कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एउटै चिह्नले तनाव

नेपालगन्ज — उम्मेदवारी दर्तामा आफ्नै चुनाव चिह्न गुम्ने स्थिति आएपछि संघीय समाजवादी फोरमका उम्मेदवार तनावमा छन् ।

देशभर एउटै चुनाव चिह्न ‘मसाल’ लिएर चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिबीच असमझदारी हुँदा बाँकेमा समस्या आएको हो । फोरमले नेपालगन्ज उपमहानगरपालिका मेयरमा कमरुद्धिन राईलाई उम्मेदवार बनाएको थियो । तर, उनीभन्दा पहिल्यै नयाँ शक्ति पार्टीकी जगतकुमारी खड्काले मेयर र ममता बनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएपछि फोरमका नेता, कार्यकर्ता दिनभर तनावमा रहे ।

संघीय फोरम बाँकेका प्रवक्ता सम्सुल हक राईले नयाँ शक्ति पार्टीले धोका दिएरर उम्मेदवारी दर्ता गराएको आरोप लगाए । उनले भने, ‘चुनाव चिह्नका लागि निर्वाचन आयोगमा उजुरी गरिसकेका छौं ।’

साझा चुनाव चिह्नको फाइदा उठाउँदै संघीय समाजवादीका बागी उम्मेदवारले पनि नयाँ शक्तिबाट उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य जगदीशबहादुर सिंहले डडुवा गाउँपालिकामा नयाँ शक्तिसँग मिलेर उम्मेदवारी दिएका छन् । फोरमले त्यहाँ कांग्रेसबाट भर्खरै प्रवेश गरेका विजयबहादुर यादवलाई गाउँपालिका अध्यक्ष उम्मेदवार बनाएको छ । त्यस्तै, जानकी गाउँपालिकामा संघीय फोरमका नेता जगदम्बा पाठक नयाँ शक्तिबाट अध्यक्ष उठेका छन् ।

रातारात उम्मेदवार हेरफेर
कांग्रेसले खजुरा गाउँपालिका–३ धौलागिरिमा रातारात उम्मेदवार फेरेपछि विवाद भएको छ । पार्टीले नरबहादुर खड्कालाई उम्मेदवारी दिने निर्णय गरेपछि उनले घरदैलो गरी भ्याएका थिए । तर, रातारात उनको नाम रद्द गरी रमेश सिजालीलाई उम्मेदवारी दिएपछि दुवै पक्षबीच हात हालाहाल भएको छ । खड्का पक्षका असन्तुष्ट नेता र कार्यकर्ताले खजुरा बजारमा रहेको कांग्रेसको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । अन्तिम समयमा सिजालीको नाममा उम्मेदवारी दर्ता गरिएको छ । कार्यकर्ताहरूको अवरोधका कारण उनले उम्मेदवारी दर्ता गर्न सकेका थिएनन् ।

खड्का पक्षधरले सिजालीलाई उम्मेदवारी दर्ता गर्न अवरोध गरेका थिए । कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौर र सांसद आशा विकले रातारात उम्मेदवार फेरेको आरोप कार्यकर्ताहरूको छ । उनीहरू उम्मेदवारी दर्ताका लागि खजुरा आउने कार्यक्रम थियो । कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्लले जिल्ला नेतृत्वले उम्मेदवारी दिइसकेको व्यक्तिको नाम काटेर रातारात अर्कैलाई उम्मेदवारी बनाएको भन्दै आक्रोश पोखेका छन् । ‘केन्द्रले बेइमानी गर्‍यो । घरदैलो, प्रचारप्रसार गरिसकेको उम्मेदवारको नाम काटियो,’ उनले भने, ‘रातारात उम्मेदवार परिवर्तन गर्ने निर्णय स्वीकार्य छैन ।’

बैजनाथमा झडप
बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । आफूहरूको कार्यक्रम बिथोल्ने गरी माओवादी केन्द्रका कार्यकर्ताले माइकिङ गरेपछि तनाव भएको एमालेले जनायो । माओवादी केन्द्रको माइकिङ बन्द गराउन सांसद दलबहादुर सुनार आफैं गएका थिए ।

गायक बद्री पँगेनीसमेत आएकाले एमालेले उल्लेख्य जुलुससहित मनोनयन दर्ता गराएको थियो । त्यस क्रममा प्रहरीले दुव्र्यवहार गरेको र उनी बोल्ने बेलामा पुन: माइकिङ गरेर सभा बिथोल्न खोजेको भन्दै एमालेले प्रतिकार गरेपछि दोहोरो ढुंगा हानाहान भएको थियो । त्यस क्रममा एमलेका ५ कार्यकर्ता र प्रहरी नायब निरीक्षकसहित दुई प्रहरी घाइते भएका थिए । प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास हानेको थियो । स्थिति सामान्य भइसकेको प्रजिअ रविलाल पन्थले बताए ।

प्रकाशित : असार ५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?