माओवादी बैठकमा दाहालले भने– बरु पार्टी नै विघटन गरौं

बसन्त बस्नेत

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ । माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् ।

‘माओवादी एउटा आन्दोलन थियो पार्टीमात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा दाहालले भने, ‘सबै साथीहरुबाट आएका विचारहरु समान किसिमका छन्– ‘गुटबन्दी मौलायो । नीतिमूखी होइन, नेतामुखी भइयो । जनतामा जान सकिएन । चुनाव लड्ने अनुभव भएन । अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ ।’

उनले बैठकमा कार्ल माक्र्स र एंगेल्सको उदाहरण दिदै थपे, ‘कम्युनिस्ट इन्टरनेसनलमा वैचारिक विवादहरु बढदै गएर व्यक्ति र गुटमूखी प्रवृत्ति मौलाएपछि माक्र्स र एंगेल्सले त्यसलाई विघटन गर्नुभएको थियो । त्यसबेला उहाहरुको खुबै विरोध र आलोचना भयो । कालान्तरमा उहाँहरुले लिएको निर्णय सही रहेछ भन्ने पुष्टि भयो । हामीले आफ्ना गुरुहरुबाट किन नसिक्ने ?’

बैठकमा सहभागी एक उच्च नेताको भनाईमा, दाहालले माओवादी आन्दोलनले नेपालको राजनीति आधारभूत रुपमै बदल्न योगदान दिएको भन्दै यसलाई अरु पार्टीजस्तो दिनचर्या बिताउने छुट नभएको बताए । ‘उहाँले क्रान्तिको सफलतापछि हुर्किने नयाँ पुस्तालाई अगाडिको बाटो प्रशस्त गर्दै लेखपढ गरेर बाँकी उमेर बिताउन सकिने भन्दा बैठकमा सन्नाटा छाएको थियो,’ अर्का नेताले भने, ‘अध्यक्षको यो भनाई कुनै भावावेशमा आएको थिएन भन्ने कुरा उहाँको प्रस्तुतिको गहिराईबाट बुझ्न सकिन्थ्यो ।’

नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालबाट पार्टी विघटनको सन्दर्भ बैठकमा उप्किए पनि गम्भीरतापूर्वक नआएको बताए । ‘यथास्थितिमै पार्टी संगठन राखिरह्यो भने अहिलेको आन्दोलन नेतृत्व गर्न सकिन्न भनेर अध्यक्षले विघटन गर्न सकिने सन्दर्भ बैठकको सुरुवातमै राख्नुभएको थियो । पछि पनि अरु साथीहरुबाट यसबारे चर्चा चल्यो, तर घनिभूत बहस होओस् भन्ने उहाँको उद्देश्य होइन,’ नेता श्रेष्ठले भने, ‘नयाँ परिस्थितिलाई आत्मसात गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ । त्यसो गर्न दिनुभन्दा बरु आफैंले विघटन भएको घोषणा गरौं भन्ने कुरा हो ।’

अर्का नेता अग्निप्रसाद सापकोटाले पनि दाहालबाट पार्टी विघटन गर्न सकिने प्रस्ताव बैठकमा आएको बताए । उनले यस्तो प्रस्ताव पार्टीलाई सही बाटोमा लैजानका लागि आएको भन्दै तत्कालै विघटनको सम्भावना भने इन्कार गरे । ‘माओवादी आन्दोलनले आफ्नो सफलता पाइसकेको अर्थमा उहाँले त्यसो भन्नुभएको हो,’ सापकोटाले भने, ‘जनताका लागि जीवन नै त्याग गर्न चाहने मनोविज्ञान आजभोलि देखिन छाडेकामा उहाँको चिन्ता हो । क्रान्तिकारी सारतत्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने उहाँको प्रस्ताव हो ।’ उनले दाहालको प्रस्ताव पार्टी सच्चिनुपर्छ भन्ने अर्थमा आएको दाबी गरे ।

सन् १८७२ मा रुसी कम्युनिस्ट नेता मिखाइल बाकुनिनसँग चर्को मतभेद भएपछि कम्युनिस्ट इन्टरनेसनलको कार्यालय बेलायतबाट अमेरिका सारेको चार वर्षपछि सन् १८७६ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट इन्टरनेसनल विघटनको घोषणा गरेका थिए । दाहालले त्यसै अनुभवबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीले सिक्न सक्ने प्रस्ताव बैठकमा गरेका हुन् । बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्य तथा दोलखा सहइन्जार्ज विशाल खडकाले अध्यक्ष दाहालबाट गुटबन्दी मौलाउदै गएकामा चिन्तास्वरुप बैठकमा यस्तो प्रस्ताव आएको बताए ।

‘बैठकमा सबैजसो साथीहरुबाट विचार समूहभन्दा पनि गुट समूहजस्तो गरी रिपोर्टिङ र समीक्षा भएपछि अध्यक्षले उसो भए अब पार्टी विघटन गरौं भनी प्रस्ताव गर्नुभएको हो,’ खडकाले भने, ‘पार्टीमा पहिले वैचारिक लाइनका आधारमा अन्तर्संघर्ष हुन्थ्यो, अहिले व्यक्तिमा गएर बहसहरु ठोक्किए । सरकारमा जानका लागि जे पनि गर्न तयार हुनेजस्तो अवस्था देखियो । अध्यक्ष पछि दोस्रो तहका कतिपयमा नेताभन्दा विचौलियाको भूमिका बढी देखिएको समीक्षा चर्को रुपमा उठेपछि अध्यक्षले पार्टी विघटन गर्न सकिने विकल्प दिनुभएको हो ।’ खडकाले माओवादी विघटनको बहस भावावेशभन्दा पनि वैचारिक महत्वको मुद्दा रहेको रुपमा बुझ्नुपर्ने छलफल भएको जानकारी दिए ।

दाहालले यो प्रस्ताव बैठक टुंग्याउने क्रममा राखेको हुनाले अरु नेताहरुले भने यसमाथि टिप्पणी गर्न पाएनन् । शुक्रबार बस्ने हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरुले यसबारे फरक मत राख्ने तयारी गरिरहेको स्रोतले बतायो । तर प्रवक्ता पम्फा भूसालले भने पार्टी संगठनको आन्तरिक व्यवस्थापन र तेस्रो चरणको स्थानीय चुनावका लागि केही प्राविधिक छलफलका लागि बैठक डाकिएको दाबी गरिन् ।

सहभागीहरुका अनुसार अध्यक्ष दाहालले पार्टी गम्भीर दिशाहीनतामा फसेको स्वीकार गरेका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादी अबको एउटा स्थायी राजनीतिक शक्ति हो भनी जनतालाई अनुभूति दिन नसकिएको भन्दै उनले आत्मालोचना गरेका थिए । ‘युद्धबाट शान्तिमा आउने र परिवर्तन संस्थागत गर्ने काम कम्ती जोखिमपूर्ण थिएन तर त्यत्रो साहसका बाबजुद शान्ति प्रक्रिया सफलताको श्रेय माओवादीलाई आएन,’ दाहालले भने, ‘जसले जे माग्यो, त्यही दिदै जाने हुदा माओवादी पार्टी नभएर परियोजनाजस्तो भयो ।

राजनीतिक गतिरोध खुलाउने बेलामा जहिले पनि माओवादी चाहिन्छ तर जसका लागि लडियो, उसैको मन जित्नेगरी संरचना बनाउन सकेनौं ।’ दाहालले सर्वहारा, श्रमजीवी, उत्पीडितलगायत आधारभूत वर्गको मन जित्ने गरी पार्टी संगठन बनाउन चुकेको बताएका थिए ।

सहभागी नेताहरुले अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला समृद्धि र सुशासनको नारा दिए पनि समाजवादी कार्यदिशा अख्तियार गर्न चुकेको भन्दै आलोचना गरेका थिए । ‘खालि समृद्धिको नारा छ, सामाजिक न्याय र जनताको पहुच छुटाइयो,’ नेता खडकाले भने, ‘सामाजिक न्याय र आधारभूत जनतासँग जोड्नेगरी एजेन्डा लैजान नसक्दा माओवादीको औचित्यमाथि नै प्रश्न उठ्यो ।’

दाहालको यो खुलासासँगै पछिल्ला वर्षहरुमा आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भएर जोडिने प्रक्रियामा रहेको माओवादी पार्टीभित्र नयाँ बहसको बीजारोपण भएको छ । पछिल्लो स्थानीय चुनावमा तेस्रो स्थान सुरक्षित गरे पनि समग्रमा माओवादीको पराजय भएको बैठकले ठहर गरेको थियो ।

प्रकाशित : श्रावण १३, २०७४ ०२:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील र साझाको ‘मौन गति’

बसन्त बस्नेत

काठमाडौं — फागुन १७ गते बीबीसी नेपाली रेडियो सेवा छाडेको अर्को महिना साझा पार्टी खोल्दै गर्दा संयोजक रवीन्द्र मिश्रले विवेकशील नेपाली दलसित एकता गर्लान् भन्ने कमैले ठानेका थिए।

सहकार्यका एकाध प्रयासपछि विवेकशील नेताहरूले कान्तिपुरसँग मुखै फोरेर भनेका थिए, ‘रवीन्द्रजीले त हामीलाई युवा संगठनजस्तो पो ठान्नुभएको रहेछ। यस्तोमा एकता हुन सक्दैन।’ त्यही विवेकशील दलसँग मिश्रले बुधबार पार्टी एकता गरेका छन्। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। पार्टीका बैठकहरू मिश्रले अध्यक्षता गर्ने सर्तमा उनी र विवेकशील अध्यक्ष उज्ज्वल थापा दुवै अब सहसंयोजक बन्ने भएका छन्। दुवै नेताहरूले समृद्ध नेपालका लागि भरपर्दो वैकल्पिक शक्ति बनाउने संकल्पसमेत गरे।

विवेकशील र साझा पार्टीबाट १७–१७ गरी ३४ जनाको नयाँ केन्द्रीय समिति घोषणा गरिएको छ। आठ सदस्यीय केन्द्रीय संयोजन समितिमा मिश्र, थापासहित मुमाराम खनाल, अनुषा थापा, गोविन्दनारायण तिमल्सिना, निरूपमा यादव, रमेश पौडेल र सूर्यराज आचार्य सदस्य छन्। केन्द्रीय सदस्यहरूमा ओमप्रकाश अर्याल, किशोर थापा, प्रकाशचन्द्र परियार, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन, शोभा शाक्य, सरोज धिताललगायत छन्। ३४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशनसम्ममा ५१ पुर्‍याउन सकिने पार्टीले जनाएको छ। पार्टीको चुनाव चिह्न तराजु हुनेछ। 

रोचक त के छ भने मिश्रसँग सहकार्य प्रस्ताव गर्ने प्रयासमा रहेको अर्को ‘वैकल्पिक दल’ नयाँ शक्ति पार्टी डेढ वर्षयता संघीय समाजवादी फोरमसँग निरन्तर एकता प्रयासपछि केही तिक्तता बोकेर पछि हटेको छ। मिश्र र थापाले राजधानीको बुद्धनगरमा एकता गरेकै दिन त्यसैको छेउ क्वालिटी ब्यांक्वेटमा सुरु नयाँ शक्ति भेलामा फोरम पक्षले आफ्ना नेतालाई होच्याउने किसिमको व्यवहार गरेपछि एकता प्रयास धकेलिएको टिप्पणी यसका नेताहरूले गरे। एक वर्षयता संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै आएका बाबुुराम भट्टराई र उपेन्द्र यादवले आन्तरिक तनाव झेल्न नसकेर हाललाई ‘एकताका लागि ढोका खुलै राख्ने, तर वार्ता स्थगित गर्ने’ निर्णय यसै साता गरे। यी दुवै दलले भर्खरैको स्थानीय चुनावमा संयुक्त उम्मेदवारी घोषणा गर्दै एउटै चुनाव चिह्न मसाल लिएर लडेका थिए। पछिल्लो एक वर्षयता उनीहरू एउटै लेटरप्याडमा संयुक्त वक्तव्य निकाल्ने, प्रधानमन्त्रीलाई सँगै भेट्न जाने, एकअर्काका कार्यक्रममा ऐक्यबद्धता जनाउन पुग्ने गरिरहेका थिए। नयाँ शक्तिको बुधबारै सुरु संघीय परिषद् बैठकमा भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमा सहरी जनमत विकल्प खोज्न उत्सुक देखिएको ठहर गरिएको छ। भट्टराईले स्थानीय चुनावमार्फत आफ्नो पार्टी भरपर्दो वैकल्पिक शक्तिका रूपमा जनताबाट अनुमोदित हुन नसकेको स्वीकार गर्दै हारलाई स्वाभाविक रूपमा लिनुपर्ने, अब नयाँ योजना ल्याउनुपर्ने प्रस्ताव गरे।

नयाँ शक्ति–फोरम एकता भाँडिँदै गर्दा हुन नसक्ने भनिएको ‘साझा–विवेकशील’ एकताचाहिँ कसरी हुन सक्यो त? एक साताअघि मिश्रले टीट गरेका थिए, ‘कहिलेकाहीँ मौनतामा तीव्र गति हुन्छ। म ‘एउटा मौनता’ मा त्यस्तै गति देखिरहेको छु।’ मंगलबार साँझ उनैले अर्को टीट गरे, ‘साँच्चिकै त्यो गति देखिएको छ।’ साझा र विवेकशीलसँग दुई चरणको स्थानीय तह चुनाव लडेको मिश्रित अनुभूति रह्यो। पहिलो चरणको चुनावमा राजधानी सहरमा दुवै पार्टीका उम्मेदवारले एमाले र कांग्रेसपछि उल्लेख्य मत पाए। ललितपुर, भक्तपुरमा पनि त्यस्तै रह्यो। निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न थ्रेसहोल्ड निर्धारण गर्नु र दोस्रो चरणको चुनावमा राजधानीबाहिर दुवैले खासै प्रभाव छाड्न नसक्नु यो एकताका लागि कारक पक्ष देखिन्छन्।

‘हामीलाई पार्टी खोल्ने बेला तपार्इंहरू किन जन्मेको? तपाईंहरूको आइडियोलोजी के हो भनेर खुबै सोधियो,’ मिश्रले भने, ‘पहिले जति पनि दलहरू खुले, आन्दोलनको दौरान खुलेकाले तिनको आदर्श थियो। परम्परागत राजनीति गर्ने नेताहरू त्यस बेला अधिकार स्थापित गर्न लड्नुभएको थियो तर समृद्धिको नेतृत्व गर्नुभएन। हामी समृद्धिको नेतृत्व गर्न जन्मिएका हौं।’ मिश्रले आफ्नो पार्टी ‘सेन्टर टु लेफ्ट’ अर्थात् ‘वाम झुकाव राख्ने मध्यमार्गी’ रहने बताए। मिश्रले यसो भन्दै गर्दा अर्का नेता उज्ज्वल थापाले भने आफ्नो पार्टी वाम वा दक्षिणपन्थी नभई ‘अग्रगामी’ (फरवार्ड) पार्टी रहेको तर्क गरे।

थापाले नेपाल विश्वको केन्द्रविन्दु बन्ने क्षमता राख्न सक्ने देश भए पनि खराब राजनीतिक संस्कारले रोकिरहेको बताए। ‘उत्तरको छिमेकी चीन विश्वको ठूलो अर्थतन्त्र बनिसकेको छ, अब १२ वर्षभित्र महाशक्ति बन्नेवाला छ,’ थापाले भने, ‘दक्षिणको छिमेकी भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ, यी दुईको बीचमा हामीले सम्भावनाका अनेकन ढोका खोल्नुपर्नेछ। हामीले चाह्यौं भने नेपाललाई केन्द्रविन्दु बनाउन सक्छौं। त्यसका लागि असल राजनीतिक संस्कार र तत्परता चाहिन्छ।’ आफूलाई वैकल्पिक जिकिर गर्ने दुई नयाँ पार्टीहरूको ‘मौन गति’ ले बुधबारदेखि साझा बाटो पाएको छ। उनीहरूले देखाएको लक्ष्य हासिल हुने/नहुनेचाहिँ तिनकै चालढाल र मूलधारका पार्टीहरूको कार्यशैलीमा निर्भर रहने देखिन्छ।

प्रकाशित : श्रावण १२, २०७४ ०७:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT