कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

को दक्षिणपन्थी ?

बसन्त बस्नेत

काठमाडौं — माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे– ‘...एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगमनतिर लैजाने षड्यन्त्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्।’

को दक्षिणपन्थी ?

...................

एमाले अध्यक्ष केपी ओलीले कान्तिपुरसँग शनिबार कुरा गर्दै माओवादी केन्द्र ‘नामको वामपन्थी, कामको दक्षिणपन्थी’ (नावाकाद) पार्टी भनी कटाक्ष गरे। उनले माओवादीसहित एमालेका प्रतिस्पर्धी दलहरूलाई विदेशी इसारामा चल्ने गरेको आरोप लगाउँदै आएका छन्। उनले एमालेलाई बाइपास गरेर कांग्रेसले ‘किष्किन्धाका बाँदरहरूसित मित्रता गरेर रामसँग लड्न खोजिरहेको’ आरोप लगाए, जसको सीधा लक्ष्य माओवादीतिर छ।
.........................


दुई वामपन्थी घटकका शीर्ष नेताले एकअर्कालाई ताकेर लगाउने आरोप एउटै छ– दक्षिणपन्थी। यीमध्ये को होलान् त असली दक्षिणपन्थी?

राजनीतिशास्त्री हरि शर्मा दुई वाम पार्टीका क्रियाकलाप हेर्दा नेपालमा ‘वाम’ र ‘दक्षिणपन्थी’ भन्ने अर्थ नै हराइसकेको ठम्याउँछन्। उनका विचारमा न केपी ओलीको वैचारिक लाइन वामपन्थी छ, न दाहालको। सामाजिक न्याय र लोककल्याणकारी राज्यका केही विशेषतालाई अपनाएको देखाएर एमाले र माओवादीले वामपन्थको भ्रम दिइरहेको ठान्ने विश्लेषकमध्ये शर्मा पनि एक हुन्। ‘वामपन्थी हुनलाई जे कुरा चाहिन्छ, त्यो नै उहाँहरूसित छैन। विश्व बैंक वा कुनै विदेशी विकास सहायता नियोगले कार्यक्रम गरे भने ओलीजी र प्रचण्डजीले विरोध गरेको सुनिँदैन, बरु विकास गर्नलाई लगानी ल्याउनुपर्छ भनी तर्क गरेको सुनिन्छ,’ शर्मा भन्छन्, ‘तर त्यो लगानी कहाँबाट कसरी, कुन प्रयोजनका लागि आइरहेको छ भन्नेमा उहाँहरूको ध्यान देखिँदैन।’

समाजशास्त्री चैतन्य मिश्र कम्युनिस्ट वा वाम भनेर चिनाउँदै आएको विचार आधारभूत रूपमा साम्यवाद/समाजवाद नभई ‘राष्ट्रवाद’ भएको टिप्पणी गर्छन्। विदेशी प्रभुसत्तालाई चुनौती दिन एउटा कालखण्डसम्म राष्ट्रियतासम्बन्धी त्यस्तो विचार नेपालका कम्युनिस्टले बोक्नु गलत नभए पनि सिद्धान्त नै जस्तो गरी च्यापिरहनु गलत भएको उनी बताउँछन्।

मिश्रको त्यही सन्दर्भ उप्काउँदै राजनीतिशास्त्री शर्मा भन्छन्, ‘सुरुङसमेत खनेको, विदेशी प्रभुविरुद्ध लड्ने कुरा गरेको हुनाले एउटा समयमा राष्ट्रवादको लिगेसी प्रचण्डसित थियो। अहिले ओलीले खोसेर लगिदिए।’

उसो त ओली र दाहालबीच एकअर्काविरुद्ध शत्रुता र सहकार्यको विगत कोट्याउने भने छुट्टै सामग्री तयार हुन सक्छ। आफ्नो समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई हटाउने बेला कान्तिपुरसँग कुरा गर्दै दाहालले ‘ओलीको आत्मकेन्द्रित प्रवृत्ति र अरूलाई नगन्ने इगो’ का कारण विकल्प खोज्नुपरेको भन्दै थपेका थिए, ‘तैपनि ओलीजीसँग हनिमुन सम्बन्ध रह्यो।’ यता ओलीले दाहाललाई ‘भित्ते राष्ट्रपति’ देखि ‘काठमाडौंमा रिसाएको बिरालो रोल्पामा गएर खाबो चिथोर्छ’ भन्नेजस्ता कटाक्ष गर्थे। वाकयुद्ध बढदै गएर कहिलेकाहीं त लिखितम्मै आरोप/प्रत्यारोप हुन्थ्यो। २०७१ माघ ८ को संविधानसभा मस्यौदा ल्याउने तयारीका क्रममा दाहाललगायत विपक्षी नेताहरूले ‘ओलीको मानसिक उपचार गर्न खर्च जुटाइदिन’ सरकारलाई अपिल नै गरेका थिए।

एमाले र माओवादी केन्द्रका पछिल्ला गतिविधि हेर्दा अर्कोलाई शत्रु देखाएर आफू प्रगतिशील शक्ति देखिने ध्याउन्न देखिन्छ। सत्ता साझेदारीमा एकअर्कालाई सघाउँदै, अनि एकअर्काविरुद्ध प्रयोग हँ‘दै आएका यी दुई दलमध्ये को असली कम्युनिस्ट भन्ने विवाद पनि छँदै छ। माओवादी केन्द्रले एमालेलाई कम्युनिस्ट साइनबोर्ड राखेको ‘गाँजरजस्तै देखिने रातो मुला’ आरोपित गर्दै आएको छ। एमालेले ‘उग्रवादीले अन्तत: दक्षिणपन्थीकै सेवा गर्ने’ भन्दै माओवादीप्रति प्रहार लक्षित गर्ने गर्छ। ‘चुनाव लागेर पनि यस्तो भएको हो,’ शर्मा थप्छन्, ‘भोट पाउनका लागि एकअर्कालाई भिलेन देखाउने क्रम बढेको छ।’

यसपालि माओवादी केन्द्रको बैठकमा दाहालले एउटा प्रसंगमा कांग्रेसको सामान्य आलोचनाबाहेक आफ्नो कलम ओली र उनले नेतृत्व गरेको एमालेतिरै सोझ्याएका छन्। उनीनिकट माओवादी नेता वर्षमान पुनले आइतबार राजधानीको एक कार्यक्रममा अरूलाई राष्ट्रघाती र दक्षिणपन्थी भन्नु एमालेको दृष्टिदोष भएको आरोप लगाए। ‘संविधान संशोधन गर्नै हुन्न भन्ने अतिवादी सोच छ एमालेमा, संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो,’ पुनले भने, ‘अतिवादी दक्षिणपन्थी सोचबाट एमाले मुक्त हुनुपर्छ।’

तर एमालेले भने माओवादीले परिवर्तनको नाममा अघि सारेका एजेन्डाले साम्प्रदायिक सद्भावना बिगारेको, क्षेत्रीय विद्वेष बढाएको जस्ता आरोप लगाउँदै क्रान्तिको नाममा माओवादी दक्षिणपन्थतिरै गइरहेको आरोप लगाइरहेको छ। अध्यक्ष ओलीले केही महिनाअघि आफूले १० वर्षअघि भनेको भनाइ सम्झाउँदै भने, ‘मैले उग्रपन्थको आयु १० वर्षको हुन्छ भनेको थिएँ, त्यो समय आयो होइन त?’

प्रकाशित : श्रावण १६, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?