कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पचास लाखको लोभमा साथीको छोरा अपहरण

जनकराज सापकोटा

काठमाडौं — साउन १२ गते अपहरणमा परेर तीन दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संग्लन दुई मुख्य अभियुक्तलाई महानगरिय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

 पचास लाखको लोभमा साथीको छोरा अपहरण

अपहरणका मुख्य योजनाकार राजु विकलाई उदयपुरको गाईघाटबाट र अर्का अभियुक्त विष्णु पाण्डेलाई रामेछाप मन्थली नगरपालिका १२ स्थित घरबाटै प्रहरीले पक्रेर ल्याएको हो । अनौठो त के छ भने अपहरणका मुख्य योजनाकार राजु अपहरित बालकका बाबुका बाल्यकालदेखिका साथी हुन् ।

क्षेत्रपाटी पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलको गेटबाट राजुले अपहरण गरेर काँडाघारीस्थित एक घरमा राखेका थिए । प्रहरीका अनुसार मनग्गे पैसा असुल्ने उद्देश्यले अपहरणको योजना बनाएका राजुले मन्थलीबाट विष्णुलाई पैसा कमाउने काम भएको आश्वासन दिएर काठमाडौं बोलाएका थिए ।

अपहरणको तीन दिन अघि मात्रै राजुले अनलाईन बजारबाट मोटरसाईकल भाडामा लिएका थिए । भाडाको मोटरसाईकलमा विष्णुलाई राखेर राजु विवेकलाई लिन बोर्डिङमै पुगेका थिए । विवेकलाई बीचमा राखेर उनीहरुले काडाघारीमा बस्ने विष्णुको दिदीको डेरामा पुऱ्याएका थिए । विष्णुले बच्चा आफ्नो साथीको छोरा भएको र उसको बाबु बिरामी परेकाले केही दिन राखिदिन अनुरोध गरेका थिए ।

अनौठो त के छ भने राजु बच्चा लुकाए लगत्तै आफ्ना साथी विशाललाई भेटन घरमै पुगेका थिए । छोरा अपहरणमा परेको चिन्तामा परेर बेहोस भएका विशाललाई राजुले नै अस्पताल पुर्‍याएको थिए र सलाईन चढाएर होस नर्फकिउन्जेल त्यही बसेका थिए । यिनै राजु भोलिपल्ट बालक पढ्ने बोर्डिङमा गएर स्कुलले लापरबाही गरेको भन्दै चर्को झगडासमेत गरेका थिए । त्यसैको भोलिपल्ट भने राजुले फोनमार्फत पचास लाख रुपैयाँ दिए मात्र बच्चालाई अपहरणमुक्त गर्न सकिने भन्दै बार्गेनिङ गरेका थिए । अपहरणकारी राजुले आफ्ना भिनाजुले प्रयोग गरेर थन्काईराखेको सिम मागेर त्यसैबाट विशालसँग सम्र्पक गरेका थिए ।

सुरुमा बच्चा हराएको विश्वासमा परेका अभिभावक तीन दिनपछि अर्थात १४ गते मात्रै महानगरिय अपराध महाशाखामा पुगेका थिए । अनुसन्धान टोलीले विद्यालयको गेट बाहिर र भित्र रहेको सिसी टिभी फुटेजका आधारमा अपहरणकारी बच्चासँग नजिकको चिनाजानीको मान्छे रहेको र मोटरसाईलमा राखेर लगेको निष्कर्ष निकालको थिए । त्यसैका आधारमा प्रहरीले राजुमाथी शंकाको सुई घुमाएको थियो ।

अचम्म त के छ भने बालक अपहरण गरेको तीन दिनसम्म अपहरणकारी बच्चाको बाबुसँग थिए । कतीसम्म भने अपहरणबारे महानगरिय अपराध महाशाखामा उजुरी गर्न पनि उनी आफै पुगेका थिए । प्रहरीले चौतर्फी निगरानी बढाएपछि अपहरणकारीहरु सोमबार काठमाडौं छाडेर भागेका थिए भने सोही बिहान चार बजे बाल काडाघारीबाट सकुशल उद्दार गरिएको थियो ।

अपहरणकारी राजु र बच्चाको बाबु विजय एक कक्षादेखि नौ कक्षासम्म सँगै पढेका साथी थिए । उनीहरुविच यति नजिकको सम्बन्ध थियो कि, बिजयको आर्थिक कारोवार र आम्दानीका धेरै कुरा राजुलाई थाह थियो । अपहरणकारी नजिककौ चिनेजानेको मान्छे भएको र राजु हुनसक्ने प्रहरीको शंकालाई माथि पनि विजयले विश्वास गरेका थिएनन् ।

शनिबार अपहरणकारी सार्वजनिक गरिने खबर पाउँदा बालकका बाबु विजय गोर्खाको मनकामना मन्दिरमा स परिवार पुजा गर्दै थिए । अपहरणकारी सार्वजनिक गर्ने बेलामा हतार हतार आईपुगेका विजयले छोरा अपहरणमुक्त भए बोका बली चढाउँछु भनेर मनकामना मातासँग भाकल गरेको र त्यही पूरा गर्न त्यहाँ पुगेको बताए ।

विजयले भने, ‘त्यति नजिकको साथीले अपहरण गर्ला भन्ने सपनामा पनि चिताएको थिइनँ ।’ विजयले आफ्नो बाबुले अपहरणकारी राजुलाई छोरालाई भन्दा धेरै माया गर्ने तथ्य बताउँदै भने, ‘नजिककै मान्छेले यतिसम्म हर्कत गर्न सक्दा रहेछन् ।’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले छिटो पैसा कमाउने र सजिलै धनी बन्ने मनसायले अपहरणको योजना बुनिएको बताए । उनले भने, ‘पेशेवर अपहरणकारी नभएपनि मनग्गे पैसा हात पार्ने उद्देश्यले अपहरण गरिएको देखिन्छ ।’

प्रकाशित : श्रावण २१, २०७४ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?