२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भरतपुरले अढाई महिनापछि पायो मेयर, रेणु विजयी

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर भरतपुरलाई सुन्दर सहरका रूपमा विकास गर्नेछु
विमल खतिवडा

भरतपुर — भरतपुर महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनका महिला उम्मेदवार विजयी भएका छन्। मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाहले जित हासिल गरेका हुन्।

भरतपुरले अढाई महिनापछि पायो मेयर, रेणु विजयी

महानगरको १९ नम्बर वडामा शुक्रबार पुन: मतदानपछि शनिबार घोषित अन्तिम मतपरिणामअनुसार एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतले हराउँदै रेणुले ४३ हजार १ सय २७ मत ल्याइन्। सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार ज्ञवालीले ४२ हजार ९ सय २४ मत पाए। उपमेयरमा कांग्रेसकी शाहले ४७ हजार १ सय ९७ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्या आचार्य शर्माले ३९ हजार ५ सय २५ मत पाइन्।

भरतपुर महानगरमा स्थानीय तह पहिलो चरण निर्वाचनअन्तर्गत गत वैशाख ३१ मै मतदान सम्पन्न भएकोमा १९ नम्बर वडाको झमेलाले पुन: मतदानमा जानुपर्दा अन्तिम मतपरिणाम आउन अढाई महिनाभन्दा बढी लागेको हो। १९ र २० वडा बाहेकका वडा अध्यक्षलगायत प्रतिनिधिको मतपरिणाम भने यसअघि नै घोषणा गरिसकिएको थियो। महानगरमा कुल १ लाख १२ हजार ६ सय ८२ मत खसेको थियो।

जेठ १४ राति १९ नम्बर वडाको मतगणना भइरहँदा नतिजा आफ्नोअनुकूल नआउने देखेपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। त्यतिबेला २ हजार ८ सय ९७ मत खसेकामा १ हजार ८ सय मत मात्र गणना भएको थियो। प्रहरीले मतपत्र च्यात्ने माओवादी केन्द्रका दुई कार्यकर्तालाई तत्कालै पक्राउ गर्‍यो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल रणभूमिमा परिणत भएको भन्दै तत्कालै गणना स्थगित गरेको थियो। गणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको थियो। मतपत्र च्यातिएपछि एमालेले पुन: गणना माग गरेको थियो भने गठबन्धन आबद्ध दलले पुन: मतदान माग गरेका थिए। निर्वाचन आयोगले च्यातिएका मत काम नलाग्ने भन्दै भरतपुर १९ मा पुन: मतदान गर्नुपर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध १९ नम्बरकै एमालेका वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरे। सर्वोच्चले उक्त रिटमा आयोगकै निर्णय सदर गर्दै पुन: मतदान गराउन आदेश दियो। यसले माओवादी केन्द्रकी दाहाललाई फाइदा पुगेको छ। शुक्रबार भएको मतदानमा अघिल्लो पटकभन्दा २७ मत कम खसेको थियो। पुन: मतदान हँुदा १९ नम्बर वडामा माओवादी केन्द्रले ५ सय ६३ मतको अग्रता पायो। 

कांग्रेसको पकड मानिने यो वडामा अघिल्लो चुनावमा एमालेलाई राम्रो मत खसेको थियो। पुन: मतदान हुँदा कांग्रेस मतदाताले दाहाललाई सघाएको देखियो। अन्तिम नतिजाका लागि १९ र २० नम्बर वडा निर्णायक बने। दुवै वडामा कांग्रेसको वडा अध्यक्षसहित विजयी भए। महानगरको कभर्ड हलमा कडा सुरक्षाबीच मतगणना गरिएको थियो। मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे यहाँ आएका थिए। 

सेनाले मतदानस्थलको हवाई गस्ती गरेको थियो। हल आसपास क्षेत्रलाई निषेधित घोषणा गर्दै प्रहरीले घेरा हालेको थियो। बाहिर सेनाको पैदल गस्ती थियो। अघिल्लो गणनाका बेला मुख्य गेटभित्रसम्म सञ्चारकर्मीलाई जान दिइएको थियो। पुन: मतदानपछिको गणनामा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले परिसरमै जान रोक लगाए। सञ्चारकर्मीले सडकबाट समाचार सम्प्रेषण गर्नुपर्‍यो। सुरक्षालाई मध्यनजर गर्दै मतगणनास्थलमा दलका प्रतिनिधिलाई तारजालीभित्र राखिएको थियो। प्रतिनिधिले भित्रैबाट मतगणनाको निगरानी गरेका थिए। 

मेयरमा जितेलगत्तै दाहालले महानगरको नेतृत्वमा दुवै महिला विजयी भएको उल्लेख गर्दै मिलेर विकासका काम गर्ने प्रतिक्रिया दिइन्। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सुन्दर सहरका रूपमा विकास गर्ने उनले प्रतिबद्धता जनाइन्। एमाले उम्मेदवार ज्ञवालीले राजनीतिक रूपमा आफ्नो विजय भएको प्रतिक्रिया दिँदै कार्यकर्तालाई धैर्य अपनाउन आग्रह गरे। 

गठबन्धन समर्थकले शनिबार राति नै विजयोत्सव सुरु गरेका छन्। गणनास्थल नजिकै भेला भएका समर्थकले राति नै झन्डा फहराउँदै विजयी जुलुस निकाले।

प्रकाशित : श्रावण २१, २०७४ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?