१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

प्रहरी संगठनभित्र गुटबन्दी गरे कारबाही : गृहमन्त्री शर्मा

भरतपुर — गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई अनुशासित र मर्यादित बनाउनु पर्ने स्पष्ट पार्दै संगठनभित्र गुट-उपगुट, राजनीतिक गन्ध, गुटबन्दी गरेको पाइए राज्यलाई स्वीकार्य नुहने र त्यस्तामा संलग्नलाई कारबाही गर्ने चेतावनी दिए ।

प्रहरी संगठनभित्र गुटबन्दी गरे कारबाही : गृहमन्त्री शर्मा

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा बुधबार प्रहरी सहायक निरीक्षकको आधारभूत तालिमको १७३औं दीक्षान्त समारोहमा बोल्दै मन्त्री शर्माले प्रहरी संगठनभित्र गुट-उपगुटसहितको राजनीति राम्रो नहुने बताए । मन्त्री शर्माले कर्तव्य पालनाका क्रममा प्रहरी महानिरीक्षक र प्रहरी जवानको उद्देश्य एउटै रहेको बताए । उनले प्रहरीका बारेमा धेरै नकारात्मक टिप्पणीहरु आउने गरेकाले अनुशासित र जनताको विश्वासिलो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

प्रहरी संगठनभित्र राजनीतिक गन्ध, गृटबन्दी र विभाजन आफूलाई कुनैपनि हालतमा सह्य नहुने भन्दै त्यस्ता कार्यमा प्रहरी संलग्न भएमा कारवाही गर्ने चेतावनी दिए । मानवअधिकारको रक्षा र निष्ठापूर्वक काम गर्न उनले दीक्षित प्रहरी सहायक अधिकृतहरुलाई निर्देशन दिए । उनले सिपाहीदेखि प्रहरी महानिरीक्षक सबै चेन अफ कमाण्डबाट प्रहरी संगठन सञ्चालन गर्नुपर्ने बताए । तालिममा सहभागी १ सय ५० जना प्रहरीले प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरी कार्य क्षेत्रमा प्रवेश गरेका छन् । 

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी सदैव राष्ट्र र जनताको सेवामा समर्पित रहेको बताए । दीक्षान्त समारोहपछि प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले टिकापुर घटनाका बारेमा पीडितलाई न्याय दिलाउन सरकार कटिबद्ध रहेको बताए । उक्त घटनाका योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले ठूलो रकम दिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री शर्माले घुमाउरो पाराले टिकापुर घटनामा कसैलाई अन्याय नुहने तथ्यहिन जवाफ दिए ।

खुसीको माहोल
कार्यक्रमपछि प्रहरी सहायक निरीक्षकको फुली लगाउने बेला अभिभावकहरु निकै खुसी देखिएका थिए । उनीहरु आफ्ना छोरा छोरीलाई फूलमाला अबिर र मिठाई खुवाएर स्वागत गरेका थिए । केही घण्टासम्म कार्यक्रमस्थल निकै रोमाञ्चक बनेको थियो । अभिभावक र उनीहरुबीच खुसी साटासाट गरेका थिए ।

प्रकाशित : असार ७, २०७४ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?