मेसिन किन्दा बीपी प्रतिष्ठानमा ६ करोड घोटाला भएको अख्तियारको आश‌ंका, कागजात जफत

प्रदीप मेन्याङ्बो

धरान — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण खरिदमा आर्थिक अनियमिताता भएको उजुरी परेको आधारमा बिहीबार खरिद शाखासँग सम्बन्धित कागजपत्र उपकुलपतिसँग मागेर लगेको छ ।

मेसिन किन्दा बीपी प्रतिष्ठानमा ६ करोड घोटाला भएको अख्तियारको आश‌ंका, कागजात जफत

प्रतिष्ठानले टेन्डर गरेर खरिद गरेको मेग्नेटिक रिसोन्यान्स इमेजिङ (एमआरआइ) १.५ टेस्लामा १२ करोड रुपैयाँ पर्ने भए पनि १८ करोड रुपैयाँमा किनेर ६ करोड रुपैयाँ घोटाला भएको भन्दै अनुसन्धानका लागि कागजपत्र मागेको अख्तियारको इटहरीस्थित कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । उनले भने, ‘एमआरआई उपकरण खरिद गर्दा प्रक्रिया नपुर्‍याइएको उजुरी परेकाले प्रतिष्ठानबाट एमआरआई खरिद प्रक्रियाका बोलपत्र आव्हानदेखि मूल्याङ्कन र सदर गरिएका कागजातहरू उपकुलपति राजकुमार रौनियारसँग मागेर अनुसन्धानका लागि लगेका हौं ।’प्रतिष्ठानमा रहेको एमआरआई मेसिन पुरानो भएकाले नयाँ र आधुनिक एमआरआई किन्न प्रक्रिया अगाडि बढाएको थियो ।

आयोगको क्षेत्रीय कार्यालयले एमआरआई खरिदसँगै कार्डियोलोजी र अङकोलोजी विभागका लागि आवश्यक उपकरणका टेण्डर गरिएका फाइलहरू पनि नियन्त्रणमा लिएको प्रमुख भट्टराईले बताए । उनले भने, ‘प्रतिष्ठानले जारी गरेको ती टेन्डरहरु रीतपूर्वक छन् भने निर्दोष सावित हुनेछन् तर अनुसन्धानमा रित नपुर्‍याएको पाइएमा कारबाही गरिने छ । अहिले सबै कागजपत्र अध्ययन गरिरहेका छौं ।’ प्रतिष्ठानले मुटु र क्यान्सरको उपचारमा सुपर स्पेसियालिटी सेवा दिनका लागि थप आधुनिक उपकरण किन्ने प्रक्रिया अगाडि बढाएको बेला उजुरी परेको हो ।

अख्तियारले कागजपत्र मागेर लगेको विषयमा प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले आफूलाई असफल बनाउन चाहने प्रतिष्ठानभित्रैका केही व्यक्तिहरुले दुइलाइन उजुरी दिएको आधारमा अख्तियारका पदाधिकारी आएको बताए । उनले भने, ‘अख्तियारले प्रतिष्ठानको जे जे कागज पत्र माग्छन् ती सबै उपलब्ध गराउन तयार भएकैले मैले उहाँहरुले मागेको कागजपत्र सबै उपलब्ध गराएको छु ।’ उनले एमआएरआई, कार्डियोलोजी र अंकोलोजीका उपकरणहरु किन्नका लागि कार्यकारिणी समिति, खरिद समिति, मूल्याङ्कन समिति, प्राविधिक समितिलगायतले पास गरेको हुनुपर्ने भएकाले कसैले घोटाला गर्न चाहेर पनि नसक्ने बताए ।

उनले यसअघि पनि प्रतिष्ठानका निर्माणाधिन एमसिएच विल्डिङको कागजपत्र अख्तियारले मागेर अनुसन्धानका लागि लगेको बताए । उनले भने, ‘अख्तियारको काम अनुसन्धान गर्ने हो । प्रतिष्ठानले अख्तियारलाई अनुसन्धान र छानबिन गर्न सहयोग गर्छ ।’ 

प्रकाशित : श्रावण १३, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?