मुलुकलाई पुरानै बाटोमा फर्काउन राष्ट्रपति प्रयोग हुनसक्छ : मानवअधिकारकर्मी पहाडी
काठमाडौं — मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपाली सेनाको माथिल्लो तहमा रहेका केही नेतृत्वहरुले मुलुकलाई पुरानै बाटोमा फर्काउन चाहिरहेको दाबी गरेका छन् । साथै उनले सेनाले सञ्चारमाध्यममा हात हाल्नु आत्मघाती हुनेसमेत बताएका छन् ।
मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपाली सेनाको माथिल्लो तहमा रहेका केही नेतृत्वहरुले मुलुकलाई पुरानै बाटोमा फर्काउन चाहिरहेको दाबी गरेका छन् ।
'सेनामा रहेका यस्ता व्यक्ति कुनै न कुनै राजनीतिक नेतृत्वलाई प्रयोग गरेर मुलुकलाई पुरानै बाटोमा फर्काउन चाहन्छन्' आइतबार प्रकाशित नेपाल साप्ताहिकमा अन्तर्वार्ता दिँदै पहाडीले भनेका छन्, 'देखिएको हो, कटवाल प्रकरणमा तत्कालीन राष्ट्रपति रामवरण यादव कसरी प्रयोग हुनुभयो !' यादवको त्यही नजीरलाई आधार बनाइ केही राजनीतिक दलको साथ लिएर राष्ट्रपति विद्या भण्डारीले पनि कुनै कदम चाल्न सक्ने उनले आशंका गरेका छन् । बदलाभाव राखेको त्यो सैनिक वर्गले राष्ट्रपतिलाई प्रयोग गर्न सक्ने पनि मानवअधिकारकर्मी पहाडीको भनाइ छ ।
सेनामा अहिले पनि हुकुम प्रमांगीको शैलीमा काम गर्ने अधिकृतहरु रहेको भन्दै पहाडीले उनीहरु परिवर्तनको विपक्षमा रहेको बताए । 'सबैलाई त भन्दिनँ । तर पनि नेपाली सेनाको माथिल्लो तहमा अहिले पनि हुकुमी प्रमांगी शैलीमा काम गर्ने अधिकृतहरु छन् । उनीहरु २०६२/०६३ को परिवर्तनप्रति सकारात्मक छैनन्' अन्तर्वार्तामा पहाडीले भनेका छन् 'उनीहरुमा परिवर्तन र लोकतान्त्रिक नेतृत्वप्रति यदाकदा बदलाको भावना अझै पनि छ ।'
अधिकारकर्मी पहाडीले प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यशैली र पछिल्लो समयमै दिँदै आएको अभिव्यक्तिप्रति पनि आलोचना गरेका छन् । 'प्रधानसेनापति जे बोल्दै हिँड्नु भएको छ, त्यो रक्षा मन्त्रालयले भन्नुपर्छ ।' पछिल्लो समयमा सेनापति क्षत्रीले सार्वजनिक रुपमा 'विखण्डनकारीहरु सक्रिय हुँदा नेपाली सेना चुप लागेर बस्दैन' भन्ने अभिव्यक्ति दिएका थिए । मुलुक विखण्डनको एजेन्डा बोकेका सीके राउतको गतिविधिसँगै सेनाप्रमुखबाट यस्तो वक्तव्य आएको पहाडीको बुझाइ छ ।
समृद्ध लोकतन्त्रमा सरकारले सञ्चारमाध्यम चलाउने नभई प्रवर्द्धन गर्नुपर्ने परिस्थितिमा पहाडीले सेनाले एफएम रेडियो सञ्चालन गर्नुलाई सही मान्न नसक्ने तर्क गरे । 'बुझ्नु पर्ने सेनाको नियत हो । भोलि त्यही रेडियोमार्फत नै फलानोलाई प्रधानसेनापति बनाउनुपर्छ भनेर प्रचार गर्न थालियो भने के हुन्छ ? उनले प्रश्न गर्दै भने, 'सेनाले सञ्चारमाध्यममा हात हाल्नु आत्मघाती हुनसक्छ ।'
एफएम सञ्चालनका लागि लाइसेन्स दिनु निर्वाचित सरकार र राजनीतिक दलहरुको कमजोरी भएको उनको ठहर छ । सत्ता साझेदार दल र प्रतिपक्षमा रहेका दलहरु विगतमा आफूले गरेका गलत कामको पर्दाफास हुने डरले सेनालाई नजिक्याउन लागिपरेको पहाडीको आरोप छ ।
प्रकाशित : श्रावण १, २०७४ १७:२०