यातायातका कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा

संकलित राजस्व बैंक दाखिला नगरी बाँडचुँड गरेको देखियो : अख्तियार
भ्रष्टाचारको आरोपपत्र दायर भएका सबै कर्मचारी फरार
कान्तिपुर संवाददाता

काठमाडौं — संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको आरोप छ ।

‘यातायात कार्यालयले संकलन गरेको राजस्वको तुलनामा कम परिमाणमा रकम बैंक दाखिला गरेको भेटियो,’ अख्तियार स्रोतले भन्यो, ‘एउटैको नाममा पटक–पटक इन्ट्री गरेर रसिद निकाल्ने तर नगद भने बैंकमा नराखी बाँडेर अनियमितता गरेको पुष्टि भएको हो ।’

अख्तियारका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँ मात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ । आर्थिक वर्ष २०७२/७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको हो ।

आर्थिक वर्ष २०७३/७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारले यातायात कार्यालय, इटहरीका प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । अख्तियारले लेखापालद्वय सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियार स्रोतका अनुसार भ्रष्टाचारको आरोपपत्र दायर भएका सबै कर्मचारी फरार छन् । उनीहरूमध्ये केहीको सम्पत्ति रोक्कासमेत गरिएको स्रोतले बतायो । यातायात कार्यालय परिसरमै बैंक शाखा रहे पनि उनीहरू आफैंले नगद संकलन गरी फर्जी रसिद जारी गर्ने र संकलन भएको रकम मिलेमतोमा आपसमा बाँड्ने गरेको स्रोतले जनायो ।

प्रकाशित : असार ४, २०७४ २१:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कङ्गोमा नेपाली सेना तथा विद्रोहीबीच झडप

पाँच विद्रोहीको मृत्यु, दुई नेपाली सैनिक घाइते
कान्तिपुर संवाददाता

काठमाडौं — अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘मोनुस्को’ मिशन कङ्गोमा कार्यरत नेपाली सेना र त्यहाँको विद्रोहीबीच झडप भएको छ । झडपमा पाँच विद्रोहीको मृत्यु भएको छ भने दुई नेपाली सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको र उनीहरुको परिवारलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको नेपाली सेनाले बताएको छ ।

 

शम्शेरदल गण २३ औं डफ्फाको सैनिक गस्तीमाथि स्थानिय विद्रोही समूह माई–माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाको २ जवान घाईते भएको सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार जनाएको हो । उक्त झडपमा विद्रोहीतर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ । 

उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेना लाई बुझाइएको छ । गण रहेको स्थान बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा भएको उक्त झडप भएको र घाइते नेपाली सैनिकहरुको गोमास्थित युएनको लेवल ३ अस्पतालमा उपचार भई रहेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ । अहिले उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

प्रकाशित : असार ४, २०७४ २१:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT