मलेठ घटना : मानवअधिकार आयोगभित्रै राय बाझियो

कान्तिपुर संवाददाता

काठमाडौं — मलेठ काण्डबारे कान्तिपुरले चुहाएको राष्ट्रिय मानवअधिकार आयोगको रिपोर्टलाई लिएर आयोगका अधिकारीहरुभित्रै राय बाझिएको छ ।

आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आइतबार एक वक्तव्य जारी गर्दै असार २९ मा प्रकाशित समाचारमा उल्लेख गरिएको गोप्य रिपोर्ट अहिले पनि आयोगमा विचाराधीन अवस्थामै रहेको दाबी गरिएको छ । तर आयोगकै एक उच्च अधिकारीले २९ जेठमा प्राप्त उक्त रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषदो कार्यलयमा एक साताअघि नै पठाइसकेको जानकारी दिए । उक्त प्रतिवेदन सिंहदरबारस्थित कानुन शाखामा दर्ता भएको ती अधिकारीले खुलाए । 

‘उक्त प्रतिवेदन हालसम्म आयोग बैठकमा छलफलका लागि पेश नगरिएको तथा पेश भएपछि छलफल भई निर्णय समेत हुन बाकी रहेको आयोग स्पष्ट पार्दछ,’ वक्तव्यमा भनिएको छ, ‘आयोगको निर्णय नै भएको जस्तो भ्रम पर्नेगरी प्रकाशित समाचारप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दछ ।’ आयोगको दस्तावेजबारे अनधिकृत सूचना प्रसार भएको भन्दै छानबिन थालेको समेत वक्तव्यमा उल्लेख छ ।

सप्तरीको मलेठमा एमालेले २३ फागुनमा आयोजना गरेको सभा मधेसी मोर्चाले विथोल्ने क्रममा हिंसा हुदा पाचको मृत्यु भएको थियो । आयोगले ३१ चैतमा पूर्वन्यायाधीश ताहिर अली अन्सारी नेतृत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो । २९ जेठमा उक्त टोलीले आफ्नो प्रतिवेदन आयुक्त प्रकाश वस्तीलाई बुझाए पनि सार्वजनिक गरिएको थिएन । आयोगका एक उच्च अधिकारी भन्छन्, ‘हामीले ठूलो धनराशि खर्च गरेर स्थलगत अनुसन्धान गर्छौं, यस्ता दर्जनौं प्रतिवेदन बन्छन्, तर किन हो सार्वजनिक हुँदैनन् । कार्यान्वयन भए नभएको बारेमा कसैलाई थाहै हुदै हुदैन ।’

आयोगकी प्रवक्ता मोहना अन्सारीले आयोगले नै मलेठ घटना छानबिन गर्न ताहिर अली अन्सारीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको हुनाले उक्त प्रतिवेदन आयोगकै भएको ठोकुवा गरिन् । ‘त्यो प्रतिवेदन दिने उच्चस्तरीय समिति आयोगले गठन गरेको हो, त्यसैले उसले दिएको प्रतिवेदन आयोगकै हो,’ उनले भनिन्, ‘यो कुरा त हाम्रो स्टेटमेन्टमै क्लियर छ । यसमा अलमलिनुपर्ने के छ र ?’ उनले गोप्य दस्तावेज चुहिएकामा आश्चर्य प्रकट गर्दै आफू देश बाहिर भएकाले त्यसबारे विस्तृत बुझ्ने बताइन् । प्रवक्ता अन्सारीले ‘आयोगकै प्रतिवेदन’ भन्दैगर्दा निमित्त सचिव अधिकारीको वक्तव्यमा भने ‘गोप्य लिखत’ भन्ने शब्दमात्रै उल्लेख छ ।

कान्तिपुरले फेला पारेको आयोग प्रतिवेदनको निष्कर्षअनुसार मलेठमा एमाले र मोर्चा दुवै पक्षको शक्ति प्रदर्शनको होडबाजीका कारण हिंसा हुन पुगेको भन्दै दुवै पक्षलाई दोषी ठहर गरिएको थियो । आयोगका अर्का अधिकारीका अनुसार गोप्य दस्तावेज चुहिएपछि राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मोर्चा पक्षलाई बढी दोषी देखाइएको भन्दै बसमा कार्यकर्ता लिएर आयोग कार्यालय घेर्न आउने धम्की दिएका थिए । समाचारलाई लिएर अन्य सरोकारवालाले पनि चासो देखाएपछि तीन दिनपछि मात्रै आयोगले ढिलोगरी प्रष्टीकरण दिएको हो ।

प्रकाशित : श्रावण १, २०७४ २०:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फर्किए प्रधानसेनापति

कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानसेनापति राजेन्द्र क्षत्री दुई साता लामो अमेरिका र बेलायतको औपचारिक भ्रमणपछि शनिबार साँझ स्वदेश फर्किएका छन् । उनी असार १६ मा अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।

उनको भ्रमण दुईपक्षीय सम्बन्ध सुधार र सैन्य सहकार्य अघि बढाउनेमा केन्द्रित रहेको जनाइएको छ । 

नेपाली सेनाले यस प्रकारको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्र राष्ट्रहरूसँग लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुँदै जाने जनाएको छ । प्रधानसेनापति क्षत्रीको भ्रमणले नेपाली सेना–संयुक्त राष्ट्रसंघ र बेलायती सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरू प्रगाढ र सबल बनेको नेपाली सेनाले उल्लेख गरेको छ । क्षत्री असार २३ मा सम्पन्न संयुक्त राष्ट्रसंघको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशका सुरक्षा प्रमुखहरूको दोस्रो सम्मेलनमा सहभागी भएका थिए । उनले त्यहाँ रहँदा नेपाली सेनाले उच्चस्तरमा सहभागिता पाउनुपर्नेमा लबिइङ गरेका थिए । उनले राष्ट्रसंघसित फौजका आधारमा अधिकृतस्तरमा नेपाली सेनाको सहभागिता बढाउन र नेतृत्व तहमा मौका दिनसमेत आग्रह गरेका थिए । उनी उक्त सम्मेलनमा सहभागी भएर बेलायत भ्रमणमा गएका हुन् ।

कर्णेल लामाको मुद्दा किनारा लागेपछि सेना प्रमुखका रूपमा क्षत्री बेलायत पुगेका हुन् । औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका उनले बेलायतसँगको दुई सय वर्षभन्दा पुरानो सम्बन्धलाई स्मरण गर्दै सहकार्यमा जोड दिए । उनले बेलायती सेनाध्यक्षसँग अन्तर्क्रिया गर्दै सहकार्य गरेर विश्व शान्तिमा अघि बढ्ने बताए । क्षत्री र बेलायती समकक्षीबीचको भेटमा सेनाको अधुनिकीकरणमा नेपाललाई बेलायतले गर्ने सहयोगलगायत विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । विमानस्थलमा बलाधिकृत रथी बलदेवराज महत, सेनाका रथिहरु र काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरूले स्वागत गरेका थिए । 

प्रकाशित : श्रावण १, २०७४ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT