कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षकको कुटाइले हात भाँचियो

पाल्पा — विद्यार्थीबीचको झगडालाई लिएर प्रधानाध्यापकले यातना दिँदा एक विद्यार्थीको हात भाँचिएको छ । तानसेन–११ बन्दीपोखरास्थित गार्गी माविका प्रअ यादवप्रसाद घिमिरेको कुटाइबाट कक्षा ४ मा अध्ययनरत १३ वर्षीय विक्रम बम्रेलको हात भाँचिएको हो ।

शुक्रबारको घटना भए पनि सार्वजनिक भने सोमबार भएको हो । ‘आपसमा चल्ने क्रममा एक केटी साथीलाई अलि बढी लाग्यो,’ घाइतेले भने, ‘उनले हेडसरलाई भनेपछि मलाई अफिसमा बोलाएर यातना दिइयो ।’ कार्यालयमा बोलाएर कुखुरा बनाउने, हातले पिट्ने, गर्धनमा समाएर अचेट्ने गर्दा दाहिने हात ‘पिटिक्क’ गरेको सुनेको उनले बताए । एकछिनपछि हात सुन्निएपछि प्रधानाध्यापक घिमिरे र अर्का शिक्षकले उपचार गर्न अस्पताल लगेका थिए ।

घाइते विक्रमका अनुसार प्रअले अस्पतालले उपचार नगर्ने भएकाले लडेर आएको भन्न लगाएका थिए । तर, उनले सरले कुटेर यस्तो भएको अस्पतालमा बताएका थिए । प्रअ घिमिरेले विद्यार्थीलाई अनुशासनमा राख्ने क्रममा घटना भएको स्वीकारे । तर, उनले चिप्लिएर लडदा हात भाँचिएको हुन सक्ने बताए । ‘मैले पिटेर भाँचिएको भन्ने आरोप मात्र हो,’ उनले भने ।

प्रजिअ बाबुराम गौतमले शिक्षा कार्यालयमा सोधपुछ गरेपछि घटना बाहिर आएको हो । शिक्षाका सूचना अधिकारी महेन्द्र सुवेदीले घटनाबारे प्रजिअमार्फत थाहा पाउनासाथ बुझ्न लगाएको बताए । शिक्षाका गुनासो सुन्ने अधिकारी रेशललाल न्यौपाने भएकाले उहाँमार्फतै घटनाबारे सोधपुछ भइरहेको छ । न्यौपानेले मंगलबार विद्यालय निरीक्षक गुनाराम खनाल र स्रोत व्यक्ति लक्ष्मी ढुंगानालाई अनुसन्धानका लागि खटाएको बताए ।

प्रअले पटकपटक गल्ती गरेको भन्दै आक्रोशित अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेका थिए । सर्वपक्षीय सहमतिमा मंगलबारदेखि ताला खोलेर पढाइ सुचारु भएको छ । अभिभावकले यसअघि ९ विद्यार्थीलाई यातना दिइएको बताए । अधिकांश पीडितले घटना बाहिर ल्याउन सक्दैनन् । ‘यस्ता घटना अहिले मात्र होइन धेरैपटक भइसकेको छन्,’ एक शिक्षिकाले भनिन्, ‘कसैले उजुरी गरेनन् ।’ यसअघि पनि एक विद्यार्थीको हात भाँचिएको थियो । अधिकांश विद्यार्थीले आफूहरू प्रधानाध्यापकको यातना सहनुपरेको गुनासो गरे । प्रधानाध्यापक घिमिरेको यातना सहन बाध्य भएको एक विद्यार्थीले बताए । ‘म कक्षा ४ मा पढदा हेडसरको कुटाइले ३० मिनेट बेहोस् भएको हुँ,’ उनले भने ।

शुक्रबार साढे ११ बजेतिर प्रअले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । विक्रमले यादव सरले दुवै गालामा हानेको र कुलप्रसाद सरले हात बाँधेर भित्तामा ठोक्काएको बताए । घटनाबारे विद्यालयबाट विक्रमको घरमा खबर गरिएको थिएन । दाइको हात भाँचिएको भन्ने छोरीले खबर घरमा पुर्‍याएकी थिइन् । आमा विष्णु बम्रेलले भनिन्, ‘थाहा पाएर विद्यालय जाँदा सरहरू ढोका थुनेर बैठक बसेका थिए ।’ उपचार गर्न पाल्पा जिल्ला अस्पतालमा लगेका हुन् । ‘हामी पुग्दा एक्सरे देखाँउदै थिए,’ उनले भनिन्, ‘यहाँ हुन्न मिसन लैजानुपर्छ भनेका थिए ।’

प्रकाशित : असार ७, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?