२१ दिनमा ११ को डुबेर मृत्यु

जोखिममा बालबालिका
पवन यादव

गरुडा (रौतहट) — जिल्लाका बिभिन्न स्थानमा साउनयता खाल्डोमा डुबेर १२ वर्ष मुनीका ११ बालबालिकाले ज्यान गुमाएका छन् । घर नजिकका र सडक निर्माण क्रममा खनिएका खाडलमा उनिहरु डुबेका थिए । बिभिन्न निर्माणका लागि माटो प्रयोग गर्दा यहाँ खाडल बनाउने गरिन्छ । तिनमै डुबेर बालबालिकाले ज्यान गुमाइरहेका छन ।

२१ दिनमा ११ को डुबेर मृत्यु

जिल्ला प्रहरीका अनुसार साउन १ यता जिल्लाका विभिन्न स्थानमा घटना भएका हुन । पछिल्लो पटक शनिबार गरुडा नगरपालिका ४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ३ र आफन्तको एक गरी ४ बालिकाको मृत्यु भएको थियो । त्यसपछि जिल्लामा खाल्डोमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या धेरै रहेको खुलेको हो । शनिवार दिउसो स्थानीय रामएकवाल साहका छोरीहरु १२ वर्षीया संगिता कुमारी साह, ९ वर्षीया सुनिता कुमारी साह, उनका भतिजा (दाईको छोरा) प्रेमनारायण साहकी छोरी ९ वर्षीया सुस्मिताकुमारी साह, नातामा भाइ पर्ने योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैनाकुमारी साहको मृत्यु भएको थियो । उनीहरुको आइतबार स्थानीय झाझ खोलाको किनारमा सामुहीक अन्त्येष्टी गरियो ।

जिल्ला प्रहरीका अनुसार गौर नगरपालिका–१० का शेष सफिउल्लाहको भतिजा १० बर्षीय शेष उसताखको घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको थियो । उनी नुहाउने क्रममा डुबेको प्रहरीले जनायो । यसैगरी जिल्लाको मिठुअवा–१ बस्ने रमिता कुमारीकी ३ वर्षिया छोरी पुनम कुमारी, गौर नगरपालिका–१० का शेष तैयबको नाती ११ वर्षिय शेष अलकाम, नरकटिया–४ का विरेन्द्र माझीको ११ वर्षिय छोरा अरविन्द माझी, सरमुजवा–४ का रामपृत यादवको ५ वर्षिय छोरा किसनन्दन राय, पिपरिया परोहा–२ अनुठा साहको नाती २ वर्षिय सन्तोष साह, शितलपुर बैरगनिया–५ का अजय पटेलको छोरी ५ वर्षिया प्रियंशा पटेल लगायतको घर नजिक खाल्डोमा डुबेर मृत्यु भएको थियो । यसरी ज्यान गुमाउने अधिकांश बालबालिका विद्यार्थी हुन् ।

को हुन् दोषी ?

रौतहटमा यो वर्ष धेरै कच्ची सडकहरु निर्माण भए । अधिकांश ठाउँमा ठेकदारले छेउको खेतबाटै माटो झिकेर सडक बनाए र सडकको दुवै छेउमा ठुलाठुला गहिरो खाल्डो त्यसै छोडी दिए । हाल आएर लागतारको वर्षापछि पानी जमेर पोखरी झैं बनेका खाल्डोमा बालबालिकाहरु पौडी खेल्ने क्रममा डुब्न थालेका छन् । पोखरी झैं देखिने गहिरो खाल्डोमा गर्मी छल्न गाउँघरका बालबालिकाहरु पौडी खेल्ने तथा नुहाउने गर्न थालेसँगै गहिरो खाल्डोको हिलोमा बालबालिकाहरु फस्ने गरेका हुन् ।

हिलोमा खुट्टा गाडिएपछि उनीहरु डुबेर ज्यान जान थालेपछि ठेकदारहरुले गरेको चरम लापरवाही बाहिर आएको हो । गत शनिबार खाल्डोकोमा फसेको बालिकको उद्धारमा संलग्न स्थानीय अनिलकुमार साहका अनुसार चारैजना पानी मुनी हिलोमा फसेका थिए । ‘गहिरो खाल्डोको तलको हिलोमा फसेका रहेछन्,’ उनले भने, ‘धेरैबेरको खोजपछि मात्र उनीहरुलाई बाहिर निकाल्न सक्यौं ।’ उनीहरुले नुहाउनु अघि खोलेका केही कपडा, बोरा र हसियाको आधारमा उनीहरु डुबेको स्थल पहिचान गरिएको उनले बताए ।

डुबेका बालिकाहरुलाई निकाल्न एकैपटक गाउँका एक दर्जन युवा खाल्डोमा पसेको उनले बताए । उनीहरुलाई खाल्डोबाट बाहिर निकाल्ने बेलासम्ममा मृत्यु भइसकेको थियो । बालिकाहरुको असमायिक निधन भएको ३ दिन बितिसक्दा पनि मृतककी आमाहरु होस सम्हाल्न सकिरहेका छैनन् । मृतक परिवार तथा गाउँलेहरुले एकै साथ ४ जना बालिकाको ज्यान जाने गरी भएको घटनाको मुख्य दोषी सडक बनाउने ठेकेदार तथा डिभिजन सडक कार्यालयका कर्मचारी भएको बताइरहेका छन् ।

‘जथाभावी खाल्डो खनेर छाड्ने ठेकदार नै दोषी हो,’ उद्योग वाणिज्य संघ रौतहटका सल्लाहकार बच्चु पटेलले भने, ‘सडकमा माटो हाल्न पनि बजेट हुन्छ ।’ एकै ठाउँमा ठुलो खाल्डो खनेर माटो निकाल्नु नै ठेकदारको बदमासी भएको उनले आरोप लगाए । ‘छेउबाट थोरै माटो निकाल्नुपथ्र्यो । तर ठेकदारले रकम जोगाउन छेउबाटै सबै माटो निकालेको देखियो,’ उनले भने । डिभिजन सडक कार्यालय रौतहटका प्रमुख ईन्जिनियर सुमन योगेशले सहरी सडक विकास कार्यक्रम अन्तर्गत उक्त सडक निर्माण भएको बताए । उनको अनुसार उक्त सडक निर्माणको लागि कार्यालयले ५० लाख रुपैयाँको प्राविधिकले लागत अनुमान गरेको थियो । तर ठेकेदारले थोरै रकममा ठेक्का साकार गरी सडक निर्माण गरेको उनले बताए ।

‘हामीले अनुमान अनुसारको काम खोज्छौं,’ उनले भने, ‘माटो कहाँबाट ल्याएर भर्ने हो, ठेकेदारको चिन्ताको विषय हो ।’ ठेकेदारले खर्च जोगाउन छेउकै माटो सडकमा प्रयोग गर्ने प्रवृति बढेको उनले पनि स्वीकारे । ‘खेतबाट माटो खनिनु अघि लाभान्वीत किसानसंग ठेकेदारले सम्झौता गुर्नपर्छ । अनि मात्र माटो खन्ने प्रावधान छ । त्यहाँ के भएको छ, त्यसबारे थप सोधखोज गर्छु,’ उनले भने, ‘खेत धनीले माटोको मुआब्जा पाएका छन् कि छैनन् । यदी मुआब्जा लिएका छन् भने खेतधनीले नै खाल्डो पुर्नपथ्र्यो । यो निर्माण काममा के भएको हो, त्यसको यथार्थ छानबिन भइरहेको छ ।’

निर्माण व्यवसायी संघ जिल्ला अध्यक्ष नागेन्द्र साहले ठेकेदारले सिस्टम अनुसार नै काम गरेको दाबी गरे । करीब १५ लाखको लागतमा १ हजार ४ सय मिटर लामो सडक निर्माण कार्य गरिएको उनले बताए । ‘हामीलाई छेउबाटै माटो खन्न सम्झौता मै भनिएको हुन्छ,’ उनले ठेकेदारको बचाउ गर्दै भने, ‘सम्झौता अनुसार नै प्रल्हाद साहले काम गरेका हुन् ।’ सडक निर्माणको क्रममा खनिएको खाल्डो पुर्ने जिम्मेवारी ठेकदारको नभएको दाबी उनले गरे । ‘खाल्डो पुर्ने हाम्रो काम होइन,’ उनले भने, ‘हामी पुर्दा पनि पुर्दैनौं । जसको खेत हो उसैले खाल्डो पुर्ने हो ।’ खाल्डोमा बच्चा डुबेर मरेको दोष जर्बजस्ती ठेकेदार माथी थुपारिएको भन्दै उनले आक्रोश पोखे ।

प्रकाशित : श्रावण २३, २०७४ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?