सीमामा संयुक्त गस्ती

दशगजामा सशस्त्र र एसएसबी सँगै
भवानी भट्ट

कञ्चनपुर — महाकाली नगरपालिकामा स्थानीय तह चुनाव सुरक्षा मध्यनजर गर्दै सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन् ।

नेपाल–भारत सीमा क्षेत्रा पर्ने महाकालीपारिको करिब २२ किमि दशगजा क्षेत्रमा संयुक्त गस्ती भइरहेको सीमा सुरक्षा पोस्ट दोधाराका इन्चार्ज सशस्त्र इन्स्पेक्टर फणीन्द्र शाहीले बताए । उनका अनुसार एसएसबीका विभिन्न युनिटसँग मिलेर दिनहुँजसो संयुक्त गस्ती भइरहेको छ ।

‘सशस्त्र र एसएसबी मिलेर दशगजामा नियमित संयुक्त गस्ती भइरहेको छ,’ शाहीले भने, ‘यसले दशगजाको सुरक्षासँगै चुनावी सुरक्षामा पनि सघाउ पुग्छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि पनि नियन्त्रण हुन्छ ।’ उनले एसएसबीको ४९ र ५७ बटालियनसँग मिलेर संयुक्त गस्ती भइरहेको बताए ।

८ नं. सीमा स्तम्भदेखि २२ नम्बरसम्मको २२ किमिमा एसएसबीका १२ पोस्ट छन् । एउटाले १ देखि ३ किमिसम्म हेर्छ । सशस्त्रले त्यहीअनुसार संयुक्त गस्ती गरिरहेको शाहीले बताए । उनका अनुसार दोधाराचाँदनीमा चुनावअघि संयुक्त गस्ती हुने गरेको थियो । ‘विगतमा कहिलेकाहीं हुन्थ्यो, अहिले दिनहुँजसो भइरहेको छ’ उनले भने । दोधाराचाँदनीमा चुनावका लागि खटिएका नेपाली सेना, म्यादी, नेपाल प्रहरी र सशस्त्र मिलेर आन्तरिक रूपमा पनि संयुक्त गस्ती भइरहेको शाहीले बताए ।

गत साता महेन्द्रनगरमा सम्पन्न सुरक्षा निकायहरूको संयुक्त बैठकमा समेत चुनावी सुरक्षासँगै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती गर्ने सहमति भएको थियो ।

बैठकमा भारतीय पक्षबाट उत्तराखण्डका चम्पावत र उद्यमसिंह नगर तथा उत्तरप्रदेशको पिलिभित जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । नेपालका तर्फबाट कञ्चनपुरका प्रजिअसँगै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

विगतका चुनावमा पनि सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन् । सीमा क्षेत्रका सुरक्षा निकायको संयुक्त बैठक गरी सुरक्षा अवस्थाबारे छलफल हुने गरेको छ । सीमा नाका सिल गर्ने विषयमा पनि संयुक्त बैठकमै छलफल हुने गरेको छ । यसपटक पनि चुनाव हुने समयभन्दा ४८ घण्टाअघिदेखि सीमा बन्द हुने भएको छ । असार १२ गते बिहानदेखि १४ गते साँझसम्म सीमा बन्द हुने निर्णय संयुक्त सीमा बैठकले गरेको छ ।

प्रकाशित : असार ७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?