ओलीले समय मागेपछि प्रधानन्यायाधीशको टुंगो लागेन

बालकृष्ण बस्नेत

काठमाडौं — संवैधानिक परिषद बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम टुंगो लगाउने विषयमा सोमबार सहमति जुटेन । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित नामबारे थप अध्ययन आवश्यक रहेको भनी विपक्षी दलका नेता केपी ओलीले समय मागेपछि असार १५ गते बस्ने गरी बैठक टुंगिएको थियो ।

बैठकको सुरुमै प्रधानमन्त्री देउवाले कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम संसदीय सुनुवाईका लागि सिफारिस गर्नुपर्ने प्रस्ताव राखेका थिए । ओलीले भने प्रस्तावित नामहरुप्रति थप अध्ययन आवश्यक भन्दै अर्को दिन निर्णय गर्नुपर्ने बताएका थिए । आगामी बैठक असार १५ गतेलाई तोकिएको छ । 

‘बैठकमा न्यायपरिषदबाट प्राप्त नामहरु पेस भए । थप अध्ययन गर्नुपर्ने कुरा आएपछि निर्णय हुन सकेन,’ बैठकपछि उपसभामुख गंगा यादवले कान्तिपुरसँग भने । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद बैठकमा सभामुख ओनसरी घर्ती, विपक्षी दलका नेता ओली, उपसभामुख यादव र कानुनमन्त्री गोपालमान श्रेष्ठ सहभागी थिए । प्रधानन्यायाधीशका लागि न्याय परिषदले पराजुलीसहित बरिष्ठताक्रम अनुसार सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम पठाएको थियो । 

स्रोतका अनुसार देउवाले प्रधानन्यायाधीशको नियुक्ति लामो समयसम्म रोकिरहन नहुने भन्दै कामु चलाईरहेका बरिष्ठतम न्यायाधीश पराजुलीको नाम पठाउनुपर्ने बताएका थिए । ‘अदालतको काम रोकिरहनु हुन्न’ देउवाको भनाई थियो । ओलीले भने अहिले कामु प्रधानन्यायाधीशको नेतृत्वले अदालती काम गरिरहेकाले हतार गर्नु नपर्ने बताएका थिए । ‘न्यायाधीशहरुले मुद्दा हेरिरहेकै छन् । अन्य अदालती काम पनि भइरहेकै छन्’, ओलीको भनाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘प्रधानन्यायाधीश छान्ने काम आजको आजै नगरौं । थप अध्ययन गरौं ।’ उनले कामु प्रधानन्यायाधीश पराजुलीको उमेरका सम्बन्धमा पनि विवाद आएकोले त्यसबारे संवैधानिक परिषदले बुझ्नुपर्ने धारणा राखेका थिए । 

मुख्य सचिव डा.सोमलाल सुवेदीले न्यायपरिषदबाट प्राप्त ६ जना न्यायाधीशहरुको वैयक्तिक विवरणसहित फाइल बैठकमा सहभागी सबै सहभागीहरुलाई वितरण गरेका थिए । ओलीको फाइलमा भने ५ जनाको मात्र परेको थियो । बरिष्ठ न्यायाधीश दिपकराज जोशीको छुटेपछि ओलीले प्रश्न उठाएका थिए । तर, पछि भने सबै जनाको विवरण उपलब्ध गराइएको थियो । कामु प्रधानन्यायाधीश पराजुलीको उमेर सम्बन्धमा न्याय परिषदले गरेको निर्णय समेत उक्त फाइलमा राखिएको थियो । नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक फरक उमेर भएको विवादलाई परिषदले टुंग्याएको थियो । 

ओलीले भने संवैधानिक परिषदले सुनुवाई समितिमा पठाउदा त्यसबारे प्रष्ट भई फाइल अघि बढाउनुपर्ने जिकिर गरेका थिए । उनले मंगलबार बेलुकी पुन : बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर, सभामुख घर्तीले आफू ३ दिनका लागि राजधानी बाहिर जानुपर्ने कार्यूसूची बनिसकेको बताएकी थिइन । त्यसपछि जेठ १४ को चुनावमा नेताहरु व्यस्त हुनुपर्ने भएकाले १५ गते बस्ने गरी बैठक टुंगिएको थियो । निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले गत जेठ २४ गते अवकास पाएपछि पराजुलीले कामु चलाउदै आएका छन् । 

प्रकाशित : असार ५, २०७४ २०:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

३५ वटै जिल्लामा कांग्रेस प्रतिनिधि खटिए

महतको नेतृत्वमा अनुगमन कार्यदल
कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेसले स्थानीय तहको दोस्रो चरणअन्तर्गत चुनाव हुने ३५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो । चुनाव हुने ३५ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीयस्तरका नेतालाई भने खटाइएको छैन ।

उनीहरु केही दिनयता आफ्ना जिल्ला र क्षेत्रमा चुनावी प्रचारमा व्यस्त छन् ।

कांग्रेसद्वारा सोमबार जारी विज्ञप्तिअनुसार ताप्लेजुङमा भिमसेनदास प्रधान, पाँचथरमा अर्जुनप्रसाद जोशी, इलाममा श्यामकुमार घिमिरे, झापामा रामशरण महत, संखुवासभामा प्रकाशमान सिंह र जीवन परियार, तेह्रथुममा जगदिश्वरनरसिंह केसी र भोजपुरमा बहादुरसिंह लामा खटिएका छन् । धनकुटामा मोहनबहादुर बस्नेत, मोरङमा विमलेन्द्र निधि, सुनसरीमा अर्जुनरसिंह केसी, सोलुखुम्बुमा यज्ञबहादुर थापा, खोटाङमा राजेन्द्रकुमार केसी, ओखलढुंगामा प्रकाश शर्मा पौडेल, उदयपुरमा तेजुलाल चौधरी र गुल्मीमा चन्द्रवहादुर कुँवर खटाइएका छन् । 

यस्तै, पाल्पामा ध्रुव वाग्ले, अर्घाखाँचीमा कमला पन्त, नवलपरासीमा रोमी गौचन र रञ्जीत कर्ण, रुपन्देहीमा महेन्द्र यादव र शंकर भण्डारी, कपिलबस्तुमा धनराज गुरुङ र रामकृष्ण यादव, रुकुममा गोविन्द भट्टराई, रोल्पामा उदयशमसेर राणा, प्यूठानमा रामचन्द्र पोखरेल र खड्गबहादुर बस्याल, दाङमा सुरेन्द्रराज पाण्डे, बाँकेमा हृदयराम थानी, बर्दियामा चित्रलेखा यादव, उमाकान्त चौधरी र रेशमवहादुर बाँनिया, बाजुरामा इन्द्र बाँनिया, अछाममा मोहनप्रसाद बराल, बझाङमा प्रदीप पौडेल, डोटीमा चन्द्र महर्जन, कैलालीमा रत्ना शेरचन, दार्चुलामा गगन थापा, बैतडीमा तप्तबहादुर विष्ट, डडेलधुरामा शेषनाथ अधिकारी र कंचनपुरमा जीवनबहादुर शाहीलाई खटाइएको छ । 

निर्वाचन परिचालन समितिले १, ५ र ७ नम्बर प्रदेशको स्थानीय तहको चुनाव अनुगमन गर्न केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन कार्यदल गठन गरेको छ । जसमा महालक्ष्मी उपाध्याय, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चीनकाजी श्रेष्ठ र दिलबहादुर घर्ती सदस्य छन् ।

प्रकाशित : असार ५, २०७४ २०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT