२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उम्मेदवारले खर्च विवरण बुझाएनन्

प्रताप विष्ट

हेटौंडा — स्थानीय तह निर्वाचनमा भाग लिएका यहाँका ५० प्रतिशत उम्मेदवारले निर्धारित समयभित्र खर्च विवरण बुझाएका छैनन् । अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र निर्वाचन खर्चको शीर्षकसहित जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

कार्यालयका अनुसार हेटौंडाका मेयर पदका अधिकांश उम्मेदवारले चुनावी खर्च बुझाइसकेका छन् । जिल्लामा १० स्थानीय तहका ५ सय ३० पदका निम्ति २ हजार २ सय ४० जनाले उम्मेदवारी दिएका थिए ।

सबै पार्टीले चुनावी खर्च बुझाउने फारम लगिसकेको कार्यालयका सूचना अधिकारी दिनेश श्रेष्ठले बताए । उम्मेदवारी दर्ता गर्न दलहरू जति हतारिएका थिए विवरण बुझाउनमा भने त्यसको ठीकविपरीत प्रवृत्ति देखिन्छ । केही उम्मेदवारलाई चुनावी खर्च विवरण बुझाउनुपर्छ भन्नेसम्म थाहा छैन ।

उम्मेदवारले अस्वाभाविक र कानुनमा उल्लेख भएभन्दा बढी खर्च नगरून् भनेर विवरण मागिने हो । तर, निर्वाचन आयोगले नै यो प्रक्रियालाई औपचारिकतामा मात्रै सीमित गरेको पाइन्छ । उम्मेदवारहरूले तोकेभन्दा बढी खर्च गरी कागजी रूपमा सीमाभित्रैको विवरण पेस गरे पनि आयोगले कसीकसाउ गरेको छैन ।

महानगरपालिका मेयर–उपमेयरले साढे ७ लाख, वडाध्यक्षले ३ लाख, उपमहानगरपालिका मेयर–उपमेयरले साढे ५ लाख, वडाध्यक्षले अढाई लाख, नगरपालिकाका मेयर–उपमेयरले साढे ४ लाख खर्चन पाउने कानुनी व्यवस्था छ । त्यस्तै वडाध्यक्षले २ लाख, गाउँपालिकाको प्रमुख–उपप्रमुखले साढे तीन लाख, वडाध्यक्ष र सदस्यले डेढ लाख र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखले अढाइ लाख र सदस्यले डेढ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी व्यवस्था छ ।

७ सय ६ धरौटी जफत
विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको छ । खसेको सदर मतको १० प्रतिशत पनि नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । यहाँका २ हजार २ सय ४० उम्मेदवारमध्ये सबैभन्दा बढी धरौटी जफत हेटौंडा उपमहानगरमा हुने भएको छ । इन्द्रसरोवर गाउँपालिकामा १ सय जनाले उम्मेदवारी दिएकामध्ये ३२ जनाले धरौटी जोगाउन सकेनन् । गाउँपालिकामध्ये कैलाशमा २ सय १ उम्मेदवारमा ४९ जना, भीमफेदीमा १ सय ८६ उम्मेदवारमध्ये ४५, वाग्मतीमा १ सय ९० मध्ये ४४ र बकैयामा २ सय ४७ मध्ये ६२ जनाको धरौटी जफत हुने भएको छ ।

मकवानपुर गढीमा १ सय ७० मध्ये ४८, मनहरीमा २ सय १३ मध्ये ७३ र राक्सिराङमा १ सय ६५ मध्ये ५५ जनाको धरौटी जफत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । थाहा नगरमा सबै पदमा गरी २ सय ७३ जनाको उम्मेदवारी परेकामा ९८ ले धरौटी जोगाउन सकेनन् ।

हेटौंडा उपमहानगरमा २ सय जनाको धरौटी जफत हुँदै छ । यहाँ सबै पदमा गरी ४ सय ९५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दर्ता गर्न वडा सदस्य पदमा ५ सय, वडाध्यक्षमा १ हजार, प्रमुख तथा उपप्रमुख पदमा १ हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्छ ।

प्रकाशित : श्रावण २, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?