१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चुनावी दौडाहामा दाहाल

बाँके — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पश्चिम तराईका जिल्लामा चुनावी दौडाहामा छन् । पार्टीका उम्मेदवारलाई जिताउन उनलाई चुनावी सभामा सहभागी हुन भ्याइनभ्याई छ । उनी बिहीबार बाँकेका चार चुनावी सभामा सहभागी भए ।

चुनावी दौडाहामा दाहाल

सडक कालोपत्रे, ग्रामीण क्षेत्रमा छोटी भन्सार स्थापना, लोडसेडिङ हटाउने, नेपालगन्जलाई महानगरपालिका बनाउनेदेखि अभिभावक बन्ने सपना बाँडे । खजुरा गाउँपालिका सीतापुरको चुनावी सभामा उनले सडक कालोपत्रे र सीमामा छोटी भन्सार राख्ने बताए । ‘हाम्रो उम्मेदवारलाई जिताउनुभयो भने खजुरा गाउँपालिकाका सडक कालोपत्रे हुन्छन् ।

सीतापुरपछि नेपालगन्जको त्रिचुवन चोकमा सहभागी भएका अध्यक्ष दाहालले विकासका क्रममा पछाडि परेको नेपालगन्जलाई महानगरपालिका बनाउने उद्घोष गरे । तर, त्यसका लागि आफ्ना पार्टीका मेयर पदका उम्मेदवारलाई जिताउने सर्त राखे । मुस्लिम र मधेसी मतदाता बाहुल्य रहेको नेपालगन्जको राजनीतिक तरल अवस्था बुझेका उनले अभिभावक बन्न तयार रहेको प्रतिबद्वता जनाए । उनले पूर्वप्रधानमन्त्री र कांग्रेसका सभापति सुशील कोइराला स्वर्गीय भएपछि केन्द्रसँग जोड्ने नेताको अभाव रहेको प्रसंग सुनाए । ‘अहिले नेपालगन्जवासीलाई लागेको होला केन्द्रसम्म नेपालगन्जको पहुँच टुटेको छ । तर त्यसो होइन, मैले तपाईंहरूको अभिभावकत्व ग्रहण गरेको छु’, उनले सभालाई सम्बोधन गर्दै भने, ‘नेपालगन्जलाई महानगर बनाउँछु । शैक्षिक, स्वास्थ्य, आर्थिक र पर्यटनको हब बनाउने प्रयास मेरो रहन्छ । तर, मेयरमा जिताउनुस् ।’

यहाँ रहेको हवाई अड्डाको स्तरोन्नति गरी नेपालगन्जबाट सीधै दिल्ली, देहरादुनसम्म उडान गराउने प्रयासमा लाग्ने उनले बताए । ‘यसले भारतबाट नेपालगन्जमा पर्यटक आउने क्रम बढ्नेछ,’ अध्यक्ष दाहालले भने, ‘आर्थिक विकासका लागि यहाँ उद्योगहरू स्थापना गरिने छ ।’

त्यसलगत्तै उनले कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका चुनावी सभालाई सम्बोधन गरे । अध्यक्ष दाहाल बिहीबार साँझ बर्दियाको चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । बर्दियापछि उनले ७ नम्बर प्रदेशका चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

‘स्थानीय तह जनसरकारको वैधानिक रूप’
गुलरिया– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह जनयुद्ध कालमा चलाएको जनसरकार र जनसत्ताको वैधानिक रूप भएको बताएका छन् । दाहालले बिहीबार बर्दियाको मनिकापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालकै इतिहासमा पहिलोपटक आफूहरूले संविधानबमोजिम जनसरकारको चुनाव गर्न लागेको बताएका हुन् ।

प्रकाशित : असार ९, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?