कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

माओवादी बैठकमा दाहालको ब्रिफिङ- ‘गुटबन्दी र संगठन व्यवस्थित नहुँदा चुनाव हारियो’

काठमाडौं — माओवादी केन्द्रका अध्यक्षले पुष्पकमल दाहालले पार्टीभित्रको गुटबन्दी झांगिदा र संगठन व्यवस्थित नहुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेका छन् । सोमबारदेखि सुरु भएको पार्टीको सचिवालय बैठकमा चुनावी समिक्षा गर्दै अध्यक्ष दाहालले यो ढंगबाट अघि बढ्न नसक्ने उल्लेख गरेका छन् ।

 माओवादी बैठकमा दाहालको ब्रिफिङ- ‘गुटबन्दी र संगठन व्यवस्थित नहुँदा चुनाव हारियो’

बैठकमा कडा रूपमा प्रस्तुत भएका दाहालले गुटबन्दीको अवस्थामै अघि बढ्ने कि निर्मम समिक्षा गरेर नयाँ ढंगले संगठन परिचालन गर्ने’ भन्नै अगुवा नेताहरुप्रति प्रश्न गरेका छन् । ‘जनताले खोजेको माओवादी यस्तै हो ?’ दाहालले भने,‘गुट उपगुट हटाउनुपर्छ, यसरी अघि बढ्न सकिदैन ।’ जनताले खोजेजस्तो माओवादी नहुदा निर्वाचनमा पराजय भोग्नुपरेको दाहालको भनाई थियो ।

उनले अहिलेको संगठनात्मक अवस्थालाई सुधार्ने हो भने माओवादी फेरी नयाँ ढंगले अघि बढ्न सक्ने खालको पार्टी बन्ने उल्लेख गर्दै यो अवस्थाप्रति नेताहरु सचेत हुनुपर्ने बताए । ‘पार्टी एकिकरण भएपछि त्यसअनुसार तल्लो तहसम्मै परिचालन गर्न सकिएन त्यसैले अब पार्टीले निर्मम समिक्षा गरेर एकतावद्ध ढंगले अघि बढ्नुपर्छ भन्ने अध्यक्षको भनाइ छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसंग भनिन्, ‘अभियानकै रूपमा संगठनलाई सुधार गर्नेतर्फ जानुपर्छ भन्ने छ ।’

माओवादीले उठाएका एजेण्डा स्थापित भएको, तर त्यही अनुसार पार्टीको पोजिसन भने आउन नसकेको दाहालको भनाइ थियो । ‘संविधानलाई स्वीकार्य बनाउनका लागि भूमिका खेलियो, राष्ट्रिय एकता कमजोर भएका बेला राजनीतिक परिस्थिति राम्रो बनाउन सकियो’ अध्यक्ष दाहालले बैठकमा भने ।

विकास निर्माणका कामलाई अघि बढाउन सफल भएको, इमानदार रूपमा सत्ता हस्तान्तरण गरेकोलगायतका बिषयले माओवादीप्रति सकारात्मक धारणा बनिरहेको दाहालको टिप्पणी थियो । विभाजनपछि माओवादी सकिन्छ भनेर टिप्पणी गर्नेहरुलाई पार्टी एकतावद्ध गरेर जवाफ दिएको दाहालले उल्लेख गरे । संविधानमार्फत स्थापित एजेण्डाहरु अझै पनि संस्थागत भइनसकेकाले त्यसका लागि पनि पार्टी बलियो हुन जरुरी रहेको दाहालले उल्लेख गरे ।

अध्यक्ष दाहालले संविधानमा उल्लेखित बिषयहरुमा तलमाथि गर्ने प्रयास गलत हुने उल्लेख गर्दै निर्वाचन क्षेत्रको संख्यामा अडिग रहनुपर्ने बताए । निर्वाचन क्षेत्र २ सय ४० नै कायम गर्ने बिषय माओवादीका लागि मान्य नहुने उल्लेख गर्दै दाहालले संविधानअनुसार नै हुने जानकारी दिए । गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले बोलएको बैठकमा निर्वाचन क्षेत्रको संख्या बढाउने बिषयले प्रवेश पाएको थियो ।

बैठकमा सातवटा प्रदेशका इन्जार्जहरुले चुनावबारे बैठकलाई ब्रिफिङ गरेका थिए । उनीहरुले पार्टीको चुनावी नीति नै कमजोर भएको निष्कर्ष सुनाए । संगठन सुदृढ नभएको, प्रचार प्रसार पनि कमजोर भएको, उम्मेद्वार चयनमा समस्यालगायतका कारणले हारेको उनीहरुको भनाई थियो । हरेक स्थानमा समस्या देखिएको, केन्द्रीय हस्तक्षेप कमजोर भएको उनीहरुको निष्कर्ष थियो ।

प्रदेश–१ बाट सावित्रीकुमार काफ्ले, प्रदेश–२ बाट मातृका यादव, पेश–३ बाट हितमान शाक्य, प्रदेश–४ बाट देव गुरुङ, प्रदेश–५ बाट वर्षमान पुन, प्रदेश–६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश–७ बाट लेखराज भट्टले ब्रिफिङ गरेका थिए । माओवादी बैठकमा जिल्ला इन्चार्जहरुले मंगलवारदेखि ब्रिफिङ गर्ने र त्यसपछि छलफल हुने प्रवक्ता भुसालले जानकारी दिइन् ।

प्रकाशित : श्रावण २, २०७४ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?