कोदारी राजमार्गमा पहिरो

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाको गाती शिरिषेमा पहिरो जाँदा कोदारी राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्ड अवरुद्ध भएको छ । शनिबार बेलुकीको वर्षाले कमजोर बनाएको शिरिषेमाथिको पहाड भत्किएर सडक ६ घण्टा थुनिएको हो ।

कोदारी राजमार्गमा पहिरो

पहिरोका कारण २६ किमि सडकखण्ड रोकिएपछि बाह्रबिसे तथा राजधानी जान लागेका दर्जनौं यात्रु अलपत्र परेका थिए । ‘बिरामी यात्रुलाई पहिरो कटाउन तत्काल मद्दत गरेका थियौं,’ इलाका प्रहरी कार्यालय, बाह्रबिसेका प्रहरी जवान केदार तिवारीले भने, ‘६ घण्टापछि एक्जाभेटर सहायतामा अवरोध हटायौं तर पहिरो झर्न रोकिएको छैन ।’ निरन्तर झरिरहेको सुक्खा पहिरोले जोखिम बढाएको उनको भनाइ छ । भूकम्पले धाँजा फाटेको पहाड बर्खाले थप कमजोर बनाउने भएकाले कोदारी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको इलाका प्रहरीले जनाएको छ ।

पहिरोले बाटो थुनिएपछि बिरामी र अन्य यात्रुले सास्ती भोग्नुपर्‍यो । भोटेकोसी गाउँपालिका तातोपानीकी दिलमाया शेर्पाले आफू बाटोमै अलपत्र परेको सुनाइन् । ‘स्वास्थ्य चौकीमा उपचार भएन भनेर धुलिखेल रिफर भएको, पहिरोले बाटोमै अलपत्र परियो,’ उनले भनिन् । वर्षा रोकिए पनि सुक्खा पहिरो गइरहेकाले यात्रु त्रस्त छन् । ठाउँ–ठाउँमा पहिरो जाने क्रम बढेकाले बाह्रबिसेबाट सिरिसेसम्म सवारीसाधन जान सकेका छैनन् ।

शिरिषेबाट बाह्रबिसे बजार पुग्न झन्डै दुई घण्टा लाग्छ । समय धेरै लाग्ने भएकाले सवारीसाधन आउन नमानेको यात्रुको भनाइ छ । गत वर्ष असार २१ मा आएको भोटेकोसी बाढीले कटानमा पारेको बाह्रबिसे तातोपानी सडकखण्ड चिनियाँ निर्माण कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको थियो ।

तर, वर्षात र पहिरोले तटीय क्षेत्रमा लगाइएको पर्खाल भत्किँदै गएकाले धेरै स्थानको सडक जीर्ण बन्दै गएको छ । सडक पुनर्निर्माणसँगै नाका खुल्ने व्यग्र प्रतीक्षामा रहेका भोटेकोसीका स्थानीय वर्षा सुरु भएलगत्तै झरिरहने पहिरोले चिन्तित छन् । बर्खा लागेपिच्छे कोदारी राजमार्ग पहिरोले बन्द हुने जम्बुका बासिन्दा बताउँछन् ।

प्रकाशित : असार ५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?