कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउन ९ देखि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

अतुल मिश्र

काठमाडौं — प्रा.डा.गोविन्द केसीले आफ्नो दुईसूत्रीय माग पूरा नभए साउन ९ अपराहन ४ बजेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी छन् । चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ सम्मको अल्टिमेटम दिएका केसीले उक्त अवधिमा पनि माग पूरा नभएको भन्दै आफू फेरि सत्याग्रह गर्न बाध्य भएको बताए ।

साउन ९ देखि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

उनले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सारेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डिनको सिफारिसअनुसार तत्काल सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नसमेत उनले माग गरेका छन् ।

आफूसित भएको सम्झौताअनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट पुन: आईओएममा फिर्ता गर्नुपर्ने मागसमेत उनको छ ।

सरकारी निर्देशन र अदालतको आदेश नटेर्ने मेडिकल कलेजहरूको सम्बन्धन तत्काल खारेज गर्नुपर्नेसमेत डा. केसीको माग छ । चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै डा. केसीले सबै निजी कलेजमा एमडी/एमएस र एमडीएस तहको शुल्क चालू शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयसरह कायम गर्न माग गरेका छन् । काठमाडौं विश्वविद्यालयले एमडी/एमएस र एमडीएस तहको शुल्क २२ लाख रुपैयाँ तोकेको छ । आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, अधिकार खोस्ने र नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसमेत केसीको छ ।

प्रकाशित : श्रावण १, २०७४ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?