१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कसले जोगाउला विराटनगरको विरासत ?

एमाले–फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम–माओवादी गठबन्धन विरासत भत्काउने दाउमा

विराटनगर — कान्छा दुई महानगरमध्येको विराटनगरमा यस पटक स्थानीय तहको चुनावमा कांग्रेसले कोइरालाहरूको विरासत जोगाउन सक्ला कि नसक्ला ? यो प्रश्न यतिबेला यहाँ कौतूहल र बहसको विषय बनेको छ ।

यो ऐतिहासिक नगर कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि गिरिजाप्रसाद हुँदै शेखर र सुजाता कोइरालासम्मको राजनीतिक कर्मभूमि हो । २००७ सालको क्रान्तिदेखि नै यहाँको राजनीति र चुनावमा कोइरालाहरूकै वर्चस्व छ ।

कसले जोगाउला विराटनगरको विरासत ?

कान्छा दुई महानगरमध्येको विराटनगरमा यस पटक स्थानीय तहको चुनावमा कांग्रेसले कोइरालाहरूको विरासत जोगाउन सक्ला कि नसक्ला ? यो प्रश्न यतिबेला यहाँ कौतूहल र बहसको विषय बनेको छ ।

यो ऐतिहासिक नगर कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि गिरिजाप्रसाद हुँदै शेखर र सुजाता कोइरालासम्मको राजनीतिक कर्मभूमि हो । २००७ सालको क्रान्तिदेखि नै यहाँको राजनीति र चुनावमा कोइरालाहरूकै वर्चस्व छ ।

कांग्रेसले यहाँ कोइरालाहरूको विरासत थाम्न मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उम्मेदवार बनाएको छ । पराजुली विराटनगर कांग्रेसका सभापति हुन् । कोइरालाको विरासत भत्काउन एमालेले फोरम लोकतान्त्रिकसँग र माओवादी केन्द्रले संघीय समाजवादी फोरममात्रै नभएर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग समेत गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।

कांग्रेसले आफ्नो ऐतिहासिक विरासत यस पटक पनि जोगाउने दाबी गरेको छ । एमाले–फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम–माओवादी केन्द्र र नयाँ शक्तिको गठबन्धनले मात्र होइन, राप्रपाले समेत यस पटक विराटनगरमा कांग्रेसको विरासत भत्काउने दाबी गरेका छन् ।

एमाले–फोरम लोकतान्त्रिकबाट मेयरमा विनोद ढकाल र उपमेयरमा सूची चौधरी उठेका छन् । ढकाल एमालेका जिल्ला अध्यक्ष हुन् भने चौधरी फोरम लोकतान्त्रिककी नेतृ । माओवादी केन्द्र–संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धनबाट मेयरमा उमेश यादव र उपमेयरमा नमिता न्यौपाने उम्मेदवार छन् । यादव फोरमका पूर्वजिल्ला अध्यक्ष हुन् भने न्यौपाने माओवादी केन्द्रकी केन्द्रीय सदस्य । यहाँ मेयरमा १४ र उपमेयरमा ११ जना उम्मेदवार छन् । कांग्रेस, दुई गठबन्धन र राप्रपाका बाहेक अरू उम्मेदवारहरू खासै चर्चामा छैनन् ।

कोइरालाको विरासत भत्काउन एमालेले सत्तारूढ फोरम लोकतान्त्रिकसित र संघीय समाजवादी फोरमले एकीकृत माओवादीबाट फुटेका माओवादी केन्द्र र नयाँ शक्ति दुवैसित गठबन्धन गरेका छन् । कांग्रेसले भने कसैसित गठबन्धन गरेको छैन । कांग्रेस आफू एक्लैले जित्न सक्ने भएकाले गठबन्धन नगरेको दाबी गर्छ भने एमालेले सहज जित हात पार्न फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको दाबी गरेको छ । संघीय समाजवादी फोरमले भने यहाँका मतदाता माओवादी केन्द्रसहितको परिवर्तनकारी शक्तिको पक्षमा भएकाले गठबन्धन गरी उम्मेदवारी दिएको दाबी गरेको छ ।

कांग्रेसले २०१५ देखि हरेकजसो चुनावमा यहाँ आफ्नो पार्टीको वर्चस्व रहँदै आएकाले यस पटक पनि आफ्नै उम्मेदवार विजयी हुने दाबी गरेको छ । कांग्रेसले ०१५, ०४८, ०५६ को संसदीय र ०७० को संविधानसभा चुनाव र ०४९ को स्थानीय चुनाव जितेको थियो ।

एमालेले यहाँ ०५१ को संसदीय र ०५४ को स्थानीय चुनाव जितेको थियो । एमालेका उम्मेदवार ढकालले यहाँ आफ्नो पार्टीको सांगठनिक आधार राम्रो रहेको उल्लेख गर्दै यस पटक ०७० को चुनावमा महानगरमा पर्ने तीन निर्वाचन क्षेत्रमध्ये २ वटामा दोस्रो भएको फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेकाले यस पटक आफ्ना उम्मेदवारले जत्ने दाबी गरे ।

संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार यादवले ०६४ को संविधानसभा चुनावमा महानगरमा पर्ने तीनवटै निर्वाचन क्षेत्र ५, ६ र ७ मा आफ्नो पार्टीले जितेको उल्लेख गर्दै यस पटक अझ परिवर्तनकारी शक्ति माओवादी केन्द्र र नयाँ शक्तिसँग गठबन्धन गरेकाले आफू र आफ्ना गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे ।

कांग्रेस र दुवै गठबन्धनले महानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको सवाल बनाएका छन् । कांग्रेसका उम्मेदवारलाई जिताउन यहाँका पार्टी नेताहरू शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजालले महानगरमा अड्डा जमाएर बसेका छन् । एमाले–फोरम लोकतान्त्रिक गठबन्धनले आफ्नो पक्षमा माहोल बनाउन दुवै पार्टीका अध्यक्ष केपी ओली र विजयकुमार गच्छदारलाई एउटै मञ्चमा ल्याएर चुनावी सभा गर्ने तयारी गरिरहेका छन् । संघीय समाजवादी फोरम–माओवादी केन्द्र गठबन्धनले समेत चुनाव प्रचारमा दुवै पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपेन्द्र यादवलाई एकसाथ ल्याउने रणनीति बनाइरहेका छन् ।

यहाँका झन्डै ६० प्रतिशत मतदाता पहाडिया समुदायका छन् । ४० प्रतिशत मतदाता मधेसी, थारू र मुस्लिम समुदायका छन् । कांग्रेसका मेयर र उपमेयर दुवै र एमालेका मेयरका उम्मेदवार पहाडी समुदायबाट छन् । अरू ठूला पार्टीका पहाडिया उम्मेदवार नभएकाले पहाडी समुदायको धेरै मत कांग्रेस र एमालेमा बाँडिने आँकलन छ । संघीय समाजवादीका यादव र राप्रपाका प्रह्लाद साह मधेसी समुदायमा राम्रो प्रभाव राख्ने उम्मेदवार हुन् । साह शाहीकालमा ०६२ सालमा भएको स्थानीय निर्वाचनमा विजयी मेयर हुन् । मधेसी समुदायको मत यी दुईका अतिरिक्त कांग्रेस र एमालेलाई समेत जाने भएकाले मेयरमा कसको पल्लाभारी हुन्छ भन्ने अनुमान गरिहाल्न गाह्रो छ ।

कांग्रेसका उम्मेदवार पराजुलीले मधेसी, मुस्लिम र आदिवासी जनजाति बाहुल्य भएका वडामा तिनै समुदायबाट वडाध्यक्ष र सदस्यको उम्मेदवारी दिएकाले ती समुदायबाट आफ्नै पार्टीलाई बढी मत आउने दाबी गरे । सबै समुदायमा कांग्रेसको बलियो सांगठनिक आधार नै आफ्नो जितको कारक बन्ने दाबी पराजुलीको छ ।

एमाले मधेस आन्दोलनको विरोधमा रहेको र उनीहरूको माग पूरा गर्न संविधान संशोधनका लागि असहयोगी बनेका कारण उसलाई मधेसी समुदायको मत कांग्रेसलाई भन्दा कम जाने विश्लेषण अरू पार्टीको छ । तर, एमालेका उम्मेदवार ढकालले भने अरू पार्टीले भनेजस्तो मधेसी समुदायमा आफ्नो पार्टी कमजोर नरहेको उल्लेख गर्दै आफूले मधेसी मतदाताको राम्रै मत पाउने दाबी गर्छन् । ‘हाम्रो पार्टीमा मधेसी कार्यकर्ता जति थिए, ती सबै अहिले पनि इन्ट्याक्ट छन्, मधेसी समुदायबाट हाम्रो पार्टीलाई सम्मानजनक मत आउँछ,’ ढकालले भने, ‘एमालेको बलियो सांगठनिक आधार र फोरम लोकतान्त्रिकसितको गठबन्धन नै मेरो जितको आधार बन्नेछ ।’

संघीय समाजवादी फोरमका उम्मेदवार यादवले ०६४ सालको संविधानसभा चुनावमा यहाँका तीनवटै निर्वाचन क्षेत्र आफ्नो पार्टीले जितेको र माओवादी केन्द्र तथा नयाँ शक्तिसित गठबन्धन गरेकाले आफ्नो पार्टीले जित्ने दाबी गर्छन् ।

राप्रपाका उम्मेदवार प्रह्लाद साहले आफूलाई मधेसी समुदायले आशा र विश्वासको केन्द्रका रूपमा हेर्ने गरेको र पहाडी समुदायभित्र आफ्नो विकासप्रेमी पहिचान बनेको दाबी गर्दै त्यो नै आफ्नो जितको आधार बन्ने दाबी गरे ।

एमालेमा विवाद
एमालेका मेयरका उम्मेदवार ढकाललाई लिएर पार्टीभित्र विवाद देखिएको छ । यहाँ ढकाल र एमालेका पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी मेयरको उम्मेदवार दाबेदार थिए ।

ढकाललाई केन्द्रले उम्मेदवार बनाएपछि रेग्मीले आफ्नी पत्नी सावित्रा रेग्मीलाई उपमेयरमा उम्मेदवार उठाउन खोजेका थिए । तर, पार्टीले फोरम लोकतान्त्रिकसित गठबन्धन गरी उपमेयर छाडेपछि आफ्नी पत्नीलाई उम्मेदवार बनाउन नपाएकामा रेग्मी असन्तुष्ट छन् । रेग्मीको सहयोग ढकालले नपाउने हुन् कि भन्ने आशंका छ । ढकाल पार्टी अध्यक्ष केपी ओली र रेग्मी वरिष्ठ नेता माधव नेपाल पक्षका हुन् । ढकालले एमालेको ६ महिनाअघि भएको अधिवेशनमा मोरङको जिल्ला अध्यक्षमा रेग्मीलाई हराएका थिए ।

ढकालले भने एमालेभित्रको विवाद मिलिसकेको र रेग्मीसहित सबैले अनुशासित भएर आफू र आफ्नो गठबन्धनको उम्मेदवारलाई जिताउन लाग्ने दाबी गरे ।

सबै पार्टीका एजेन्डा समान
यहाँ पार्टी र उम्मेदवार फरक भए पनि सबैको एजेन्डा र नारा उही छन् ।

कांग्रेस, दुवै गठबन्धन र राप्रपासहित सबै उम्मेदवारले विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउने, सुक्खायाममा धुलाम्मे र वर्षामा हिलाम्मे हुने यहाँका सडकलाई कालोपत्रे गर्ने, फराकिलो बनाउने, खानेपानी समस्या समाधान गर्ने, रुग्ण कोसी अञ्चल अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न बनाउने, सामुदायिक शिक्षाको गुणस्तर बढाउने, पार्क र खेलमैदान बनाउने, विराट राजाको दरबारलाई संरक्षण र संवद्र्धन गरी धार्मिक पर्यटनको विकास गर्ने, औद्योगिक महानगर बनाउने, विपन्नलाई वर्गलाई उत्थान गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने वाचा जनताको घरदैलो अभियानमा र प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

आरोप–प्रत्यारोप
पहिला मुलुककै दोस्रो ठूलो र औद्योगिक सहर मानिने विराटनगर अहिले खस्किएको र धेरै समयपछि मात्र महानगर भएकामा कांग्रेस र दुवै गठबन्धनले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

धेरै पटक जितेको कांग्रेस र कांग्रेसकै गिरिजाप्रसाद कोइराला लामो समय प्रधानमन्त्री हुँदा पनि विराटनगरको विकास र समृद्धिलाई बेवास्ता गर्दा यो औद्योगिक सहरको पहिचान गुम्न लागेको र दोस्रो ठूलो सहरबाट पाँचौं/छैटौंमा झरेको दाबी एमाले गठबन्धनका उम्मेदवार ढकालले गरे । माओवादी–संघीय समाजवादी फोरमका उम्मेदवार यादवले भने लामो समय सत्तामा रहेका कांग्रेस र एमालेले विराटनगरमा खासै काम नगरेकाले यो सहर पछाडि परेको दाबी गरे ।

कांग्रेसका उम्मेदवार पराजुलीले भने गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै विराटनगरमा सडक लगायतका धेरै पूर्वाधारको विकास भएको र त्यसपछिका सबै कम्युनिस्ट प्रधानमन्त्रीले यहाँ केही पनि नगरेकाले यो सहर पछाडि परेको दाबी गरे ।

प्रकाशित : असार ६, २०७४ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?