३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गृहमन्त्री रात्रि चुनावी सभामा

प्रशासनले ८ बजेपछि सभा गर्न रोक लगाए पनि गृहमन्त्रीले राति १० बजे कार्यक्रम सम्बोधन गरे
ठाकुरसिंह थारू

बाँके — गृहमन्त्री जनार्दन शर्मा सोमबार राति खजुरा गाउँपालिका रनियापुरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भए । राति १० बजेसम्म चलेको सभालाई सम्बोधन गर्दै उनले पार्टीका उम्मेदवाहरूलाई जिताउन आग्रह गरे ।

गृहमन्त्री रात्रि चुनावी सभामा

निर्वाचन आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी राति ८ बजेपछि चुनावी सभा गर्न रोक लगाएको छ । तर, गृहमन्त्री शर्माले भने राति १० बजेसम्म सभालाई सम्बोधन गरेको माआवादी केन्द्रका नेताहरूले नै स्वीकारे ।

प्रदेश नम्बर ५ का ५ जिल्लाको सुरक्षा अधिकारीहरूको समीक्षा बैठकमा सहभागी हुन आएका उनी साँझ करिब साढे ७ वजेसम्म नेपालगन्जमै व्यस्त थिए । समीक्षा बैठकपछि उनले पत्रकार भेटघाट कार्यक्रममा सहभागी भए । राति करिब ८ वजे रनियापुरमा आयोजित कार्यक्रमका लागि हिँडेको स्रोतले जनायो ,। माओवादी केन्द्रका नेताहरूले गृहमन्त्री शर्माका लागि छुट्टै गाडीको व्यवस्था गरेका थिए । सरकारी गाडी नेपालगन्जमै छाडेर चुनावी सभामा हिँडेको जानकारी पाएपछि सुरक्षाका लागि प्रहरीले स्कर्टिङ गरेको थियो ।

‘चुनावी सभामा जाँदा मन्त्रीज्यूले सरकारी गाडी प्रयोग गर्नु भएन । उहाँका लागि छुट्टै गाडी व्यवस्था गरिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँ कार्यक्रममा सहभागी हुँदासम्म त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।’

गृहमन्त्री शर्मा चुनावी सभामा जाने पूर्वनिर्धारित कार्यक्रम भने तय गरिएको थिएन । आफ्नो पार्टीको पक्षमा चुनावी महोल बनाउन जिल्लाका नेताहरूले कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए । तर, स्थानीय प्रशासनलाई भने रनियापुरको चुनावीसभाबारे जानकारी गराइएको थिएन । गृहमन्त्री शर्माले कार्यकर्ता भेट्न केही समयका लागि बाहिर जान थालेको जानकारी भने दिइएको एक अधिकारीले बताए । ‘आएका बेला नेताहरूले आफ्ना पार्टीका जिल्ला नेता, शुभचिन्तक तथा कार्यकर्ता भेट्न जानु स्वाभाविक हो । तर, रनियापुरको चुनावी सभा पूर्वनिर्धारित हो/होइन हामीलाई जानकारी छैन,’ ती अधिकारीले भने, ‘भोलिपल्ट मात्रै त्यहाँ भएको सभाबारे सामाजिक सञ्जालबाट जानकारी पायौं ।’

माओवादी केन्द्रका अध्यक्ष आईपी खरेललले चुनावी सभा गरेको स्वीकार गरे पनि निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताए । उनले गृहमन्त्री नेपालगन्ज आएको अवसर छोपेर चुनावी सभामा लगेको जनाए ।

‘आफ्नो गाडीमा लगेका छौं । राज्यको सम्पत्ति प्रयोग गरेका छैनौं,’ उनले भने ।

प्रकाशित : असार ७, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?