२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

माओवादी प्रमुख सचेतकमा शर्मा

कान्तिपुर संवाददाता

माओवादी केन्द्रले संसदीय दलको प्रमुख सचेतकमा रेखा शर्मालाई नियुक्त गरेको छ। संसदीय बोर्डको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो।

टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि माओवादीको प्रमुख सचेतक पद रिक्त थियो। शर्मा केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेकी थिइन्। त्यसअघि उनी माओवादी केन्द्रको संसदीय दलकी सचेतक थिइन्। दलकी सचेतक सीता नेपाली छिन्। कुनै दलको प्रमुख सचेतक र सचेतक दुवै महिला भएको यो पहिलोपटक हो।

पूर्वएआईजी शाह सुरक्षाविज्ञ नियुक्त
सरकारले नेपाल प्रहरीका पूर्वएआईजी सुरेन्द्रबहादुर शाहलाई सुरक्षाविज्ञमा नियुक्त गरेको छ। गृह मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने गरी मन्त्रिपरिषद् बैठकले उनलाई विज्ञ नियुक्त गरेको हो। उनले गत फागुनमा प्रहरीबाट अवकाश पाएका थिए।

न्युयोर्क स्थायी प्रतिनिधिमा भट्टराईकै निरन्तरता
संयुक्त राष्ट्रसंघीय नेपाली नियोग न्युयोर्कका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईको पदावधि अर्को व्यवस्था नभएसम्मका लागि थप भएको छ। उनको कार्यकाल ९ दिनमा सकिँदै थियो। भट्टराईको ठाउँमा कसलाई पठाउने भन्ने निश्चित नभएपछि न्युयोर्क मिसन खाली नराख्न यो निर्णय भएको हो। आगामी राष्ट्रसंघीय महासभा र मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीलगायत विषयलाई देखाउँदै ‘अर्को व्यवस्था नभए’ सम्मका लागि भट्टराईलाई नै स्थायी प्रतिनिधिका रूपमा काम गर्न निर्देशन दिइएको हो।

प्रकाशित : श्रावण २०, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?