कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सार्क शिखर सम्मेलन पाकिस्तानमा छिट्टै : प्रधानमन्त्री देउवा

काठमाडौं — दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा छिट्टै हुने बताएका छन् ।

 सार्क शिखर सम्मेलन पाकिस्तानमा छिट्टै : प्रधानमन्त्री देउवा

उनले सम्मेलनको लागि बातावारण बन्दै जानुपर्ने र सबै सदस्यहरु उत्तिकै जिम्मेवार भएर सार्क प्रक्रियामा अघि बढ्न पर्ने समेत बताए । देउवा प्रधानमन्त्री भएपछि स्वत सार्कको अध्यक्ष भएका हुन् । 

नेपालले सार्कको अध्यक्ष रहेको कारण कार्यकारी प्रमुखले स्वत: अध्यक्षता गर्नेछन् । स्थगित शिखर सम्मेलन सुचारु गर्ने जिम्मेवारी सार्क अध्यक्षको रहने हुनाले उनले यस्तो धारणा राखेका हुन् ।

भारत पाकिस्तानबीचको तिक्तताकै कारण १९ औं शिखर सम्मेलन तयारीको अन्तिम समयमा स्थगित भएको थियो । सबै तयारी भएर सबै सदस्य मुलुकमा शिखर सम्मेलनको विभिन्न विषयमा वहस भइरहदा भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानले अहिलेको अवस्थामा शिखर सम्मेलनमा भाग लिन नसक्ने जानकारी अचानक पाकिस्तानलाई दिएपछि सम्मेलन स्थागित भएको थियो । 

गत कात्तिक मसान्त र मंसिर एक (१५–१६, नोभेम्वर २०१६) मा तय सम्मेलन स्थगित भएपछि सम्मेलन गर्ने बातावरण अभैंm तय हुन सकेको छैन । यसको लागि पहल गरिदिन पाकिस्तानले अध्यक्ष लगायत अन्य सदस्य मुलुकहरुसँग आग्रह गर्दै आएको छ । 

पाकिस्तानको तर्फबाट सार्कका महासचिव रहेका अमजद हुसेन वि. सियालले प्रधानमन्त्री देउवालाई भेट्न आइतबार सिंहदरबार पुग्दा अध्यक्ष देउवाले सियाललाई शिखर सम्मेलन छिट्टै हुने आशा लिएको बताएका थिए । 
महासचिवलाई भेट दिनेक्रममा प्रधानमन्त्रीले सार्कको पछिल्लो अवस्थाबारेमा जिज्ञासा राख्दै तत्काल सम्मेलनको प्रक्रियामा सबै उत्तिकै जिम्मेवार भएर लाग्नपर्ने बताएका हुन् । 

यसअघि देउवा प्रधानमन्त्री रहँदा सार्कको ११ औं सम्मेलन सन २००२ मा काठमाडौंमा भएको थियो । नेपालले दोस्रो पटक आयोजना गरेका उक्त सम्मेलन भारत–पाकिस्तान सम्बन्धकै कारण पटकपटक स्थगित भएको थियो ।

सम्मेलन हुने तय हुँदासम्म भारत–पाकिस्तान सम्बन्ध सुमधुर थिएन । तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ चिनियाँ आकाश मार्ग प्रयोग गर्दै एक दिन ढिला गरी काठमाडौं उत्रेका थिए । 

अहिलेको अवस्था पहिलेको जस्तो नरहेको भन्दै नेपालले सम्मेलनको लागि पहल गरिरहेको छ । तर, परिस्थिति देउवाले भनेजस्तो सहज भने छैन् । 
 
जानकारहरुका अनुसार भारतले सम्मेलनको अनुमति नदिएसम्म शिखर सम्मेलन हुने सम्भावना छैन् । छिमेकी सम्बन्धबारे वर्तमान भारतीय सरकारको देशभित्रै आलोचना भइरहेकाले भारतीय सरकारले सार्क सम्मेलनको लागि सहमति दिनसक्ने परारष्ट्र अधिकारीहरु बताउँछन् । 

प्रकाशित : असार ५, २०७४ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?