स्वदेशमै पढेका ३५ प्रतिशत फेल

अतुल मिश्र

काठमाडौं — प्रा. डा. गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन् ? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परिणाम हेरे छर्लंग हुन्छ । गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन् ।

२ सय ७६ जनाले परीक्षा दिएकामा १ सय ७८ मात्र उत्तीर्ण भए ।

काउन्सिलका अनुसार यो अनुत्तीर्ण प्रतिशत हालसम्मकै उच्च हो । ११ मुलुकका विश्वविद्यालयबाट एमबीबीएस पढेर आएका ८ सय ८९ जनाले उक्त परीक्षा दिएकामा ३ सय ९१ (४४ प्रतिशत) मात्रै सफल भए । काउन्सिलको परीक्षा समितिका अध्यक्ष डा. गणेश गुरुङले यो परिणाम हेर्दा मेडिकल कलेजहरूको परीक्षा प्रणालीबारे समीक्षा गर्नुपर्ने अवस्था आएको बताए । ‘नेपालका जुनसुकै मेडिकल कलेजमा पढाइको गुणस्तर राम्रो छ भनेर हामी छाती फुलाउँछौं,’ उनले भने, ‘३५ प्रतिशतभन्दा माथि फेल भएपछि यसमा शंका उत्पन्न भयो ।’

शिक्षाविद् केदारभक्त माथेमाले लाइसेन्सिङ परीक्षाको परिणामलाई मुलुकमा चिकित्सा विज्ञानको पढाइ र गुणस्तर कमजोर रहेको संकेतका रूपमा व्याख्या गरे । ‘यो परिणामले हाम्रा विश्वविद्यालयको परीक्षा प्रणाली र पढाइको गुणस्तरमा प्रश्न उठाइरहेको छ,’ उनले भने, ‘एक/दुई जना पास हुन नसक्नु भिन्दै कुरा हो, यतिका संख्यामा फेल हुनुले पढाइ राम्रो छैन भन्ने देखाउँछ ।’ 

लाइसेन्स परीक्षालाई सामान्यस्तरको मानिन्छ । बर्सेनि यस्तो परीक्षा पास गर्न नसक्ने डाक्टरको ठूलो संख्या भइसकेको छ । तीमध्ये केहीले मात्र पटक–पटक परीक्षा दिएर मुस्किलले पास गर्छन् । 

‘गोविन्द केसी त्यसै ११ औं पटक मृत्यु शय्यामा सुतेका होइनन्,’ काउन्सिलकै एक पदाधिकारीले भने, ‘थुप्रै विज्ञहरूले वर्षौंदेखि चिकित्सा शिक्षाको गुणस्तर, नियम कानुन आदिबारे त्यसै कराएका होइनन् ।’ चिकित्सा शिक्षा र सेवामा सुधार प्रयासप्रति हालसम्म मुलुकका सबै प्रमुख दल सकारात्मक हुन नसक्दा डा. केसी आधा दशकदेखि बारम्बार अनशन बस्नुपर्ने अवस्था आएको हो । 

लाइसेन्स परीक्षामा एक सय ८० वटा वस्तुगत प्रश्न सोधिन्छ । ठीक/बेठिकमा चिनो लगाउँदा पुग्छ । ५० प्रतिशत अंक ल्याउने उत्तीर्ण हुन्छ । कतिपय उत्तर त अनुमानका भरमा पनि मिल्छन् । ‘परीक्षाको प्रश्न एकदम सामान्य र पाठ्यक्रमभित्रकै हो,’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने, ‘त्यसमा पनि फेल हुनु सोचनीय हो ।’

काउन्सिलले लाइसेन्सका लागि लिने गरेको सैद्घान्तिक परीक्षा मात्र पर्याप्त नरहेको जनाउँदै माथेमाले क्लिनिकल दक्षता (प्राक्टिकल) परीक्षासमेत लिनुपर्ने सुझाए । उनले प्राक्टिकल परीक्षा लिइए परिणाम झन् भयावह आउने उल्लेख गरे । ‘हामीले लाइसेन्स परीक्षाअन्तर्गत सैद्धान्तिकमा उत्तीर्ण विद्यार्थीलाई प्राक्टिकल परीक्षा लिनुपर्ने हो र दुवै पास गरे मात्र लाइसेन्स दिनु गुणस्तरीय हुन्छ’, डा. अधिकारी भन्छन्, ‘प्राक्टिकल परीक्षासमेत लिनुपर्नेबारे एक वर्षअघिदेखि बहस जारी भए पनि हामी निर्णयमा पुग्न सकेका छैनौं ।’

मेडिकल कलेजले राम्रा विद्यार्थी मात्र भर्ना लिएका भए लाइसेन्स परीक्षामा पक्कै फेल नहुने गुरुङको ठहर छ । मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने नियम लागू भएपछि यस्तो समस्या कम हुने उनको भनाइ छ । 

यता, मेडिकल काउन्सिलमाथि भने मुलुकका कुन मेडिकल कलेजबाट कति विद्यार्थी फेल भए भन्ने तथ्य सार्वजनिक नगर्न राजनीतिक दल र लगानीकर्ताको दबाब बढिरहेको काउन्सिल 
स्रोतले जनायो ।

प्रकाशित : श्रावण २४, २०७४ ०६:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दोक्लमबारे नेपालको धारणा ‘हामी तटस्थ’

चन्द्रशेखर अधिकारी

काठमाडौं — नेपालले दोक्लम विवादका विषयमा एकै स्थानमा बसेर वार्तामार्फत समस्या समाधान गर्न दुई छिमेकी मुलुक भारत र चीनलाई आग्रह गरेको छ । दोक्लम विवादबारे पहिलो पटक औपचारिक धारणा सार्वजनिक गर्दै सरकारले यस्तो आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दोक्लम समस्याको समाधान वार्ताबाटै शान्तिपूर्ण ढंगले निकास दिन नेपालले जोड दिएको बताए ।
दुई मुलुकबीच दोक्लम क्षेत्रलाई लिएर दुई महिनादेखि जारी तनाव र कूटनीतिक तथा सञ्चारमाध्यमबाट भइरहेको ‘वाकयुद्ध’ मा नेपाल पर्न नहुने उल्लेख गर्दै उनले भने, ‘हामीले दुवै छिमेकीलाई वार्ताबाटै समस्या समाधान गर्न सुझाइरहेका छौं । यस्तो विवादमा नेपाल कसैको पक्षमा पनि छैन । हामीले तटस्थता देखाउँदै शान्तिपूर्ण समाधानको आग्रह गरिरहेका छौं ।’
उनले नेपाल दुई मुलुकबीच युद्ध होस् भन्ने पक्षमा नरहेको पनि बताए । आगामी भदौ ७ मा हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यसअघि चीनका उपप्रधानमन्त्री वाङ याङले गर्न लागेको नेपाल भ्रमणलाई चीन–भारत तनावसँगजोडेर हेर्न नमिल्ने पनि महराले बताए ।
‘यी भ्रमण र उक्त तनावबीच कुनै सम्बन्ध छैन,’ बिहीबारदेखि हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज आउन लागेको प्रसंग निकाल्दै महराले भने, ‘यस्ता विषयमा भ्रमणलाई जोड्न मिल्दैन । छिमेकीको दुईपक्षीय मामिलामा नेपाल पर्न चाहँदैन । यसमा हामीले बोल्न आवश्यक पनि छैन ।’
महराले दुवै देश आपसका विषयमा वार्ता गर्न सक्षम रहेको पनि बताए । ‘संवादबाट समस्याको हल होस् भन्ने नेपालको चाहनाबारे उनीहरू जानकार छन्, हामीले हाम्रो धारणा राखिसकेका छांै,’ महराले भने । दोक्लम क्षेत्रलाई लिएर पछिल्ला दिन चीन र भारतबीच सैन्य उपस्थिति बढाउने र हरेक दिन पत्रकारसमक्ष जानकारी गराउने क्रम चलिरहेको छ ।
दुई देशबीच तनाव बढिरहेकै बेला प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन् भने चिनियाँ उपविदेशमन्त्री याङ अचानक काठमाडौं आउँदैछन् । भारतीय विदेशमन्त्री स्वराज आगामी बिहीबार बिमस्टेक बैठकमा सहभागी हुन आउने क्रममा उच्चस्तरमा भेटघाट गर्दैछिन् । नेपालमा रहेका चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमा भेट गर्दै आफ्नो धारणा राख्ने प्रक्रिया जारी छ भने भारतीय अधिकारी पनि चुप छैनन् । नेपाल यतिबेला सार्क र बिमस्टेक दुवै संगठनको अध्यक्ष छ ।
भारत सार्कको प्रभावशाली सदस्य मुलुक हो भने चीन पनि सार्कको प्रभावशाली पर्यवेक्षक हो । यी दुई मुलुकबीच नेपालले कुनै वार्ताको वातावरण मिलाउन सक्दैन भन्ने जिज्ञासामा उपप्रधानमन्त्री महराले त्यसबारे तत्काल सोच नभएको बताए ।
‘यो भ्रमणमा आपसी हित तथा टुंगोमा पुग्न नसकेका कामको योजना र एजेन्डाका बारेमा छलफल हुनेछ, केही न केही सम्झौता पनि हुनेछ,’ प्रधानमन्त्री भ्रमण टोलीका सदस्यसमेत रहेका महराले भने ।
उनले चिनियाँ उपप्रधानमन्त्रीको भ्रमणपनि पुनर्निर्माणमा केन्द्रित हुने उल्लेखगर्दै भने, ‘वसन्तपुर दरबारको पुनर्निर्माण गर्ने जनाएकाले त्यसको आरम्भ हुनेछ । त्यस्तैअन्य दुईपक्षीय समझदारीका विषयमाछलफल हुनेछ ।’ उनले कुनै विषयमा नेपाल भारतसँग त कुनैमा चीनसँग नजिक रहँदै आएको पनि बताए ।
चीन र भुटानको सीमामा पर्ने दोक्लमको केही भाग चीनको नियन्त्रणमा छ भने केही भुटानको । चीन र भुटान दुवैले दोक्लम क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन् । गत असार २ गते चीनले आफ्नो नियन्त्रण क्षेत्रमा सडक निर्माण सुरु गरेपछि भुटानले आपत्ति जनाउँदै सेना पठाएको थियो । भुटानी सेनाले निर्माण रोक्न गरेको आग्रहलाई चीनले अस्वीकार गर्दै कामलाई निरन्तरता दिएपछि तनाव सुरु भएको थियो । त्यसपछि त्यहाँ भारत र चीन आमनेसामने भएका हुन् ।
चीनले दोक्लम पुगेका भारतीय सेनालाई पछि हट्न आग्रह गरे पनि भारतले आफ्ना सेना त्यहाँबाट नहटाउने अडान लिँदै आएको छ । चीनले आफ्नोतर्फ निकै धेरै सैन्य बल तैनाथ गरिरहेको छ । यसै विषयलाई लिएर भारतीय र चिनियाँ सञ्चारमाध्यम र पत्रकार सम्मेलनमा ‘जुहारी’ चलिरहेको छ । तैनाथ गरिएका सेनाबीच कुनै असमझदारी देखिनेबित्तिकै त्यहाँ द्वन्द्व हुन सक्ने अधिकारीहरूले बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण २४, २०७४ ०६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT