३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राप्रपामा फेरि चिरा

-राणाले दर्ता गरे राप्रपा (प्रजातान्त्रिक)
-राणा पक्षमा २२ सांसद, थापासँग बाँकी १५ मात्र
कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको ६ महिनालगत्तै दुई चिरा भएको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफ्नै अध्यक्षतामा २२ जना सांसदसहित नयाँ पार्टी निर्वाचन आयोगमा आइतबार दर्ता गरेका छन् । उनको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) छ ।

राप्रपामा फेरि चिरा

राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको ६ महिनालगत्तै दुई चिरा भएको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफ्नै अध्यक्षतामा २२ जना सांसदसहित नयाँ पार्टी निर्वाचन आयोगमा आइतबार दर्ता गरेका छन् । उनको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) छ ।

करिब २ महिनादेखि नै यो पार्टीमा सरकारमा जाने/नजाने र संविधान संशोधन विधेयकको पक्षमा उभिने/नउभिने भन्नेमा तीव्र विवाद थियो । त्यसबारे पुष्पकमल दाहाल सरकारले संविधान संशोधन विधेयक अघि बढाउँदा राप्रपाकै १० सांसदले असन्तुष्ट भई बैठक बहिष्कार गरेका थिए । अध्यक्ष कमल थापा भने संशोधनको पक्षमा थिए । राणाले रामकुमार सुब्बाको नेतृत्वमा रहेका ती असन्तुष्ट १० सांसदसहितलाई लिएर नयाँ पार्टी दर्ता गरेका हुन् । गत मंसिर ६ गते संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच एकीकरण भई ३७ सिटको चौथो ठूलो राजनीतिक शक्ति बनेको थियो । पार्टी फुटेपछि अध्यक्ष थापा पक्षमा १५ सांसद मात्र छन् । राणा नेतृत्वको पार्टी भने वर्तमान सरकारमा सहभागी हुन सक्ने नेताहरूले बताएका छन् । नयाँ पार्टी दर्तालाई थापाले ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । उनले निर्वाचन आयोगमा पुर्‍याइएको हस्ताक्षर नक्कली भन्दै आपत्तिसमेत जनाएका छन् । ‘म कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दछु,’ अध्यक्ष थापाले भने ।

राप्रपाका तीनैजना प्रत्यक्ष निर्वाचित सांसदहरू दीपक बोहरा, सुनीलबहादुर थापा र विक्रम पाण्डे राणाको नयाँ पार्टीमा छन् । नयाँ पार्टीको एजेन्डा संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र हुने केन्द्रीय सदस्य किरण गिरीले कान्तिपुरलाई बताए । ‘सरकारमा जाने विषयमा अहिले कुनै छलफल भएको छैन,’ उनले भने ।

२०४७ सालमा राप्रपा चन्द र थापा एकै दिन स्थापना भएका थिए । २०४९ सालमा दुई पार्टी एक भई राप्रपा बनेको थियो । त्यसपछि यी दुई पार्टीबीच फुटको लामो शृंखला बनेको छ । २०५४ र २०५६ सालमा पनि विभाजित भए । २०६० सालमा सूर्यबहादुर थापाको नेतृत्वमा पार्टी अलग भई राष्ट्रिय जनशक्ति पार्टी बनेको थियो । २०६२ सालमा पार्टी विभाजन भई राणाले राप्रपाको नेतृत्व गरे भने कमल थापाको अध्यक्षतामा राप्रपा नेपाल बन्यो । २०६६ सालमा पुन: एकीकरण हुने सैद्धान्तिक सहमति बने पनि एकीकरण हुन सकेको थिएन ।

प्रकाशित : श्रावण २३, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?