फर्किए प्रधानसेनापति

काठमाडौं — प्रधानसेनापति राजेन्द्र क्षत्री दुई साता लामो अमेरिका र बेलायतको औपचारिक भ्रमणपछि शनिबार साँझ स्वदेश फर्किएका छन् । उनी असार १६ मा अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।

फर्किए प्रधानसेनापति

उनको भ्रमण दुईपक्षीय सम्बन्ध सुधार र सैन्य सहकार्य अघि बढाउनेमा केन्द्रित रहेको जनाइएको छ । 

नेपाली सेनाले यस प्रकारको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्र राष्ट्रहरूसँग लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुँदै जाने जनाएको छ । प्रधानसेनापति क्षत्रीको भ्रमणले नेपाली सेना–संयुक्त राष्ट्रसंघ र बेलायती सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरू प्रगाढ र सबल बनेको नेपाली सेनाले उल्लेख गरेको छ । क्षत्री असार २३ मा सम्पन्न संयुक्त राष्ट्रसंघको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशका सुरक्षा प्रमुखहरूको दोस्रो सम्मेलनमा सहभागी भएका थिए । उनले त्यहाँ रहँदा नेपाली सेनाले उच्चस्तरमा सहभागिता पाउनुपर्नेमा लबिइङ गरेका थिए । उनले राष्ट्रसंघसित फौजका आधारमा अधिकृतस्तरमा नेपाली सेनाको सहभागिता बढाउन र नेतृत्व तहमा मौका दिनसमेत आग्रह गरेका थिए । उनी उक्त सम्मेलनमा सहभागी भएर बेलायत भ्रमणमा गएका हुन् ।

कर्णेल लामाको मुद्दा किनारा लागेपछि सेना प्रमुखका रूपमा क्षत्री बेलायत पुगेका हुन् । औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका उनले बेलायतसँगको दुई सय वर्षभन्दा पुरानो सम्बन्धलाई स्मरण गर्दै सहकार्यमा जोड दिए । उनले बेलायती सेनाध्यक्षसँग अन्तर्क्रिया गर्दै सहकार्य गरेर विश्व शान्तिमा अघि बढ्ने बताए । क्षत्री र बेलायती समकक्षीबीचको भेटमा सेनाको अधुनिकीकरणमा नेपाललाई बेलायतले गर्ने सहयोगलगायत विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । विमानस्थलमा बलाधिकृत रथी बलदेवराज महत, सेनाका रथिहरु र काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरूले स्वागत गरेका थिए । 

प्रकाशित : श्रावण १, २०७४ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?