कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रामेछापको खिम्तीक्षेत्रमा भीषण बाढी, १ को मृत्यु ४ वेपत्ता

२ घर बगायो, उद्धारमा कठिनाइ
टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाएर १ जनाको ज्यान गएको छ भने ४ जना वेपत्ता भएका छन् । बाढीबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकमा स्थानीय ७५ वर्षीया बालकुमारी खत्री रहेकी छन् । घाइतेका उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।

रामेछापको खिम्तीक्षेत्रमा भीषण बाढी, १ को मृत्यु ४ वेपत्ता

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका २ घर समेत बगेका छन् । ती घरमा कति जना थिए त्यसको एकिन अझै भइसकेको छैन । शनिबार दिउँसो देखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवनेमा बाढी बढेको थियो ।

स्थानीय गणेश दाहालका अनुसार खिम्ती बजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ । बजारमा पार्किङ गरेका सवारी साधनमा पनि बाढीले क्षति पुर्‍याएको छ । खहरेपुल निर्माणाधिन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो ।

खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरे पनि बाटोका कारण अझै प्रहरी त्यहाँ पुग्न सकेको छैन । प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलसहितको टोली खिम्तीतर्फ गएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । उनले घटनास्थलमा पुग्ननै कठिनाइ भएको बताएका छन् । घटनास्थलमा पुगेपछि उद्धार र राहतको कामलाई तीव्रता दिने उनले बताए ।

खिम्ती र फर्पु क्षेत्र जिल्लाका बाढी प्रभावित उच्च जोखिममा पर्ने क्षेत्र हुन् । खिम्तीमा चार वर्षअघि बाढीले ८ जनाको ज्यान लिएको थियो भने सडक पुलजस्ता पूर्वाधार बगाएको थियो ।

प्रकाशित : श्रावण १, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?