१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एमयूको कार्यालयमा विद्यार्थीहरुको धर्ना

प्रकाश अधिकारी

सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले आफूहरुका मागलाई बेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनहरु पुन: आन्दोलित भएका छन् । दुई महिनादेखि लगातार आन्दोलित विद्यार्थी संगठनहरुले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा धर्ना दिए ।

एमयूको कार्यालयमा विद्यार्थीहरुको धर्ना

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवं विश्वविद्यालय इञ्चार्ज राजेन्द्र बुढाले माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताए । विश्वविद्यालयले आफ्नो एउटा पनि आंगिक क्याम्पस सञ्चालन नगर्दै निजी कलेजलाई सम्बन्धन दिन नहुने विद्यार्थी संगठनहरुको मुख्य माग छ । विश्वविद्यालय अनुदान आयोगको निर्देशन लत्याउँदै एमयूले निजी कलेजहरुलाई सम्बन्धन दिन थालेकामा स्थानीयस्तरमा चौतर्फी विरोध भएको छ । यहास्थित सम्पूर्ण राजनीतिक दल, विद्यार्थी संगठनहरु, अधिकांश सिनेट सदस्यहरु निजी कलेजलाई तत्काल सम्बन्धन दिन नहुने अडानमा छन् । 

विरोधका बाबजुद एमयूले आवेदन दिएका ६ मध्ये ३ क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । ग्लोबल इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज र प्रेसिडेन्सियल बिजनेस ग्रुप छन् । अनेरास्ववियूका गगनसिंह ठकुरीले अन्य विश्वविद्यालयले सम्बन्धन रोकेका बेला एमयू पदाधिकारीहरुले ‘आर्थिक अनियमितता’गर्ने उद्देश्यले निजी कलेजलाई सम्बन्धन दिन थालेको भन्दै आपत्ति जनाए । नेविसंघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले विश्वविद्यालय स्थापनाको मर्मविपरीत प्रादेशिक क्षेत्र भित्रकालाई आंगिक रुपमा सम्बन्धन दिन नचाहेको आरोप लगाए ।

विश्वविद्यालय अनुदान आयोगले दुईपटक विश्वविद्यालयहरुलाई तत्काल सम्बन्धन प्रक्रिया रोक्न निर्देशन दिएको थियो । असन्तुष्ट सिनेट सदस्यहरुले पनि विश्वविद्यालय ऐनलाई देखाउँदै पदाधिकारीले मनोमानी गर्ने गरेको आरोप लगाएका छन् । विश्वविद्यालयले ऐन, कानुन र विधि प्रक्रियामा रहेर सम्बन्धन खुलाइएकाले कुनै हालतमा पनि प्रक्रिया नरोक्ने अडान लिएको छ । 

प्रकाशित : श्रावण २०, २०७४ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?