१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सांसद संख्या थप्ने कुरा अस्वीकार्य : एमाले

‘समयमै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नगर्ने नियत’
पहिलो स्थान ल्याएकोमा बैठकमै केक काटेर खुसियाली

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेले संविधानविपरित प्रतिनिधिसभाका सदस्यहरुको संख्या बढाउने कुरा आफूलाई अस्वीकार्य हुने बताएको छ । गत साता प्रधानमन्त्री निवासमा भएको प्रमुख दल बैठकमा सत्तारुढ दलका नेताहरुबाट निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुभन्दा २ सय ४० निर्वाचन क्षेत्रलाई नै निरन्तरता दिनु उचित हुने मनसाय व्यक्त भएको थियो ।

सांसद संख्या थप्ने कुरा अस्वीकार्य : एमाले

प्रमुख प्रतिपक्षी एमालेले संविधानविपरीत प्रतिनिधिसभाको सदस्य संख्या बढाउने कुरा आफूलाई अस्वीकार्य हुने बताएको छ । गत साता प्रधानमन्त्री निवासमा भएको प्रमुख दलको बैठकमा सत्तारूढ दलका नेताहरूबाट निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुभन्दा २ सय ४० निर्वाचन क्षेत्रलाई नै निरन्तरता दिनु उचित हुने मनसाय व्यक्त भएको थियो । एमाले स्थायी समितिको आइतबारको बैठकमा उक्त विषयमाथि समीक्षा भएको हो । बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने धारणा तय गरेको छ । समयमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नगर्ने नियतबाट यस्तो विषय आइरहेको ठहर एमालेको छ ।

‘समयमै निर्वाचन नगर्ने नियतबाट आएको यस प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर गर्दै हाम्रो पार्टी उक्त कुरा पूर्ण रूपमा अस्वीकार गर्दछ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न संविधानले व्यवस्था गरेअनुरूप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हाम्रो माग हो ।’

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नहुँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारी गर्न नसकिएको भन्दै निर्वाचन आयोगले समेत सरकारको ध्यानाकर्षण गराइरहेको छ । साउन १५ भित्र क्षेत्र निर्धारणको प्रतिवेदन दिइए मात्र संविधानले तोकेअनुसार माघ ७ भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सहज रूपमा सम्पन्न गर्न सकिने जानकारी आयोगले सरकारलाई गराइसकेको छ । संसद्ले पनि क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी ऐन गत चैतमै बनाइसकेको छ । तर सरकारले आयोग गठन गरेको छैन ।

निर्वाचन नतिजाको समीक्षालगायत विषयमा छलफल गर्न बसेको स्थायी समिति बैठकले आइतबारबाट सुरु गरिएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी कमिटीहरूलाई निर्देशनसमेत दिएको छ । सबै नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन एमालेले निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ । असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा पनि पहिलो स्थान ल्याउन एकताबद्ध भएर परिचालित हुन पनि बैठकले पार्टी कमिटीलाई निर्देश गरेको छ । चुनावमा पार्टीका तर्फबाट निर्वाचितहरूलाई एमालेले साउनभित्रै अभिमुखीकरण तथा प्रशिक्षण दिने निर्णय गर्दै बैठकले त्यसका लागि मिति, स्थान र व्यवस्थापन गर्न प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ ।

एमालेले यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशन प्रदेश २ बाहेक अन्य स्थानमा खुला गरेको छ । अध्यक्ष केपी ओली निवासमा भएको बैठकमा स्थानीय चुनावमा पहिलो स्थान हासिल गरेको भन्दै केक काटेर नेताहरूले शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित : श्रावण १, २०७४ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?