टेप टाँसिएको कालो चस्मा लगाइदिन्थे ।

ब्युरो प्रवक्ता एसएसपी मीरा चौधरीका अनुसार यो गिरोहले अपहरण फिरौतीको धन्दा लामो समयदेखि चलाएको देखिन्छ । ब्युरोका अनुसार केही महिनाअघि मात्रै यही समूहले लागूऔषध कारोबारमा जेल परि सजाय भुक्तान गरिसकेका एक व्यक्तिलाई धम्की दिएर २ लाख रुपैयाँ असुलेका थिए । भनेजति पैसा नदिए लागूऔषध राखेर फेरि फसाइदिने धम्की तारन्तार पाएपछि ती व्यक्तिले रकम बुझाएका थिए ।

कुमानन्द २०५९ जेठ २९ मा भएको कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । उनीसहित यो समूहले २०७३ मा अमेरिकन एम्बेसीका एक कर्मचारीलाई अपहरण गरी फिरौती असुलेका थिए । त्यस्तै सोही वर्ष सिन्धुलीका एक निर्माण व्यवसायी, न्युरोडका व्यापारी, सिन्धुपाल्चोकका १ कन्टेनर व्यवसायीलाई पनि अपहरण गरी फिरौती असुलेका थिए ।

 

प्रकाशित : असार ४, २०७४ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?