१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दक्षिणी रामेछापमा खडेरी- पाखोका मकै सुके, रोपाइ २३ प्रतिशत मात्रै

टीकाप्रसाद भट्ट

रामेछाप — गाउँ नजिकैबाट बग्ने तामाकोशी नदीमा भेल उर्लेंदो छ । नदी किनारका खेत डुवानमा परेका छन । नदीभन्दा थोरै माथिका खेत तथा बारीहरु सुख्खा छन् । वन–बुट्यानहरु सुक्न थालेका छन् । झारपातको कुरै छोडौं हजारौं खर्चेर छरेका मकै बारीमै सुकेका देखिन्छन् ।

दक्षिणी रामेछापमा खडेरी- पाखोका मकै सुके, रोपाइ २३ प्रतिशत मात्रै

‘असारको खडेरी यति लामो परेको यो पहिलो पटक होला,’ मन्थली–२ का चोकबहादुर खडाले भने । खडाका अनुसार किसानहरुले बारीमा नै मकै सुकेपछि उखेल्न थालेका छन् । सुकेर डड्नुभन्दा केही दिन भएपनि बस्तुलाइ घाँस हुन्छ भनेर बारीको मकै उखेल्नेहरु बढ्दै छन् । दक्षिणी रामेछापका सुनारपानी, मन्थली, भटौली, पकरवास, भलुवाजोर र कठजोरको ठुलीमदौ क्षेत्रमा खडेरीको असर धेरै छ । 

झण्डै एक महिना देखि उक्त क्षेत्रमा पानी परेको छैन । भिरपानी, मझुवा, खनियापानी, गागल, माकादुम, राकाथुममा पनि खडेरीको असर छ । जिल्लाका उच्च पहाडी भेगमा भने वर्षा भइरहेको छ । 

आकाशमा बादल मडारिएको धेरै भयो । मौसमविदहरुले मनसुन नेपालमा प्रवेश गरेको सूचना संचारमाध्यमबाट दिएको पनि केहि हप्ता पुग्यो । तर अझै मनसुनले मन्थली देखेको छैन । वरीपरीका डाँडामा पानी बर्सिएको देखिन्छ । त्यो पनि केही क्षण । पानी झरी हालेमा पनि मनग्ये भिज्ने गरी पानी परेको छैन अनि पर्ने संकेत पनि छैन ।
  
वर्षाको पानीको भरमा एकबाली लगाएर जाहान पाल्नेहरु प्रकृतिलाइ धिक्कारीरहेका छन् । सालुका बासिन्दाले देउता रिसाएको भन्दै केहि दिन अघि पानी माग्दै कोटीहोम गरे । केहिले देव–देविको मन्दिरमा भाकल गर्दै पुजा गरीरहेका छन् । तर पानी परेको छैन । 

‘यो वर्ष सुकायो,’ सुनारपानीका गोविन्दबहादुर सार्कीले भने । भएको बिउ बारीमा फालियो, दिनको २ हजारको दरले गलीगोरु किनेर पैसा पनि सकियो सार्की भन्छन्, ‘अब पानी परेर न बिउ पाइन्छ न अब छरेको केहि फल्छ ।’
 
खेत हुने किसानले सुरुवुरु अन्न घर भित्र हुलेका छन् । पाखो जग्गाको मात्र भर हुनेहरुले आउने भदौमा एक गेडो पनि अन्न हुल्ने अवस्था छैन । ‘मकै हुन्थ्यो र पो खोले पिठो खाएर आधा वर्ष कटाइन्थ्यो,’ सार्कीले भने, ‘अब सबै ज्याला मजदुरी गरी जाहान पाल्नुपर्ने बाध्यता भयो । बिहान जिल्ला सदरमुकाम झर्नेहरु बेलुका पोकामा सामान बोकेर फर्के भने मात्र पेट भरिने भो ।’
 
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत आफ्नो क्षेत्रमा प्रकृतिले धोका दिएको बताउँछन् । ‘आकाशमा कालो बादल मडारिन्छ, पानी झर्दैन,’ बस्नेतले निराशा पोखे । मन्थली नगरपालिकाले सुख्खा क्षेत्रमा के कस्ता योजना ल्याउने बारेमा छलफल चलाउन थालेको उनले बताए । ‘सानो र थोरै पैसाले सुख्खा क्षेत्रमा योजना ल्याउन सम्भव छैन । सर्वत्र उजाड बनेको छ ।  खानेपानीका मुलहरु सकेका छन् । सदियौं देखिका वस्ती उजाड बनेका छन् । सर्वसाधारणहरु गाडीमा पानी बोकाएर प्यास मेटाउन बाध्य छन्,’ उनले भने ।
 
जिल्ला कृषि विकास कार्यालयले खडेरीको प्रभावले जिल्लाको कृषि क्षेत्रमा ठुलो असर पुगेको जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लका अनुसार असार २८ बितिसक्दा जिल्लामा जम्मा २३ प्रतिसत मात्र धान रोपाइ भएको छ । खडेरीले खोला नाला पलाएका छैनन् । किसानहरु पानी पर्ला र खेत रोपौंला भनेर पर्खेका छन् । रोपाइको तथ्यांक संकलन गर्दै आएको उक्त कार्यालयले पाखो बारीमा खडेरीले पुर्‍याएको असरका बारेमा तथ्यांक लिइसकेको छैन । 

‘मकै सुकेको गुनासोहरु आइरहेका छन्,’ मल्लले भने, ‘यति नै सुक्यो भन्ने तथ्यांक हामीले लिन सकेका छैनौं ।’

प्रकाशित : असार २८, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?