१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

४ ठाउँमा कांग्रेसका बागी

एमाले र माओवादी मौका छोप्ने दाउमा
खड्का र गिरीले आफ्नो पक्ष नभएको ठाउँमा बागी उठाए
दुर्गालाल केसी

दाङ — चार स्थानीय तहमा कांग्रेसका बागी उम्मेदवार भएपछि एमाले र माओवादी केन्द्र मौका छोप्ने दाउमा लागेका छन् । उम्मेदवार छनोटदेखि नै असन्तुष्ट कांग्रेस नेतालाई फकाएर मत आफ्नो हातमा पार्न एमाले, माओवादी लागिपरेका छन् ।

०७० को संविधानसभा निर्वाचनमा पाँचवटै क्षेत्र जितेको कांग्रेसले स्थानीय तहमा विरासत बचाउन ठूलै मिहिनेत गरिरहेको छ तर उम्मेदवार छनोटमा केन्द्रीय सदस्यहरू खुमबहादुर खडका र दीपक गिरीको तानातान बागी उम्मेदवारीसम्म पुगेको छ । दबाबबीच पनि चार स्थानीय तहमा कांग्रेस नेताहरूले बागी उम्मेदवारी दिएका छन् । लमही नगरपालिका प्रमुखमा डिल्लीबहादुर खडका, गढवा गाउँपालिका अध्यक्षमा डिल्ली आचार्य, शान्तिनगर गाउँपालिका अध्यक्षमा हेमन्त योगी र बबई गाउँपालिका अध्यक्षमा टेकबहादुर पुरी बागी बनेका छन् ।

नेता खडकाले उम्मेदवार छनोट र बागी तयार गर्नेमा हस्तक्षेपकारी भूमिका खेलेको गुनासा आएको छ । उम्मेदवार चयनमा खडकाले आफूले हात पार्न नसकेका तहमा बागी उम्मेदवार उठाएका छन् । केन्द्रमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षको भागबन्डा भए पनि जिल्लामा खडका र गिरी पक्षको द्वन्द्व छ ।

लमहीमा बागी भएका खडका ०५४ को स्थानीय निर्वाचनमा सतबरिया गाविस अध्यक्ष भएका थिए । उनी खुमबहादुरका भाइ नाता पर्ने हुन् । गढवाका बागी आचार्यले ०५४ मा बागी उठेर गंगापरस्पुर गाविस अध्यक्ष जितेका हुन् । शान्तिनगरका योगी पनि खडका निकट हुन् । बबईका पुरी ०४९ को चुनावमा अध्यक्ष भएका थिए । ०५४ मा पनि उनी अध्यक्षका उम्मेदवार थिए । बबईमा उपाध्यक्षमा पनि कांग्रेसबाट टेकबहादुर भण्डारी बागी उठेका छन् ।

गिरी पक्षका उम्मेदवार भएका पश्चिम दाङका सबै निकायमा खडका पक्षले बागी दिएको छ ।
यसैगरी ०५४ मा एमालेबाट पुरन्धारा गाविस अध्यक्ष बनेका बलिभद्र ओली अहिले बबईमा राप्रपाबाट अध्यक्ष उठेका छन् । कांग्रेसमा बागी उम्मेदवार भएर उत्साहित भएको एमाले यसबाट थोरै हच्किएको छ ।

कांग्रेसले अन्य तहमा मिलाउन नसके पनि घोराही र तुलसीपुर उपमहानगरपालिकालाई भने बागी हुनबाट बचाएको छ । ०६४ को संविधानसभा निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्र जितेको माओवादीले पनि पुरानो ठाउँमा फर्कन ठूलै मिहिनेत गरिरहेको छ ।

सदरमुकाम घोराहीमा १३ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट दोर्णराज भण्डारी र सुशीला आचार्य वैद्यले प्रमुखमा उम्मेदवारी दिएका छन् । उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये स्वतन्त्रबाट ठाकुरप्रसाद महरा, रमेशकुमार आचार्य र मञ्जु शर्माले उम्मेदवारी दिएका हुन् ।

घोराही प्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगी, एमालेबाट नरुलाल चौधरी र माओवादी केन्द्रबाट जीवन गौतम प्रतिस्पर्धामा छन् । यसैगरी उपप्रमुखमा कांग्रेसबाट पुष्पा श्रेष्ठ, एमालेबाट सीता न्यौपाने र माओवादी केन्द्रबाट सीता चौधरीले प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसका डाँगी क्षेत्रीय सभापति हुन् ।
एमालेका चौधरी एमाले पूर्व जिल्ला अध्यक्ष र ०५४ मा रामपुर गाविस अध्यक्ष हुन् । माओवादीका गौतम पार्टी जिल्ला इन्चार्ज छन् । घोराहीमा तीनै पार्टीबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसबाट गेहेन्द्र गिरी, एमालेबाट घनश्याम पाण्डे र माओवादी केन्द्रबाट शेसुराम भण्डारीले प्रतिस्पर्धा गर्दै छन् । उपप्रमुखमा कांग्रेसबाट देविका नेपाली, एमालेबाट माया आचार्य र माओवादी केन्द्रबाट सीता ओली उम्मेदवार बनेका छन् ।

कांग्रेसका गिरी पूर्वसांसद र पार्टी पूर्व जिल्ला सभापति हुन् । एमालेका पाण्डे सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं तुलसीपुरका पूर्वउपमेयर हुन् । तुलसीपुरमा गिरी र पाण्डेबीच नै टक्कर देखिन्छ ।

प्रकाशित : असार ७, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?