२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘प्रधानमन्त्री देउवालाई चकित पार्ने काम गर्छु’

मोहन बुढाऐर

डडेलधुरा — जिल्लामा जहिले पनि सत्ता बस्ने कांग्रेसको नगरी अमरगढीको विकास र समृद्धिलाई दौडाउने जिम्मेवारी प्रतिपक्ष एमालेबाट र्निवाचित प्रमुख विपिन ओझाको काँधमा छ । यस जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरी अमरगढीमा पहिलोपल्ट एमालेले स्थानीय सरकार बनाउने जिम्मेवारी पाएको हो ।

‘प्रधानमन्त्री देउवालाई चकित पार्ने काम गर्छु’

एमालेका युवानेता विपिन ओझा र संगीता भन्डारी प्रधानमन्त्री देउवाको गृह नगरीलाई समृद्ध बनाउने अभियन्ता बन्ने दाबा गर्छन् । ‘अब प्रधानमन्त्रीको साथ चाहिन्छ, हामी उनको गृह नगरीमा समृद्धि ल्याउँछौ’ओझाले भने ‘प्रधानमन्त्री देउवाबाट केन्द्र सरकारबाट प्राप्त सहियोगको अपेक्षा गरेका छौं ।’ उनले आफ्नो गृहजिल्लाका स्थानीय तहमा कुन पार्टीको सरकार बन्यो भनेर हेर्ने हैन, आफ्नो पहलबाट दिइने सहियोगलाई निरन्तरता दिनुपर्ने बताए । ‘जनताले  केन्द्रमा उनलाई र स्थानीयमा हामीलाई विकास र समृद्धिका लागि काम गर्न पठाएका हुन्’ उनले भने ‘पाँच वर्षमा काम गरेर देखाउँछौं ।’

‘पलानिंग’बिना क्रमांगत विकासमा अघि बढिरहेको सहरको अनुहारमा चमक ल्याउने दीर्घकालीन र अप्लकालीन  गुरुयोजनामा तयार पार्न लागेको बताए । ‘हामी ३ देखि ५ वर्षे विकासको एउटा योजना लागू गर्छौं’ उनले भने ‘त्यसैको अधारमा २० वर्षे गुरुयोजना बन्छ ।’अपार सम्भावना बोकेको अमरगढी नगरको विकासका लागि पहिलो आर्थिक वर्ष अध्यायन र पलानिंगमा लगानी हुने बताए ।
 
डडेलधुरा जिल्ला सात पहाडी जिल्लाको केन्द्र विन्दुमात्रै हैन, शिक्षा, स्वास्थ्य, व्यापारलगायत हेरक क्षेत्रबाट ‘हव’पनि हो । पर्यटकीय दृष्टिकोणबाट ‘हिल सेन्टर’ हो  । त्यसले डडेल्धुरा जिल्ला आफैंमा अपार सम्भावना बोकेको ठाँउ हो । सकारात्मक सोचका साथ यस नगरलाई ‘पलानिंग’का साथ अगाडि बढाइ दिने समाज र राजनीतिक नेतृत्वको मात्रै खाँचो थियो । ‘चारैतिर धार्मिक र ऐतिहासिक महत्वका पर्यटकीय गन्तव्य स्थल छन्’नगर प्रमुख ओझाले भने ‘त्यहाँसम्म पुग्ने राम्रो पक्की सडक र त्यहाँका पर्यटकीयस्थलको संरक्षण, सम्वर्द्धनमा ध्यान पुर्‍याउनमात्रै सक्यो भने हजारौ आन्तरिक तथा बाह्य पर्यटक भित्रिन्छन् ।’ संरक्षणको पर्खाइमा रहेको अजयमेरु कोट, अमरगढी किल्ला, ढाट गाउँको गुफा, घटाल थान, उग्रतार मन्दिर, सह्सलिंग धुरा, कोशिया लेकका फाँटलगायत यहाँका पर्यटकीय गन्तब्य स्थल बन्न सकिने उनको धारणा छ । 

पर्यटकिय स्थल वरिपरिबाट चक्रपथ, घटालदेखि अमरगढी किल्लासम्मको केवुलकार, घाटलमा दह (ताल) निर्माण गरी डुंगा शेयर, वरिपरि रिर्सोट तथा बजार, अनारी खोलीमा भ्युँ टावरलगायत पर्यटकीय पूर्वाधार आवश्यक रहेको बताए । पछिल्लो समयमा डडेल्धुरा गर्मी छल्न आउने तराईका आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । बाह्रमास एकै किसिमको हावापानी पाइने डडेल्धुरा जिल्ला खप्तड, शुक्लाफाँटा, रामारोसन र मानसरोवरका यात्रीको समेत हेल स्टेसन बन्दै गएको छ । 

प्रधानमन्त्री देउवाका साथ पाएमा उहाँलाई आश्चर्यचकित पार्ने गरी पाँच वर्षमा काम गरेर देखाउने प्रतिवद्धता आफूसँग भएको नगरप्रमुख ओझाले गरे । उनले भने ‘नगरको भित्री, मध्य र बाह्य तीनवटा चक्रपथ निर्माण गरी नगरमा सेटी हल, ठुलो सपिंङ कम्प्लेक्स, कृषि, पशु पकेट क्षेत्र, क्रिकेट र फुटबलजस्ता लोकप्रिय खेलका लागि पहाडमा समेत एउटा अन्तर्राष्ट्रियस्तरका मैदान निर्माण गर्न सकिन्छ भन्ने देखाउने इच्छा छ ।’ 

त्यस्तै उनले गर्न लागेका एकदम नौलो काममा स्मार्ट कार्ड हो । हरेक घरपरिवारको एउटा स्मार्ट कार्ड बनाउने र त्यस कार्डले परिवारको आर्थिक, सामाजिक स्थितिलाई देखाउने छ । एउटा यो आधुनिक परिवारको तथ्य राख्ने कार्ड बन्ने छ ।  उनले अन्त्यमा भने ‘यो सपना पूरा गर्न सबै राजनीतिक दल र खासगरी देशकै नेतृत्व गर्ने जिल्लाबाट प्रतिनिधित्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको सदासयता चाहिन्छ ।’

 

प्रकाशित : श्रावण ७, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?