कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बाबुराम भन्छन् : फोरमसँग एकताको अध्याय सकियो

सकिएको छैन, सिद्धान्तमा कुरा मिलिसक्यो : फोरम
बसन्त बस्नेत

काठमाडौं — नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको अध्याय सकिएको घोषणा गरेका छन् । फोरमले भने एकताका लागि सैद्धान्तिक कुरा मिलिसकेको भन्दै तेस्रो चरणको चुनावअगावै एकता हुन सक्ने सम्भावनाको ढोका खुलै राखेको जनाएको छ । शुक्रबार दुवै दलको केन्द्रीय समिति बैठक सकिएपछि यसबारे नेताहरुको दुईखाले अभिव्यक्ति सार्वजनिक भएको हो ।

बाबुराम भन्छन् : फोरमसँग एकताको अध्याय सकियो

‘फोरम परम्परागत शक्ति नै रहेछ, नयाँ वैकल्पिक शक्ति बनाउने स्पिरिट र प्रक्रियालाई उसले अत्यन्तै जड ढंगले बुझ्यो,’ भट्टराईले नयाँ शक्ति संघीय परिषद् बैठकपछि भने, ‘वैचारिक राजनीतिक कुरादेखि संगठनात्मक विषयमा सहमति नभएपछि ऊसित लामो समयदेखि चल्दै आएको एकताको अध्याय अब समाप्त भएको छ ।’ भट्टराईले आफू आबद्ध पुरानो दल माओवादी केन्द्रमा फर्कने सम्भावनाबारे आइरहेका खबर भ्रमपूर्ण रहेको भन्दै ‘सपना नदेख्न’ माओवादी नेताहरुलाई चेतावनी दिए । 

शुक्रबारै सकिएको फोरम बैठकमा भने नयाँ शक्तिसित एकता प्रयासबारे अध्यक्ष उपेन्द्र यादव र वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले ब्रिफिङ गरेका थिए । यादवले आफ्नो पार्टीको सांगठनिक शक्ति र जनाधारलाई आधार मानेर नेतृत्व निर्माण गर्ने प्रस्तावमा नयाँ शक्ति पछि हटेको बताएका थिए । वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले एकताको सैद्धान्तिक कुरा मिलिसकेको भन्दै संगठन संरचना टुंगो नलाग्दा अघि बढ्न कठिन भएको जानकारी दिए । तर उनले एकताको ढोका बन्द भई नसकेको भन्दै तेस्रो चरणको स्थानीय चुनावअगावै नया शक्तिसित सघन वार्तामा बस्ने बैठकमा बताए ।
‘नयाँ शक्तिसित पटकपटकको वार्तापछि अब सैद्धान्तिक/वैचारिक पक्ष टुंगो लागिसकेको छ, भइराखेको प्रगतिबारे मिडियामा बढी हल्ला भएर अनेक शंका उपशंका हुन पुग्यो,’ फोरम सहअध्यक्षसमेत रहेका एकता वार्ता समिति संयोजक श्रेष्ठले भने, ‘उत्पीडित राष्ट्रियताहरुको मुक्तिका लागि संघीयता र समतामूलक समृद्धिका लागि समाजवादलाई सैद्धान्तिक आधार मान्ने सहमति भइसकेको छ । नया शक्तिले अघि सारेको पाच ‘स’ को सिद्धान्त संघीय समाजवादभित्र अटाउन हामी सहमत भइसकेका छौं ।’ 

भट्टराईले भने फोरमले संघीय समाजवादको विचार छाड्न नमानेको भन्दै यसैका कारण एकता हुन नसक्ने तर्क गरे । भट्टराईले बैठकमा एकता प्रयासको औचित्यबारे बोल्दै भने, ‘अब जानुपर्ने बाटो आर्थिक समृद्धिको हो, तर फोरमका साथीहरुको प्रस्तुति हेर्दा उहाहरु संघीयतालाई जडतापूर्वक बुझिरहनुभएको छ भन्ने देखियो । प्रदेश २ को राजनीतिभन्दा उहाँहरुको सोच माथि उठेको देखिएन ।’ उनले फोरमको संघीय समाजवाद मान्न नसकिने पनि खुलेरै राखे ।

कहाँ अडकयो गाँठो ?
दुवै पक्षका नेताले सैद्धान्तिक पक्षलाई अवरोधक देखाए पनि पदीय बाँडफाटमै कुरा अडेको खुलेको छ । भट्टराई निकटस्रोतका अनुसार यादवलाई अध्यक्ष बनाए पनि भट्टराई केही कार्यकारी अधिकार आफूसँग राख्न चाहन्थे । तर फोरम पक्षले अध्यक्षको अनुपस्थितिमा मात्रै अरुले कार्यकारी अधिकार प्रयोग गर्ने अडान लिएपछि भट्टराई असन्तुष्ट रहे । एकताका लागि नयाँ शक्ति पक्षको व्यग्रता देखेपछि फोरम पक्षले यसलाई कमजोरीका रुपमा बुझेर उपयोग गर्न खोजेकोमा भट्टराईको आक्रोश थियो । भट्टराईले अध्ययन अनुसन्धान र वैचारिक कामबाहेक सम्पूर्ण रुपमा सेरेमोनियल भूमिकामा बस्नुपर्ने भनी फोरम नेताले अड्डी लिएको नयाँ शक्तिको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो ।

‘हाम्रो कुरा पार्टीको नाममा पनि मिलेन, उहाँहरुले नयाँ पार्टी निर्माण गर्ने भन्दा पनि तीनचार वटा पार्टीको क्लबजस्तो बुझ्नुभएको रहेछ । फोरम, अशोक राईको संघीय समाजवादी, युवराज कार्कीको खस पार्टी दुई वर्षअघि नै मिलिसकेको हुनाले अब नयाँ शक्ति चौथो पार्टीका रुपमा सहभागी बन्नुपर्ने तर्क गर्न थालेपछि कुरा नमिल्ने पक्कापक्की भयो,’ वार्तामा सहभागी हुदै आएका भट्टराईनिकट एक नेताले कान्तिपुरसँग भने, ‘फोरमका साथीहरुले गुटभन्दा माथिको सोच राखेको देखिएन । हाम्रो पार्टीभित्र व्यापक विरोध हुदाहुदै पनि बाबुरामजी एक्लै एकता प्रयास सफल गरिछाड्ने मुडमा हुनुहुन्थ्यो, उहाको सोचलाई फोरमका साथीहरुले अपमान गर्नुभयो ।’

फोरम नेताहरुले भने भट्टराई प्रधानमन्त्री भइसकेको नेता हुनाले उनलाई नेता मान्न कठिनाइ नरहेको जिकिर गरे । यादव निकट एक नेताको भनाइमा केही सांगठनिक बहस मिल्नेबित्तिकै एकता घोषणा हुन सक्छ । फोरमसँग वार्तामा भट्टराइसहित देवेन्द्र पौडेल, पर्शुराम तामाङ, पर्शुराम खापुङ, केशव दाहाल रहने गरेका थिए । फोरमबाट श्रेष्ठसहित हेमराज राई र रेणु यादव सहभागी थिए । यसअघि फोरमको असार २४ र २५ गते पदाधिकारी बैठकले तेस्रो चरणको स्थानीय चुनावअगावै नयाँ शक्तिसँग एकता गरिसक्ने निर्णय लिएको थियो । असार ३० र ३१ गतेको राजनीतिक समिति बैठकले त्यसै नीतिलाई अनुमोदन गर्‍यो । नया शक्ति र फोरमले भर्खरैको स्थानीय चुनावमा संयुक्त उम्मेदवारी घोषणा गर्दै एउटै चुनाव चिह्न मसाल लिएर लडेका थिए । दुई पार्टीको कुरा नमिलेको अवस्थामा तेस्रो चरणमा त्यस चिह्नमाथिको नया शक्तिको अधिकार रहन नहुने फोरमका केही नेताको तर्क छ । नया शक्तिले निर्वाचन आयोगबाट आफ्नो छुट्टै चिह्न पाएको छैन ।

नयाँ शक्ति संघीय परिषद् विघटन
शुक्रबार सकिएको नयाँ शक्ति बैठकले दुई चरणको स्थानीय चुनाव पराजयको समीक्षा गर्दै चुस्त नेतृत्व निर्माणको सुरुवातका लागि भन्दै संघीय परिषद् भंग गर्ने निर्णय गरेको छ । संघीय परिषदको हैसियत केन्द्रीय समिति बराबरको थियो । अब नयाँ शक्तिभित्र संयोजक भट्टराईमात्रै आधिकारिक जिम्मेवारी पाएका नेता रहनेछन् । ‘प्रथम महाधिवेशन आयोजक कमिटी गठन गर्ने अधिकार निर्धारित मापदण्डका आधारमा पार्टी संयोजकलाई दिइएको छ, महाधिवेशन आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा आयोजना गरिनेछ,’ भट्टराईले जारी गरेको वक्तव्यमा भनिएको छ ।

प्रवक्ता देवकोटाको राजीनामा
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले चुनाव पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा गरेका छन् । संघीय परिषद विघटन हुनुअगावै साउन १० गते भट्टराईलाई भेटेर राजीनामा दिएको उनले जानकारी दिए । दोस्रो संविधानसभा चुनावमा तत्कालीन माओवादी पहिलोबाट तेस्रोमा झर्दा नैतिक जिम्मेवारी दिदै अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने माग गरेको सन्दर्भ सम्झाउदै उनले त्यही त्याग देखाउन नेतृत्वलाई चुनौती दिए । ‘यति ठूलो हारका पछाडि कही न कही समस्या छ, यसको जिम्मा कसै न कसैले लिनुपर्छजस्तो लागेर मैले प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निर्णय लिएा,’ देवकोटाको वक्तव्यमा उल्लेख छ । तर आफूले पार्टी नछाडेको उनले बताए । उनले नयाँ शक्ति पछिल्ला दिनमा उल्टो हिडिरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित : श्रावण १३, २०७४ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?